टोटेनहमको जितमा केन घाइते

एएफपी

लन्डन — इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार टोटेनहम हट्सपरले बर्नमाउथलाई ४–१ ले पराजित गरेको छ ।

बर्नमाउथले घरेलु मैदानमा खेलको सातौं मिनेटमा जुनियर स्टानिस्लासको गोलमा अग्रता लिएको थियो । ह्यारी केन पहिलो हाफको मध्यतिर चोट बोक्दै निस्केपछि टोटेनहम थप समस्यामा परेको थियो । डेले आलीको ३५ हौं मिनेटको गोलमा खेल बराबरीमा आयो ।

दोस्रो हाफमा ह्युङ मिन सनले दुई तथा सर्ज अौरियरले १ गोल गरेपछि टोटेनहम विजयी रह्यो । अंक तालिकामा लिभरपुललाई पछि पार्दै स्पर्स तेस्रो स्थानमा उक्लिएको छ ।

प्रकाशित : फाल्गुन २८, २०७४ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्

“रामशेखर क्रान्तिकारी चिन्तक पनि थिए”

कान्तिपुर संवाददाता

भक्तपुर — कुनै समय उपत्यकामा प्रहसनमा जमेका थिए– रामशेखर नक:मी, कृष्ण नापित र आशकाजी थकु । उनीहरूको प्रहसन नेपाल भाषामा हुन्थ्यो । दर्शकश्रोता पनि नेपालभाषीहरू मात्रै । तीनमध्ये अहिले आशाकाजी थकु मात्रै बाँकी छन् । उनका सहपाठी कृष्ण पाँच वर्षअघि र रामशेखर गत वर्ष फागुनमा संसारबाट बिदा भए ।

रामशेखरको वार्षिक पुण्यतिथिको अवसरमा रामशेखर ग्वाहाली पुच:ले उनीद्वारा लिखित ‘सिमात फफ स्व:’ कथासंग्रहलाई ‘बिच्किएका रूखहरू’ का रूपमा पुन: प्रकाशित गरेको छ । नेपाल भाषा एकेडेमीका कुलपति चित्तरञ्जन नेपाली र लेखक मल्ल के सुन्दरले कृतिको लोकार्पण गरे । कृतिमा नेपाल भाषामा लिखित आठै कथा नेपालीमा पनि अनूदित छन् । चिरत्न शाक्य, गोविन्दमान श्रेष्ठ, धु्रव मधिकर्मी, महेन्द्रगोपाल कर्माचार्य, ओमचरण अमात्य, अगिब बनेपाली, केवलप्रसाद कायस्थ र कृष्ण प्रजापतीले ती कथा अनुवाद गरेका हुन् ।

कार्यक्रममा आशाकाजी थकु रामशेखरसँगका पल सम्झेर भावुक बने । भक्तपुर विकास परियोजनामा काम गर्दा रामशेखरसँग उनी परिचित भएका थिए । चित्रकारका रूपमा परिचित आफूलाई स्टेजको कलाकार बनाउने श्रेय रामशेखरलाई दिए उनले । भने, ‘उहाँले नै म भित्रको अभिनय कला बाहिर ल्याउनुभयो । हामीले थुप्रै नाटक र टेलिशृंखलाहरू सँगै गर्‍यौं ।’

एउटै कार्यालयमा काम गर्दा दिनहुँजसो भेट भइरहने भएकाले आफूहरूका साथै ‘प्रहसन वा नाटकका लागि पनि स्वर्ण युग’ जस्तो लाग्छ आशाकाजीलाई । काम सके घण्टौं बस्ने गर्दा रामशेखर प्रहसनको स्क्रिप्ट लेख्थे, आशाकाजी र कृष्ण स्क्रिप्ट रट्थे । उनले सम्झिए, ‘बाटोमा हिँडदै गर्दा पनि केही घटना देख्यो भने त्यसलाई पनि रामशेखरले नाटकमा उतारिदिनुहुन्थ्यो । उहाँले लेखेको डाइलग पनि दर्शकलाई तान्ने खालको हुन्थ्यो ।’ रिहर्सल गर्ने ठाउँ नभएपछि बाटोमा हिँड्दाहिँड्दै उनीहरू रिहर्सल गर्थे, उनकै शब्दमा ‘वाकिङ रिहर्सल’ ।

प्रहसन वा नाटकका लागि जति बेला पनि तयार हुने प्रवृत्तिले आशाकाजीलाई रामशेखरको नजिक बनाएको थियो । रामशेखरसँगको एउटा घटना बारम्बार सम्झिए उनले । ‘एक रात नौ बजे सुत्ने तरखर गर्दा एक्कासि रामशेखरले ‘नाटक गर्न जाउँm’ भन्दै ढोका ढकढक्याउनुभयो,’ अचम्म मान्दै उनी अचानक यसरी खबर गर्न आएपछि ‘आफू नजाने’ भन्दै रिसाए पनि । तर साथीलाई यसरी नाइँ भन्न पनि मनले मानेन । भक्तपुर बजारबाट राति नौ बजे हिँडेर तेलकोटको खोला र वन छिचोल्दै गर्दा जुकाले रक्ताम्मे हुने गरी टोक्दा पनि साँखु बजारमा नाटक देखाउन गएको अहिले पनि उनको मानसपटलमा ताजै छ । त्यो सम्झिँदा अहिले पनि उनको ज्यान सिरिंग हुन्छ रे ।

नेपाल टेलिभिजनबाट प्रसारित टेलिशृंखलाको निर्देशन रामशेखर र सहनिर्देशन कृष्ण नापितले गरेका थिए । उनले भने, ‘तर प्रसारण हुँदा निर्देशक रामशेखरको नाम नआई रमेशचन्द्र प्रधानको नाम आयो । त्यो बौद्धिक रूपमा अन्याय त थियो नै, उनी आर्थिक रूपमा पनि धेरै ठाउँमा ठगिए ।’ नेपाल भाषाकै भए पनि प्रहसन र नाट्य क्षेत्रमा योगदान दिएका रामशेखरलाई राज्यले पनि अन्याय गरेको उनले जनाए ।
मल्ल के सुन्दरका दृष्टिमा रामशेखरको ‘कथ्यशैली’ विशेष थियो । उनी राम्रो नाटकमार मात्रै नभएर कुशल साहित्यकार पनि थिए । ‘अहिले कुमार नगरकोटीले अपनाउने ‘मिस्टिका’ शैलीलाई नयाँ भनेर प्रशंसा गरेका छन्,’ उनले भने, ‘यो शैली रामशेखरले ४३ वर्षपहिले कथामा प्रयोग गरेका छन् । नेपाल भाषा नबुझेकाले यसबारे कसैलाई थाहै छैन र चर्चा पनि भएन ।’ नेपाल भाषाका समालोचकले रामशेखरका कथाहरूलाई यो कोणबाट कहिल्यै समालोचना नगरेको उनले बताए । पञ्चायत कालमा ‘सिमात फफ स्व:’ कथा राजाको विरुद्ध लेखिए पनि नेपाल भाषामा भएकाले अन्य समुदायका पाठक उनको क्रान्तिकारी चिन्तनबारे अनभिज्ञ रहेको उनले सुनाए ।

प्रकाशित : फाल्गुन २८, २०७४ ०८:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्