कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अभ्यासमा नेपाल विजयी

विश्व क्रिकेट लिगको तयारी भ्रमण

काठमाडौँ — विश्व क्रिकेट लिग डिभिजन(२ को तयारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) पुगेको नेपाली टोलीले पहिलो अभ्यास खेलमा यूएई ‘ए’ लाई २५ रनले पराजित गरेको छ । यूएईको राष्ट्रिय टोलीका चिराग सुरी र मोहमद कासिमसहित राष्ट्रिय स्तरका खेलाडी रहेको टोलीविरुद्ध नेपालले टस जितेर ब्याटिङ रोजेको थियो ।

अभ्यासमा नेपाल विजयी

नेपालले इनिङ्सको तीन बल बाँकी छँदा अलआउट हुनुअघि २ सय ४६ रन जोड्यो । उपकप्तान ज्ञानेन्द्र मल्ल १८ रनमा कट बिहाइन्ड भएपछि दिलीप नाथ र अनिल साहले दोस्रो विकेटमा ६० रनको साझेदारी गरे । अनिलले ३१ तथा दिलीपले ६१ रन जोडे । मध्यक्रममा १६ रनको अन्तरमा ४ विकेट गुमाएको नेपालको इनिङ्सलाई रोहित पौडेलले उकासेका थिए ।


कप्तान पारस खड्काले २० रन जोड्दा आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले २(२ रन जोडे । ४३ रन जोडेका रोहितले २१ रन बनाएका वसन्त रेग्मीसँग सातौं विकेटमा ४५ रन जोडेपछि नेपाल राम्रो स्कोरतर्फ उन्मुख भयो । नवौं नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले १६ बलमा ४ चौका र २ छक्कासहित ३५ रन जोडेपछि नेपालले बलियो लक्ष्य प्रस्तुत गरेको थियो । यूएईका कासिमले ३ विकेट लिए ।


जवाफी ब्याटिङमा यूएई ‘ए’ ले बलियो सुरुआत गर्‍यो । प्रारम्भिक जोडीले १५ ओभरमा ८७ रनको साझेदारी गरेपछि नेपाली टोली दबाबमा परेको थियो ।

त्यसपछि दीपेन्द्र र कप्तान पारसले चार ओभरमा ४ विकेट निकालेपछि नेपाल खेलमा फर्किएको थियो । दीपेन्द्रले ओपनरद्वय फहाद नवाज (३६) र चिराग (४५ रन) लाई पेभेलियन फर्काए ।


मध्यक्रममा नील लोबोले ५९ रन जोड्दै टोलीलाई उकास्न खोजे पनि अन्य ब्याट्सम्यानले राम्रो साथ दिन सकेनन् । घरेलु टोली ४८.४ ओभरमा २ सय २१ मा अल आउट भयो । कप्तान पारसले ५ तथा दीपेन्द्रले ३ विकेट लिएका थिए ।

नेपालले यस अभ्यास खेलका लागि १४ सदस्यीय अन्तिम टोलीबाट शरद भेषावकर, सन्दीप लामिछाने र सोमपाल कामीलाई विश्राम दिएको थियो । नेपालले यूएईमा अझै दुई अभ्यास खेल खेल्नेछ । टोली यूएईबाट आइतबार नामिबिया जाने कार्यक्रम छ ।

प्रकाशित : माघ १७, २०७४ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?