प्रदेश र स्थानीयबीच समन्वय भएन

कर्णाली व्युरो — कर्णाली प्रदेश सरकारले विकास कार्यका लागि १० जिल्लामा करिब २० अर्ब रूपैयाँ विनियोजन गरेको छ । विकास बजेट कार्यान्वयनका लागि संरचना र जनशक्ति प्रमुख चुनौती भनिंदै आएको छ । तर, तुलनात्मक रूपमा संरचना र जनशक्ति भएका स्थानीय तहसँग समन्वय गर्नेतिर भने खासै चासो दिएको छैन । स्थानीय तह र प्रदेश सरकारबीच प्रभावकारी समन्वय नहुँदा विकास कार्य प्रभावित भइरहेको छ ।

प्रदेश र स्थानीयबीच समन्वय भएन


गत आर्थिक वर्षमा कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मुसीकोट नगरपालिका–४ को नागरिक दुग्ध सहकारीलाई चिलिङ भ्याट स्थापना गर्न एक करोड रुपैयाँ अनुदान दियो । अनुदान लिन सहकारीका पदाधिकारी प्रदेश राजधानी सुर्खेतमै पुगे । त्यस्तै, चालु आर्थिक वर्षमा सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालयबाट ६ वटा शीर्षकमा १६ योजना छनोट भए । ती योजनामा झन्डै ४ करोड बजेट छ । तर, योजना सम्झौता गर्न मन्त्रालय मातहतको शिक्षा विकास निर्देशनालयका कर्मचारी जिल्लामै आउनुपर्‍यो । माघ १० गते मुसीकोटस्थित एक होटलमा विद्यालय र निर्देशनालयबीच सम्झौता भयो ।

‘यस्ता योजनाको छनोटदेखि कार्यान्वयन हामी (स्थानीय तह) सँग गरेको भए यति झन्झट नै हुन्थेन,’ त्रिवेणी गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीमगर भन्छन्, ‘तर समन्वय अभावमा झन्झटमात्र होइन, विकासका लागि आएको बजेटसमेत सही रूपमा सदुपयोग भएको पाइँदैन ।’

रुकुम पश्चिममा चालु आर्थिक वर्षका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि ज्ञान केन्द्र, भेटनरी अस्पताल र पशु विज्ञ केन्द्रमा बजेट तथा कार्यक्रम पठाएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले डिभिजन वन कार्यालयमार्फत करिब ४ करोड लागतका योजना पठाएको छ । तर, यी दुवै मन्त्रालयले त्यससँग सम्बन्धित कुनै जानकारी स्थानीय तहमा पठाएका छैनन् । जिल्लास्थित सम्बन्धित कार्यालयले एउटा सूचना स्थानीय तहको कार्यालयमा टाँस्नुबाहेक अर्को कुनै खबर पुुगेको छैन । ‘हाम्रो गाउँपालिकामा पनि प्रदेश सरकारले विभिन्न काम गर्दैछ भन्ने सुनेको छु,’ अध्यक्ष घर्तीमगरले भने, ‘यस विषयमा मन्त्रालयको कुनै आधिकारिक चिठी गाउँपालिकामा आएको छैन ।’ प्रदेशका विभिन्न मन्त्रालयको कार्यक्रम परेको भन्दै त्यसको सम्झौताका लागि भनेर सिफारिस लिनेहरू गाउँपालिमा आउनेबाहेक अरू विवरण थाहा नभएको उनले बताए ।


प्रदेश सरकारका मन्त्रालयले जिल्लाका विभिन्न स्थानीय तहमा तय गरेका कार्यक्रम तथा विनियोजन गरेको बजेटबारे पनि स्थानीय तह अनविज्ञ छन् । मन्त्रालयबाट आएका कार्यक्रम कसको अनुरोध र सिफारिसमा छनोट भएका हुन् भन्ने पनि उनीहरूले चाल पाउन सकेका छैनन् । ती कार्यक्रमको कार्यान्वयन र विनियोजित बजेट कसरी खर्च गर्ने, अनुगमन र मूल्यांकनको जिम्मा कसले लिने भन्नेसमेत स्पष्ट छैन । यही कारण प्रदेशबाट बजेट र कार्यक्रम बोकेर आएका अधिकारी पनि अनविज्ञता प्रकट गर्छन् । ‘बजेट र कार्यक्रम त हाम्रो कार्यालयमा आएको छ,’ डिभिजन वन प्रमुख मुकुन्दप्रसाद अधिकारी भन्छन्, ‘तर अहिलेसम्म कार्यक्रम र बजेट कार्यान्वयनवाला को हुन् भनेर जानकारी गराउने मात्रै काम भएको छ ।’

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्मा्प्रदेश मन्त्रालयका कार्यक्रमहरू जिल्लासम्म आइपुग्दा सन्तुलन र समन्वयबिनै आएको बताउँछन् । जिल्लाका प्राय: सबै स्थानीय तमहबाट यसबारे गुनासो आएको उनको भनाइ छ । ‘स्थानीय सरकारसँग समन्वय र सरसल्लाहै नगरी बजेट र योजना पठाउँदा कार्यान्वयनमा अन्योल देखिएको छ,’ उनले भने, ‘त्यसैले हामीले योजना तथा बजेट संशोधनका लागि मन्त्रालयमा पत्राचारसमेत गरेका छौं ।’ संविधानमा उल्लिखित सहकार्य र समन्वयमार्फत विकास कार्य सञ्चालन गर्ने कुरालाई आधार बनाई पत्र पठाइएको उनले बताए ।

पर्याप्त बजेट, अन्योलता उस्तै

प्रदेश सरकारले कालीकोटको पचालझरना गाउँपालिका–४ स्थित ज्ञानोदय माविमा बाली विज्ञान अध्ययनका लागि भवन निर्माण गर्न एक करोड रुपैयाँ विनियोजन गरेको छ । तर, उक्त योजना कार्यान्वयनका लागि गाउँपालिकालाई औपचारिक रूपमा कुनै जानकारी छैन । ‘बजेट स्वीकृत भए पनि प्रदेश सरकारको अलमलले काम सुरु हुन सकेको छैन,’ गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले भने, ‘कार्यान्वयनको विधि, प्रक्रिया के हुने हो, अझै स्पष्ट छैन ।’

पचालझरनामा प्रदेश सरकारले बाली विज्ञान भवनका साथै दुईवटा सडक, दुई विद्यालय भवन, एक करोडको अस्पताल भवन, नर्सरी, चारवटा बृहत खानेपानी आयोजना पारेको छ । अध्यक्ष सेजुवालले यी योजनाबारे अनौपचारिक रूपमा सुने पनि औपचारिक जानकारी नभएको बताए । ‘योजना आउनु त राम्रो हो, तर यी योजना कसरी छनोट भए, कसले माग्यो हामीलाई थाहा छैन,’ उनले भने, ‘केही योजनाको सर्भे भइरहेको र केहीको हुने क्रममा रहेको जानकारी सुनेका छौं ।’

कालीकोटमा प्रदेश सरकारको सबैभन्दा बढी बजेट पलाँता गाउँपालिकामा आएको छ । सरस्वती मावि राडुनेटालाई आवासीय विद्यालय बनाउन ३ करोड ८० लाख, सडकमा ४ करोड ५० लाख, कृषि सडकमा १ करोड, पक्की पुल निर्माणमा १ करोड, माहुरी पालनमा १ करोड, एकीकृत बस्ती विकासमा ३ करोड ८२ लाख रुपैयाँ आएको छ । यसका साथै दुईवटा खानेपानी आयोजना र दुईवटा थोपा सिँचाइको लागि पनि बजेट आएको छ । तर, प्रदेश सरकारको अन्योलले योजना कार्यान्वयनको काम प्रभावकारी रूपमा हुन सकेको छैन । ‘केही योजनाको सर्भे गरेर प्राविधिक फर्किए पनि फिल्डमा काम सुरु हुन सकेको छैन,’ गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले भने, ‘प्रदेश सरकार ससाना योजना कार्यान्वयनमा अल्झिँदा समस्या देखिएको छ ।’ प्रदेशले योजना कार्यान्वयनको जिम्मा स्थानीय तहलाई दिई आफू अनुगमनमा लाग्दा राम्रो हुने उनले बताए ।


खाँडाचक्र नगरपालिकामा प्रदेश सरकारका एक दर्जन योजना छन् । तर, ती योजना कार्यान्वयनको लागि स्पष्ट मापदण्ड नआएको नगर प्रमुख जसीप्रसाद पाण्डे बताउँछन् । योजना स्थानीय तहको मागभन्दा पनि प्रदेश सरकारका केही व्यक्तिका रुचिका रहेका उनले बताए । बराँतु–सियाँला हँुदै रेँगिल जोड्ने कृषि सडकमा एक करोड, पिली–पाखा सडकमा २ करोड, पिली युद्ध पर्यटकीय क्षेत्रमा १ करोड ५० लाख, जनप्रभाव माविलाई ५० लाख, कर्णाली माविलाई २० लाख, जनज्योति माविलाई १० लाख, मान्म स्याउ प्रशोधन केन्द्रलाई २० लाख, कृषि तथा वन नर्सरीका लागि दुई करोड रुपैयाँ विनियोजन छ ।

(तुलाराम पाण्डे/कालीकोट, हरि गौतम/रुकुमपश्चिम र राजबहादुर शाही/मुगु)

प्रकाशित : माघ १६, २०७५ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?