कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कृष्णसारको आकर्षण

२०३२ सालमा ९ वटा कृष्णसारबाट यहाँ संरक्षण कार्यक्रम सुरु गरिएको थियो । अहिले बढेर १ सय ८७ पुगेका छन् 
मनोज पौडेल

बर्दिया — निकै मनमोहक र चित्ताकर्षक देखिन्छ– दुर्लभ वन्यजन्तु कृष्णसार । सुन्दर शारीरिक बनावट यसको विशेषता हो । लामो बटारिएको सिङ, सेतो पेट र कत्था रंगको माथिल्लो भागका रौंले तेजिलो र सुन्दर पनि देखिन्छ कृष्णसार । यो वन्यजन्तु अहिले बर्दियाको चिनारी बनेको छ । यसको अवलोकन गर्न बर्सेनि यहाँ पर्यटक आउने गरेका छन् । 

कृष्णसारको आकर्षण

बर्दिया निकुञ्जमा वन्यजन्तु अवलोकन गर्न आउने पर्यटक कृष्णसार हेर्नकै लागि सदरमुकाम गुलरिया पुग्ने गरेका छन् । बर्दिया सदरमुकाम भएर निकुञ्ज ओहोरदोहोर गर्नेले यो वन्यजन्तु अवलोकन गर्न छुटाउँदैनन् । पछिल्लो समय गुलरिया नगरपालिकाले कृष्णसार संरक्षण क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा प्रचार गर्न थालेपछि यहाँ आउने पर्यटक पनि बढेका छन् ।

बर्दियाको गुलरिया नगरपालिका–२, खैरापुर क्षेत्रमा यसको मनमोहक चहलपहल हेरेर आनन्दित बन्न सकिन्छ । यहाँ आउने जो पनि कृष्णसारको विचरण, वात्सल्य प्रेम र मनोरम गतिविधि हेरेर रोमाञ्चित बन्ने गर्छ । यसको सानो आवाजले जोकोही मोहित बन्छन् । सानो आवाजका कारण घना जंगलमा प्रवेश गरेमा कृष्णसार पुनः आफ्नो बथानमा आउन निकै गाह्रो हुने संरक्षणकर्मी बताउँछन् । सरकारले खैरापुर क्षेत्रलाई संरक्षण क्षेत्र घोषणा गरेर कृष्णसार संरक्षित गर्दै आएको छ ।

कृष्णसार स्तनधारी वन्यजन्तु हो । नदी तटीय क्षेत्रको खुला र घाँसे मैदानमा यो बस्न मन पराउने वन्यजन्तु विशेषज्ञ बताउँछन् । कृष्णसारको पोथीले एक पटकमा एउटा मात्र बच्चा पाउने र यसको औसत आयु १२ वर्ष हुने विज्ञहरूको दाबी छ । भालेको मात्र सिंह हुन्छ । भाले कृष्णसार तीन वर्ष पुगेपछि यसको टाउकामा सिङ पलाउँछ । सबैभन्दा ठूलो र शक्तिशाली मुख्य भाले वर्षभरि नै पोथी र बच्चाहरूको बगालमा रहन्छ तर अरू भाले कृष्णसार चाहिँ छुट्टै बगाल बनाएर बस्छन् । एउटा बगालमा २० देखि ३० वटा विभिन्न उमेर समूहका कृष्णसार बस्छन् । खतराको भान पाएपछि एकदम जोडले उफ्रिएर छिटो कुद्न सक्ने यिनको क्षमता हुन्छ ।

कृष्णसारको आहारा घाँस, दूबो, सिरु र काँसलगायत हुन् । बच्चाले आफैं आहार नखाउन्जेलसम्म माउले करिब एक महिना अग्लो घाँस दूबोमा लुकाएर राख्छ । त्यसबेला बच्चालाई स्याल, कुकुर, चिल, चितुवा र हुँडारले खाने जोखिम बढी हुने गरेको वन्यजन्तु विशेषज्ञ डा. हेमसागर बरालले बताए । हिन्दु धर्ममा यसलाई भगवान् श्रीकृष्णको साथीका रूपमा लिइन्छ । यो मानव बस्ती नजिकका खुला घाँसै मैदान र जंगलमा बस्न मन पराउँछ ।

२०३२ सालमा ९ वटा कृष्णसारबाट यहाँ संरक्षण कार्यक्रम सुरु गरिएको थियो । अहिले बढेर १ सय ८७ पुगेका छन् । ३४ भाले, १ सय २० पोथी र ३३ बच्चा रहेका छन् । ‘यहाँ दैनिक रूपमा कृष्णसारको गणना गरिन्छ,’ कृष्णसार संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत सूर्य खड्काले भने, ‘चोरी सिकारी र हराउने भएका कारण यसो गरिंदै आएको हो ।’ कृष्णसार हेरेर आनन्दित हुनेका लागि खैरापुर मुलुकको उत्कृष्ट गन्तव्य बनेको छ । यहाँ नजिकैबाट उनीहरूको मनमोहक चहलपहल हेरेर आल्हादित हुन सकिने उनले सुनाए ।

सरकारले २०६५ चैत ३ गते खैरापुरलाई कृष्णसार संरक्षण क्षेत्र घोषणा गरेको हो । बर्दियाको खैरापुरमा २०३२ सालदेखि कृष्णसार संरक्षण क्षेत्रको काम सुरु भएको थियो । यहाँको १ हजार ६ सय ९५ हेक्टर जमिनलाई कृष्णसार संरक्षण क्षेत्रका रूपमा राखिएको छ ।

पर्यटक लोभ्याउने ब्रान्ड

रमेश थापा

पूर्वप्रमुख संरक्षण अधिकृत, बर्दिया राष्ट्रिय निकुञ्ज

प्रकृति र संस्कृतिको संयोजन रहेको बर्दियामा पर्यटन क्षेत्रले गति लिन थालेको धेरै भएको छैन । कुनै बेला पर्यटक भनेका विदेशीमात्र हुन् भन्ने मानसिकता थियो । अहिले आममानिसमा पर्यटकबारेको धारणामा परिवर्तन आएको छ । विगतमा बर्दिया राष्ट्रिय निकुञ्ज मुख्यालय आसपास केन्द्रित पर्यटन अहिले जिल्लाव्यापी बनेको छ । यससँगै जिल्लाको पर्यटनमा विविधता आउनुका साथै पर्यटकका लागि रोजाइका क्षेत्र पनि विस्तार भएका छन् ।

बर्दियामा पर्यटन व्यवसायको औपचारिक सुरुवात राष्ट्रिय निकुञ्जसँगै रहेको ठाकुरद्वारास्थित टाइगर टप्स कर्णाली लजले गरेको हो । विकट पश्चिम नेपालमा पर्यटकीय गतिविधि लगभग शून्य रहेको अवस्थामा नेपाल सरकारको आग्रहमा सन् १९८८ देखि साबिक ठाकुरद्वारा गाविसको चिट्कैयामा टाइगर टप्स कर्णाली लज स्थापना भएको थियो ।

निकुञ्ज बाहिर सुविधासम्पन्न लज स्थापनापछि टाइगर टप्सले नै यहाँका सर्वसाधारणदेखि संरक्षणकर्मीलाई सफारी पर्यटनबारे जानकारी दिने काम गरेको हो । धेरै वर्षसम्म टाइगर टप्सले नेपाल सरकारसँग सम्झौता गरी निकुञ्जभित्रको लालमाटीनजिक टेन्ट क्याम्प सञ्चालन गरेको थियो । कर्णाली नदी किनारमा रहेको उक्त क्याम्पप्रति विदेशीको नजर पर्न थालेपछि त्यही नै प्रमुख रोजाइ पनि बन्न पुगेको थियो ।

होटल स्थापनासँगै हात्ती सफारी, जंगल ड्राइभ, जलयात्रालगायतका पर्यटकीय सेवा पनि सुरु गरेको टाइगर टप्सलाई सरकारले चिट्कैयास्थित कर्णाली लजबाट निकुञ्ज प्रवेश गर्ने र निस्किने छुट्टै प्रवेशद्वारसमेत उपलब्ध गराएको थियो । बर्दिया निकुञ्जको विश्वव्यापी ‘ब्रान्डिङ’ गरेको उक्त लज अहिले पनि सञ्चालनमा छ ।

सुरुमा बर्दिया निकुञ्जका तत्कालीन प्रमुख संरक्षण अधिकृत रामप्रीत यादवको सल्लाहमा स्थानीय खड्कबहादुर खड्का ‘प्रेमी’ले आफ्नै घरमा ‘बर्दिया जंगल कटेज’ नामकरण गरी होटल सञ्चालन गरेका थिए ।

अहिले ठाकुरद्वारामा पर्यटकीय सेवाका लागि दुई दर्जनभन्दा बढी होटल सञ्चालनमा छन् । ठाकुरद्वारा बाहिर पनि धेरै होटल निर्माण भइरहेका छन् । विभिन्न ठाउँमा होमस्टेहरू स्थापना भई सञ्चालनमा आएका छन् । हाल बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने विदेशी पर्यटकको संख्या वार्षिक सरदर ७ हजार र स्वदेशी पर्यटकको संख्या १५ हजारको हाराहारीमा छ । बर्दिया आउने अधिकांश विदेशी पर्टकको रुचि बाघ, हात्ती, गैंडालगायत वन्यजन्तु र चरा अवलोकन हुने गरेको छ ।

हात्ती सफारी बन्द भएकाले अधिकांश पर्यटक जिप सफारी र पैदल यात्रा गरेर वन्यजन्तु अवलोकन गर्छन् । वन्यजन्तु र मनोरम प्राकृतिक भू–दृश्यावलोकनका लागि निकुञ्जभित्रको बबई उपत्यका निकै आकर्षक भए पनि धेरै पर्यटकीय गतिविधि कर्णाली/गेरुवा नदीतटीय क्षेत्रमा हुने गरेको छ ।

प्रकाशित : फाल्गुन ११, २०८० १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?