कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नर्सको भरमा अस्पताल

ज्योती कटुवाल

दैलेख — दुल्लु अस्पताल चिकित्सकविहीन भएपछि आपतकालीन उपचार सेवा ठप्प भएको छ । चिकित्सकसहित २१ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको दुल्लु अस्पतालमा अधिकांश पद रिक्त छन् ।

नर्सको भरमा अस्पताल

दुई नगरपालिका र दुई गाउँपालिकालाई अस्पतालले सेवा दिइरहेको छ । तर, बिरामीले भनेजस्तो सेवा लिन सकेका छैनन् ।

दुल्लु अस्पतालका निमित्त प्रमुख डा. लाल गुरुङ परीक्षा दिन काठमाडांै पुगेका छन् । डा. लीला देवकोटा सुत्केरी बिदामा बसेकी छन् । डाक्टर नहुँदा दुल्लु नगरपालिका ४ शान्तिबजारका २८ वर्षीया जगत कार्कीको दुई दिनदेखि शव परीक्षण हुन सकेन । पछि जिल्ला अस्पतालबाट डाक्टर पठाएर शव परीक्षण गरियो । आठौं र नवौं तहका डाक्टरको दरबन्दी भए पनि उचित सेवा प्रवाह हुन नसकेको स्थानीयको गुनासो छ । आठौं तहका दुई डाक्टर बिदामा बसेपछि स्टाफनर्स जानुका श्रेष्ठको भरमा अस्पताल चलिरहेको छ । पाँचजना स्टाफनर्सको दरबन्दी भए पनि आफू मात्र कार्यरत रहेको श्रेष्ठले बताइन् ।

पूर्वऊर्जामन्त्री जनार्दन शर्माको पालामा काजमा ऊर्जा मन्त्रालय तानिएकी जुनेली रावत हालसम्म जिल्लामा फर्किएकी छैनन् । दुल्लु अस्पतालले पटक–पटक पत्राचार गर्दा पनि जिल्ला नर्फकेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । प्राय: स्टाफनर्सले अध्ययनको बाहनामा जिल्ला छाड्ने गरेका छन् । स्टाफनर्स सविना चापागाईं अध्ययनका लागि बिदामा बसेको लामो समय भइसकेको छ । उनीजस्तै विभिन्न बहानामा अस्पताल छाड्नेको सख्या बढी छ । केही स्वास्थ्यकर्मी पहुँचका आधारमा सुगम जिल्ला काजमा बस्दै आएका छन् ।

पाँच शय्याको दुल्लु अस्पतालमा बिरामीको चाप बढ्दै गए पनि चिकित्सक र स्वास्थयकर्मी नहुँदा समस्या भएको छ । दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, चामुन्डा विन्दासैनी नगरपालिका, अछामको तुर्माखादबाट पनि बिरामीहरू स्वास्थ्य सेवा लिन दुल्लु आउने गरेका छन । टाढाबाट उपचारका लागि आए पनि भनेजस्तो उपचार गराउन नपाएको अछाम, तुर्माखाँदकी माया शाहीले बताइन् । ‘अछाम सदरमुकाम जानुभन्दा दुल्लु आउन सजिलो भएकाले यहाँ आएका हौं,’ उनले भनिन्, ‘तर सधैं चिकित्सक नबस्दा उपचारमा सास्ती भएको छ ।’ भैरवीका विशाल बुढाले स्थानीय निकायले ध्यान नदिदा स्वास्थ्यकर्मीको मनपरी बढेको बताए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मात्रिकाप्रसाद रिजालले चिकित्सले लामो समयदेखि विभिन्न बहाना बनाउँदै अस्पताल छाड्ने गरेकाले बिरामीको उपचारमा समस्या भएको बताए । दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले नियमित चिकित्सक बस्ने वातावरण मिलाइने जनाए ।

प्रकाशित : चैत्र २४, २०७४ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?