कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

बाटोमै लुटिए काम खोज्न भारत हिडेका मानबहादुर

भवानी भट्ट

कञ्चनपुर — भारतमा रोजगारी गरेर फर्किदा बाटोमै लुटिने थुप्रै घटना सुनिन्छन् । उनीहरुले मजदुरी गरेर कमाएको धनमाल लुटेर अलपत्र पर्ने गरेका छन् । यसपटक रोजगारीका लागि भारत जाने क्रममै एक नेपाली लुटिएका छन् ।

बाटोमै लुटिए काम खोज्न भारत हिडेका मानबहादुर

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ का मानबहादुर बुढा भारत जाने क्रममा सीमा क्षेत्र नजिकै लुटिएका हुन् ।

भारत उत्तराखण्डको ऋषिकेश जान लागेका उनलाई मंगलबार सीमा क्षेत्रमा बिँडीमा नशालु पदार्थ खुवाएर लुटिएका हुन् । उनका अनुसार भारतको ऋषिकेशसम्म पुग्ने भाडादेखि लुगा कपडा, नागरिकता र बैंकको चेक सबै लुटिएको हो ।

‘बिँडी पिउन दियो, त्यसपछि बेहोस भए, खल्तीको पैंसा र लुगाको झोला सबै लगेर गयो,’ बुढाले भने, ‘नागरिकता, कम्पनीको परिचयपत्र, बैंकका कागजात पनि केही बांकी राखेन ।’ ५९ वर्षीय बुढा २६ वर्षदेखि ऋषिकेशमा गाडीका पार्टस् बनाउने कम्पनीमा चौकीदारको काम गर्थे । २० दिनअघि मात्रै बिदामा घर आएका थिए ।

मंगलबार दिउँसो बेहोस अवस्थामा भेटिएका बुढालाई प्रहरीले महाकाली प्रादेशिक अस्पताल पुर्‍याएको थियो । उपचारपछि होसमा आएका उनी घरतर्फ हिँडेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले गड्डाचौकीमा स्थापना गरेको नागरिक सहायता कक्षले उनलाई घरसम्म पुग्ने खर्च दिएर घर पठाएको हो ।

नागरिकता र परिचयपत्र समेत लुटिएपछि उनी नागरिकता बनाउन फेरि घर फर्केका हुन् । परिवारले समेत घरमै पठाइदिन आग्रह गरेको नागरिक सहायता कक्षका कर्मचारी दानसिंह बोहोराले बताए । उनले लुटेरोको खोजीका लागि पनि दुवैतर्फका सुरक्षाकर्मीलाई आग्रह गरेको बताए ।

प्रकाशित : जेष्ठ ९, २०८१ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?