कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

चौडा र ढलानका काम गर्न पाल्पामा सडक बन्द 

तानसेन–जोर्ते सडक दैनिक १२ घण्टा र तानसेन बसपार्क–गौरीशंकर पूर्ण रूपमा बन्द 
माधव अर्याल

पाल्पा — निर्माण व्यवसायीले समयमा काम नसकेपछि सडक डिभिजन पाल्पाले पाल्पा–गुल्मी सडक खण्डमा दिउँसोको समयमा दैनिक १२ घण्टा सडक बन्द गरेर काम गराएको छ । 

चौडा र ढलानका काम गर्न पाल्पामा सडक बन्द 

अघिल्लो वर्ष (आव २०७९/८०) लगाएको ठेक्काको काम समयमा सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई काम गराउन दिनभर सडक बन्द गरेको हो । पाल्पा–गुल्मी सडकको लघुवादेखि जोर्ते भिरआसपास क्षेत्रमा सडक चौडा गर्ने कामका लागि दैनिक बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्मका लागि सडक बन्द गरेको डिभिजन सडक कार्यालय पाल्पाका प्रमुख बाबुराम सापकोटाले बताए ।

तानसेन–गुल्मी सडक २० दिनसम्म बन्द हुनेछ । त्यस अवधिमा सडक चौडा र ढलानको काम हुने सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले जानकारी दिए । ‘सडक चौडा गर्ने (चट्टान काट्ने) काम अघिल्लो आर्थिक वर्षकै हो,’ उनले भने, ‘गत पुससम्म म्याद थियो तर काम नसकेपछि असरसम्म म्याद थपेर काम गराएको हो ।’

यहाँ अधिकारी कार्की जेभीले अघिल्लो वर्ष लिएको ठेक्काको काम समयमा सम्पन्न नगरेको उनले बताए । यही निर्माण व्यवसायीले तानसेनदेखि रिडीसम्मका विभिन्न स्थानमा सडकमा कालोपत्रको कामसमेत लिएको छ । गत वर्ष नै सकिनु पर्ने काममा ढिलाइ गरेकाले जिल्ला सुरक्षा समितिसँगको बैठकबाट दिउँसोमै पूर्ण रुपमा सडक बन्द गरेर काम गराउन लागेको उनले बताए ।

जोर्तेदेखि लघुवासम्मको उकालो भागमा १ सय ४० मिटर सडक ढलानका लागिसमेत रञ्जित रञ्जन कन्स्ट्रक्सनले सडक बन्दको अनुमति माग गरेको छ । उसलाई ढलानको काम गर्नसमेत यही समय दिइएको सडक डिभिजनले जनाएको छ । तीन वर्ष यता जोर्ते क्षेत्रमा सडक चौडा, ढलानका लागि ६ महिना बढी सडक बन्द गरेर काम गराए पनि अझै सकिएको छैन । सडक डिभिजनले जेठ २६ गतेसम्मका लागि दैनिक दिउँसोको समयमा सडक बन्दको माग गरेको छ । जसले गर्दा गुल्मी, अर्घाखाँची, बाग्लुङलगायतमा जाने र त्यसतर्फबाट आउने यात्रुले भने सास्ती खेपेका छन् ।

तानसेनमा सहरी विकास तथा भवन निर्माण विभागले ९१ मिटर सडक ढलान र नाली निर्माणको कामका लागि १९ दिन सडक बन्द गरेर निर्माण व्यवसायीलाई काम गराएको छ । जसले गर्दा जेठ ६ गतेदेखि तानसेनको बसपार्क –ढुंगाखानी सडकको लहरेपिपल सडक पूर्णतया बन्द गरेको छ । यहाँ ढलान र नाली निर्माणका लागि पूर्णरुपमा सडक बन्द गरेको हो ।

तानसेनको बसपार्क भएर ढुंगाखानी जान सवारी साधन पाएका छैनन् । तानसेन बाइपास सडक (होलाङदी–ढुंगाखानी) सडक प्रयोग गरेर सवारी साधन पठाइको छ । यस्तै गुल्मी जाने सवारी साधन रानीमहल भएर पठाइको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चोक–चोकमा प्रहरी राखेर सवारी साधनलाई डाइभर्ट गर्नु परेको छ ।

प्रकाशित : जेष्ठ १०, २०८१ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?