कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एन्फा चुनाव विवाद : नवलपरासीमा अन्तरिम आदेश

नवलपरासी — एकलौटी रूपमा जिल्ला फुटबल संघ नवलपरासीको निर्वाचन गरेको भन्दै असहमति जनाएका क्लबको निवेदनउपर उच्च अदालत बुटवलले ‘कुनै पनि काम नगर्नू’ भनी बिहीबार अन्तरिम आदेश जारी गरेको छ ।

नवलपरासीमा रहेका २९ क्लबमध्ये राजनीतिक आस्थाका आधारमा एमाले नजिकका १५ क्लबलाई मात्र सहभागी गराएर नवलपरासी फुटबल संघको चुनावी अधिवेशन गत साता गरिएको थियो । भ्रष्टाचार अभियोगमा प्रतिबन्धमा रहेका एन्फाका पूर्वअध्यक्ष गणेश थापा निकटस्थहरूले यहाँका १४ क्लबलाई जानकारी नदिई गोप्य रूपमा दुईपल्ट अधिवेशन गरेको थियो । त्यसैले क्लबहरूको तर्फबाट सुनबलस्थित मनकामना युवा क्लबका सदस्य धनबहादुर गुरुङले मुद्दा दायर गरे । उच्च अदालतले बिहीबार उत्प्रेषण परमादेश जारी गर्दै ‘जिल्ला फुटबल संघ नवलपरासीका अध्यक्षसमेतका पदाधिकारी एवं सदस्यको हैसियतले कुनै कार्य नगर्नू नगराउनू’ भन्दै आन्तरिम आदेश दिएको हो ।


न्यायाधीश गोकर्ण डाँगीको इजलाशले पछिल्लो पटक गठन गरिएको समितिले बिहीबार जिल्ला फुटबल संघका नामबाट कुनै काम नगर्नू भन्दै कारण देखाउ आदेश पनि जारी गर्‍यो । जिल्ला लिग खेलेका १४ क्लबको असहमतिका बावजुद पनि तीन साताअघि प्रकाश पंगेनीले आफ्नै अध्यक्षतामा गोप्य रूपमा निर्वाचित कार्यसमिति बनेको दाबी गरेका थिए । उनैले त्यसलाई भंग गरेर अघिल्लो बिहीबार आफूनिकटलाई मात्र बोलाएर सेतबहादुर पुनको अध्यक्षतामा फेरि जिल्ला फुटबल संघको नयाँ कार्यसमिति बनाएका थिए । पुन: अघिल्लो कार्यसमितिमा महासचिव थिए ।


दुईपल्टसम्म बनाइएको समितिमा अरु सबै दललाई पन्छाउँदै एमालेले एकलौटी गरेको आरोप क्लबहरूको छ । पंगेनीले १३ वर्षदेखि निरन्तर जिल्ला संघको नेतृत्व गरिरहेका छन् । गणेश थापाका विश्वासपात्र उनीमाथि आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार अनुसन्धान दुरुपयोग आयोगले पनि अनुसन्धान गरिरहेको छ ।


प्रकाशित : माघ ११, २०७४ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?