१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

शुक्लाफाँटामा देखिएन खर मजुर

भवानी भट्ट

कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलो चरणको अनुगमनमा खर मजुर देखिएको छैन । निकुञ्ज प्रशासन र नेपाल पन्छी संरक्षण संघले संयुक्त रुपमा चैत तेस्रो साता गरेको अनुगमनका क्रममा संकटापन्न अवस्थामा रहेको खर मजुर नदेखिएको हो । 

शुक्लाफाँटामा देखिएन खर मजुर

गत वर्ष गरिएको गणनामा ३ भालेसहित ५ वटा खर मजुर भेटिएकोमा यसपटक भने एउटा समेत नदेखिएको पन्छी संरक्षण संघका परियोजना अधिकृत हिरुलाल डगौंराले बताए । निकुञ्जको शुक्लाफाँटा घाँसे मैदान, लालपानी, अण्डैय पटैयालगायतका घाँसे मैदानमा अनुगमन गरिएको थियो ।

विगतमा भेन्टेड (खर मजुर पाइन निश्चित स्थानमा रुखमा वा मचानमा चढेर हेर्ने) विधिबाट अनुगमन तथा गणना गरिन्थ्यो । तर यसपटक भेन्टेड सँगै स्वीप (गणकहरुले डोरी समातेर घिसार्दै जाने) विधिको पनि प्रयोग गरिएको छ । चैत १४ देखि २२ सम्म खर मजुर पाइने सम्भावित स्थानमा अनुगमन गरिएको थियो ।

‘एक चरणको अनुगमनमा खर मजुर देखिएन, फेरि दोस्रो चरणमा गर्ने तयारी भइरहेको छ,’ डगौंराले भने, ‘एक सातासम्म अनुगमन गर्दा नदेखिएपछि निराश बनाएको छ ।’ खर मजुर संकटापन्न पंक्षीमा पर्छ । यो घाँसे मैदानको स्वच्छताको सुचक पनि हो । घाँसे मैदानमा रहेको किराहरु खाने भएकाले अन्य जीवजन्तुका लागि फाइदाजनक हुन्छ ।

यसैगरी किसानको खेतबारीमा पसेर पनि किरा खान्छ । जसले रोग किराको प्रकोप कम हुन्छ । ‘पहिलो चरणमा अर्लि ब्रिडिंगका बेला अनुगमन गरेका हौं, दोस्रो चरणमा लेट ब्रिडिंगका बेला अनुगमन गरिन्छ,’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले भने, ‘एक हप्तापछि फेरि पुरानै विधि र तरिका अपनाएर अनुगमन गरिनेछ ।’

उनका अनुसार थोरै संख्यामा रहेको वन्यजन्तु वा पंक्षीको गणना गर्दा थोरै समयमा सहि नतिजा नआउन सक्छ । त्यहि भएर यस पटक दुई चरणमा अनुगमन गरिन लागेको उनले बताए ।

मार्चदेखि मे महिनासम्म खर मजुरको प्रजनन समय मानिन्छ । यतिबेला भाले पोथी सँगै भेटिन सक्ने सम्भावन हुनछ । पोथीलाई आकर्षित गर्न भालेले डिस्प्ले (नाच्दै उफ्रिने) गर्छ । यस कारण पनि सहजै देख्न सक्ने सम्भावना हुनछ । तर यसपटक भने देख्न सकिएन ।

‘गणनामा खटिँदा हामीले देखेनौँ । तर निकुञ्जकै अन्य कर्मचारीले भने देखेका छन्,’ संरक्षण अधिकृत ऐरले भने, ‘सानो संख्यामा भएकाले सहजै देख्न गाह्रो भएको हो ।’ उनका अनुसार ४ वर्षअघि मे मध्यतिर खरमजुरका फुल भेटिएको थियो । यसकारण मे मध्यसम्म सहजै देख्न सकिन्छ ।

दोस्रो चरणमा वैशख ११ देखि विगतकै विधि अनुसार गणना र अनुगमन गरिनेछ । निकुञ्ज कार्यालय र पन्छी संरक्षण संघका गरी १८ देखि २० जनासम्म प्राविधिक गणनामा खटिनेछन् ।

प्रकाशित : वैशाख ३, २०८१ २१:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?