कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

जसले बझाङमा ‘पोल्ट्री’ भित्र्याए

बझाङ — २०६७ वैसाख तेस्रो साता बझाङका नरेन्द्र खड्का कैलाली पुग्दा धनगढी बजार हप्प तातेको थियो । गर्मीको पर्वाह नगरी बिहानैदेखि कुखुराको खोजीमा निस्किएका उनी असिनपसिन थिए ।

जसले बझाङमा ‘पोल्ट्री’ भित्र्याए

थुप्रै ठाउँ डुलिसके पछि मध्य दिनमा अत्तरियाको एउटा फार्मबाट उनले १५/१५ वटा बोइलर र लोकल कुखुरा किने । बाँसको चोयाको टोकरी (पिँजडा) मा हालेर कुखुरालाई बसको छतमा चढाए । टिकट लिएर आफू सिटमा बसे ।

साँझ पाँच बजे बझाङको लागि छुट्ने रात्रीबस अत्तरियाबाट पहाडतर्फ उक्लिन लाग्दा घाम मन्द भइसके पनि नरेन्द्रको अनुहार भने असिनपसिन नै थियो । बसको छतमा राखिएका टोकरीका कुखुरा मर्लान् की ? भन्ने चिन्ताले उनको मनको गर्मी शान्त थिएन ।

‘बस रोक्ने बित्तिकै फुत्त झरेर छतमा उक्लिहाल्थे । सबै कुखुरा ज्युदै देखेपछि मात्रै मन ढुक्क हुन्थ्यो । चैनपुरसम्म ज्यूँदै कुखुरा पुग्छन् कि नाई भन्ने चिन्ताले रातभर सुत्न सकिन,’ पहिलो पटक कुखुरा व्यवसाय सुरु गर्दाको अवस्था सम्झँदै नरेन्द्रले भने, ‘त्यो टोकरीमा मेरो सपना थियो । निन्द्रा कसरी पर्दो हो ?’

भोलिपल्ट सबै कुखुरा जस्ताको तस्तै चैनपुर पुर्‍याएपछि मात्रै बल्ल सन्तोषको सास फेरेको उनले सुनाए । उनको चिन्ताको कारण थियो । केही गरी कुखुरा मरिहाले ऋण कसरी तिर्ने ? आफन्तसँग ५० हजार सापटी मागेर उनी त्यस्तो बेला कुखुराको व्यवसाय सुरु गर्दै थिए । जतिबेला बझाङका धेरैजसोले बोइलर कुखुरा देखेका पनि थिएनन् ।

‘तराइका बोइलर ल्याएर पहाडमा बेच्छु भनेर सुनाउँदा घरकै मान्छे पनि उडाउँथे,’ उनले भने, ‘ऋण गरेको पैसा नहुने काममा लगानी गरेर डुब्छ भन्ने चिन्ता घरकालाई थियो । धेरैलाई बिन्ती गरेर बल्लबल्ल पाएको ऋण डुब्यो भने परिवार नै संकटमा पर्नेवाला थियो ।’

जयपृथ्वी नगरपालिका–९ रिठापाटाका नरेन्द्र त्यतिबेला २४ वर्षका थिए । २०६१ मा धनगढीमा सिएमए पढ्दा नै ऋणमा डुबिसकेको उनको परिवारलाई अरु ऋण कसैले पत्याउने कुनै आधार नै थिएन । उनीसँग थियो त केवल दुख र संघर्षको तितो विगत । सीएमए पास गरिसके पछि उनी काम खोज्दै काठमाडौंका गल्लीगल्ली भौतारिएका थिए ।

बिएडमा भर्ना भएका उनलाई राजधानीमा टिक्न निकै संघर्ष गर्नुपरेको थियो । नौ कक्षा अध्ययन गर्दाका सहपाठीको कोठामा बसेर पढ्दै गर्दा कयौं छाक भोकै बस्नु परेको थियो । निकै दुख पाए पछि तेस्रो वर्षको पढाई चल्दै गर्दा उनले एउटा क्लिनिकमा काम पाए । मासिक ११ हजार तलब आउने कामका लागि उनले बिहान आठ बजेदेखि राति आठ बजेसम्म काम गर्नु पर्थ्यो ।

क्याम्पसको कक्षा आधा छोडेर काममा जानुपर्ने भए पनि मासिक तलब आउने भए पछि उनको जीवन केही सहज हुँदै थियो । यसै बीच एकदिन घरबाट फोन आयो । ‘तिम्रो बुवा सिकिस्त छन् । आजै घर आउनु,’ फोनमा बोल्ने आवाज उनका काकाको थियो ।

सम्भावित अनिष्टको संकेतले उनको मनमा ढ्याङ्ग्रो ठोक्यो । केही सोच्दै नसोची उनी घर आउने बस चढे । नभन्दै घर पुग्दा बुवाको मृत्यु भैसकेको रहेछ । उनको एक मात्रै आशाको धरोहर ढलिसकेको रहेछ । बुवाको मृत्यु घरको जेठो रहेका नरेन्द्रको थाप्लोमा परिवारको बोझ थपियो ।

बावुको काजकिरिया सकेर डेढ महिना पछि काठमाडौं त फर्किए तर पहिला गरेको काममा पनि अर्कै मान्छे राखिसकेको रहेछ । जागिर पनि गुमे पछि उनी झन संकटले घेरिए । कलेजको शुल्क, घरभाडा, गाडीभाडा, खानाको चिन्ता फेरि उही तनाव खेप्दै जेनतेन तेस्रो बर्षको परीक्षा दिएर जिल्लामै केही गर्छु भनि घर फर्किएका उनि ‘गर या मर’ को अवस्थामा थिए ।

यसै संकटका बीच कुखुराको व्यवसाय गर्ने जुक्ति फुरेको थियो । उनले व्यवसाय सुरु गर्दैगर्दा बझाङ सदरमुकाम चैनपुरमा कुखुराको कुनै निश्चत मूल्य नै थिएन । स्थानीयले घरमा पालेका सीमित संख्यामा स्थानीय जातका कुखुराको मोलमोलाईको आधारमा किनबेच हुन्थ्यो । एक/डेढ किलोको कुखुरालाई चार हजारसम्म तिरेर किनबेच हुनेगरेको थियो । कुखुराको मासु पाउने पसल त जिल्लामा एउटा पनि थिएन ।

‘धेरैले बझाङमा कुखुराको मासु नै नपाउने समस्या छ भन्ने गर्थे मैले त्यही समस्यालाई अवसर बनाउन सक्छु की भन्ने सोचे,’ नरेन्द्र भन्छन्, ‘त्यही भएर पनि मैले कसैको कुरा नसुनेर जोखिम उठाएरै भए पनि गर्छु भन्ने आँट गरेँ ।’

कुखुरा लिन धगनगढी जानु भन्दा पहिले नै उनले चैनपुरको लोकतान्त्रिक चोकनजिक जग्गा भाडामा लिएर मासु बेच्ने सानो टिनको टहरो समेत बनाइसकेका थिए । तर कसैले नगरेको काम भएर के हुन्छ ? कसो हुन्छ भन्ने संकोच भने कायमै थियो । त्यही टहराबाट उनले चार सय रुपैयाँ किलो बोइलर र एक हजार प्रतिकिलोको दरले लोकल कुखुराको मासु बेच्न सुरु गरे ।

‘किलो हाराहारी कुखुराको तीन/चारहजार तिरेर मासु खाइरहेका बेला चार सयमा एक किलो मासु भने पछि किन्नेको भीड लाग्न थाल्यो । पहिलो पटक ल्याएका कुखुरा त दुई दिनमै सकियो,’ उनले भने ।

त्यसपछि भने नरेन्द्रले फर्केर पछाडि हेर्नु परेन । राम्रो बिक्री हुन थालेपछि उनले घरनजिकै आफ्नै जग्गामा खोर बनाएर पोल्ट्री सुरु गरे । उनले यो काम गर्दा पनि धेरैले उडाए । ‘बझाङ जस्तो चिसो ठाउँमा बोइलरका चल्ला कसरी हुर्केलान् भनेर निरुत्साहित गर्ने धेरै थिए,’ उनले भने ।

आफ्नै काका, परिवारका सदस्यहरुलाई काम लगाएर उनले व्यवसाय विस्तार गर्दै गए । गाउँगाउँबाट कुखुराको माग आउन थाले पछि आफैले पालेर बजारको माग धान्न नसक्ने अवस्था हुन थाल्यो । त्यसपछि नरेन्द्रले स्थानीय युवाहरुलाई व्यवसायमा जोड्न थाले ।

‘उधारोमा चल्ला र चारो दिने अनि कुखुरा पाल्ने तरिका पनि सिकाइ दिने गरें,’ नरेन्द्र भन्छन्, ‘उनीहरुले उत्पादन गरेका कुखुरा बिक्री भएनन भने आफैले खरिद गर्न थालें ।’

२०७४ सम्म नरेन्द्रकै फर्ममा प्रत्यक्ष काम गर्नेहरु २२ जना पुगे भने उनीसँग सहकार्य गरेर पोल्ट्री व्यवसाय गर्नेको संख्या एक सय ५० भन्दा बढी पुग्यो । एउटा कुखुरा खोज्न पनि चाहार्नुपर्ने बझाङ २०७६ सम्म आइपुग्दा कुखुराको मासुमा आत्मनिर्भर हुन पुग्यो ।

‘एक दुइ वर्ष त बझाङमा खपत नभएर यहाँका कुखुरा डडेल्धुरा, अछाम, डोटी, बैतडी र दाचुर्लासम्म पनि पठायौं,’ भेटेनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्र बझाङका पशु विकास अधिकृत कर्णबहादुर खड्का भन्छन्, ‘पोल्ट्रीमा बझाङले गरेको यो प्रगतिको पछाडि नरेन्द्रको ठूलो हात छ । उहाँले आफूले मात्रै काम नगरेर अरुलाई पनि यो व्यवसायमा लाग्न थुप्रै सहयोग गर्नु भएको छ ।’

उनले अहिले बझाङले प्रतिवर्ष नौ सय मेट्रिक टन कुखुराको मासु उत्पादन गरिहेको र ४५ हजार भन्दा बढी कुखुरा उत्पादन हुने गरेको बताए । अहिले जिल्लाभर दुई सय ५० भन्दा बढी पोल्ट्री व्यवसायी र ५० भन्दा बढी कुखुराको मासु पसल संचालनमा छन् । यी सबैमा गरेर चार सय जना बढी स्वरोजगार छन् ।

‘रोजगार नपाएर भौतारिरहेको थिएँ । उहाँ (नरेन्द्र) ले नै यो काम गर्दा राम्रो हुन्छ भनेर काम सहयोग गर्नुभयो । अहिले वर्षमा ३०/४० लाखको कुखुरा बिक्री गर्छु,’ दुर्गाथलीको मौरीबगरमा पोल्ट्री व्यवसाय गरिरहेका बसन्त बुढा थापा भन्छन् । पोल्ट्रीको क्षेत्रमा गरेको यो प्रगतिको जस जिल्लाबासीले नरेन्द्रलाई दिने गरे पनि उनी भने आफ्नो लागि काम गर्ने क्रममा यो सबै भएको बताउँछन् ।

‘मैले जिल्लाभरी यत्रो मान्छेलाई स्वरोजगार बनाउँला भन्ने सोचेर व्यवसाय थालेको हैन । आफ्नो परिवारलाई गरिबीबाट उठाउन सुरु गरेको थिएँ,’ उनी भन्छन्, ‘मैले काम गर्दै जाने क्रममा अरुलाई पनि जोड्न सके मेरो व्यवसाय बढ्छ । बेरोजगारले काम पनि पाउँछन भनेर जोड्दै गएाको हुँ ।’

अहिले पनि बझाङ र धनगढीमा गरी पाँच ठाउँमा पोल्ट्री फर्म चलाइरहेका नरेन्द्रले जिल्लाभरीका एक सय ५० बढी फार्मलाई चारो, औषधि र औजार बिक्री समेत गरिरहेका छन् । उनले १३ वर्षकै अवधिमा बझाङ, धनगढीलगायत ठाउँमा घरघडेरी, गाडी, ट्रक समेत यही व्यवसायबाट कमाएको नाफाले जोडेका छन् ।

आगामी दिनमा बझाङमा उन्नत प्रविधियुक्त पोल्ट्रीफर्म खोल्ने तयारीमा छन् । सामाजिक सेवाका काममा पनि सक्रिय युवा नरेन्द्रले भन्छन्, ‘मलाई यही पेशाले उठाएको हो । बाँकी जिवन पोल्ट्री व्यवसायमा नै बिताउने सोचेको छु ।’

प्रकाशित : जेष्ठ १४, २०८१ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?

×