कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्याउ दुई तिहाइ घट्यो

राजबहादुर शाही

मुगु — यस वर्ष स्याउ कम फलेपछि यहाँका किसान चिन्तित छन् । कम उत्पादनले जीविकोपार्जनमा समस्या पर्ने भन्दै किसान चिन्तित भएका हुन् । छायाँनाथ रारा नगरपालिकास्थित ताल्चाका कर्णबहादुर रावलको बारीमा डेढ सय स्याउका बोट भए पनि अधिकांशमा स्याउ फलेको छैन ।

स्याउ दुई तिहाइ घट्यो

‘यस वर्ष स्याउ कम फल्यो, दु:खअनुसार आम्दानी नहुने भयो,’ उनले भने, ‘धेरै किसानको जीविकोपार्जनमा समस्या हुने देखिएको छ ।’ गत वर्षको तुलनामा यस वर्ष आधा पनि स्याउ नफलेको उनको भनाइ छ ।

ताल्चाकै धीरेन्द्र भामले बारीका ३० बोटमध्ये अधिकांशमा स्याउ नफलेको बताए । स्याउमा दाना नलाग्दा गरेको परिश्रम खेर गएको उनको भनाइ छ । जेठ र वैशाखमा असिना–पानीले स्याउको फूल नष्ट गरेपछि उत्पादन कम भएको उनको भनाइ छ ।

स्थानीय हरि रोकायाले स्याउबाट गत वर्ष ६ लाख आम्दानी गरेका थिए । तर, यस वर्ष गत वर्षभन्दा आधा पनि आम्दानी नहुने उनको भनाइ छ । उनको बारीमा चार सय स्याउका बोट छन् । ‘अधिकांश रूखमा पात मात्रै छन्,’ उनले भने, ‘हावाहुरी, असिना र खडेरीले उत्पादन निकै कम भयो ।’ जिल्लामा सबैभन्दा बढी स्याउ उत्पादन हुने ठाउँमा बाम, थुमबाडा क्षेत्रका दख्र्यालबाडा, फुइपाटा गाउँ पर्छन् । स्याउबाट आत्मनिर्भर बनेका थुमबाडा क्षेत्रका पाँच सय परिवारलाई समस्या भएको छ ।

छायाँनाथ रारा नगरपालिका– १४, का वडाअध्यक्ष नन्दलाल बडुवालका अनुसार बाम क्षेत्रमा वार्षिक १२ मेट्रिक टन बढी स्याउ उत्पादन हुने गरेको थियो । ‘यस वर्ष स्याउको उत्पादन दुई तिहाइ घट्ने अनुमान छ,’ उनले भने, ‘यहाँको मुख्य आयस्रोत मानिएको स्याउको उत्पादन कम भएपछि किसानको जीविकोपार्जनमा समस्या हुने देखिएको छ ।’ जिल्लामा सडक सञ्जाल जोडिएसँगै यहाँको स्याउले राम्रो मूल्य पाएको थियो ।

यहाँको स्याउ सडकमार्ग हुँदै सुर्खेत, नेपालगन्ज, काठमाडौं, भैरहवा, बुटवललगायतका सहरमा जाने गरेको थियो । गत वर्ष जिल्लामा करिब ३ हजार ३ सय ९१ मेट्रिक टन स्याउ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लाबाट २५ सय मेट्रिक टन स्याउ सडक मार्गबाट बिक्रीका लागि विभिन्न जिल्ला जाने गरेको छ ।

जिल्लामा स्याउ बिक्रीबाट करिब ४५ लाख बढी रकम भित्रिने गरेको कार्यालयले जनाएको छ । यस वर्ष प्राकृतिक प्रकोपका कारण आधा प्रतिशत स्याउको उत्पादन घट्ने बागबानी अधिकृत चतुर्भुज चौधरीले बताए ।

प्रकाशित : असार ३२, २०७५ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?