कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

प्रदेश राजधानीमा बढ्दै निजी क्षेत्रको लगानी

लुम्बिनी प्रदेश राजधानी राप्ती उपत्यका सरेपछि अर्घाखाँचीको सातमारा र दाङको भालुवाङ देउखुरीमा होटल र कृषिमा लगानी बढ्दै
वीरेन्द्र केसी

देउखुरी, दाङ — राप्ती उपत्यकालाई लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा गरेपछि स्थानीय नारायण केसीले अर्घाखाँची सातमारामा सुविधासम्पन्न होटल सञ्चालन गरेका छन् । राजधानीले अवसरका ढोका खुलेको भन्दै उनले एक करोड रुपैयाँ लगानीमा आरामदायी १६ कोठा भएको सूर्य होटल सञ्चालन गरेको बताए । प्रदेश संसद चलेका बेला सांसद होटल बुकिङ गरेरै बस्छन् ।

प्रदेश राजधानीमा बढ्दै निजी क्षेत्रको लगानी

देउखुरीदेखि भालुवाङ नजिकैको सातमारा र भालुवाङ ६ किलोमिटर दूरीमा छ । सांसद, कर्मचारी, प्रदेशमा योजना माग्न आउने जनप्रतिनिधि, दलका नेतालगायतले होटलमा बस्ने, भोजन गर्ने उनले बताए । ‘राजधानीले गर्दा सांसद, कर्मचारीसहित दलका नेताले खाना, खाजा र कोठा बुकिङ गरेर बस्दा बिजनेस बढेकै छ,’ उनले भने, ‘राजधानी तोक्नु अघि सांसद, नेता र कर्मचारी हाम्रा ग्राहक थिएनन् ।’

मन्त्रालयमा काम लिएर राजधानी आउजाउ गर्नेले व्यवसायको रौनक बढाइदिएका छन् । यहाँ बस्नलाई शीतल हावापानी, दाङको भालुवाङ र अर्घाखाँची सातमारा बिचमा राप्ती नदी दुवैतिरका अग्ला पहाडमा हरियाली सुन्दर दृश्य भएकाले यो स्थान बस्ने खानेको रोजाईमा पर्ने उनले बताए ।

‘होटलमा आएका पाहुना तथा पर्यटकलाई राप्ती नदी, राप्ती पुल, जंगलसहितको दृश्यले मोहित बनाउँछ । यहाँ पर्यटकको पहिलो रोजाइ राप्ती पुलमा तस्बिर खिच्ने र टिकटक बनाउने हुन्छ,’ केसीले भने, ‘सामाजिक सञ्जालमा राखिने तस्बिर र भिडियोले यस क्षेत्रको आकर्षण बढाएको छ ।’ सरकारी गाडी चढ्नेले पनि रोकेरै तस्बिर खिच्छन्, त्यसैले यहाँको महत्त्व बढ्दै गएको उनको ठम्याइ छ ।

भालुवाङ पहिलेदेखि नै यसक्षेत्रको व्यापारिक बजार हो । पहिलेदेखि चलहपहल हुने यस स्थानमा सांसद, दलका नेता/कार्यकर्ता, सरोकारवाला, कर्मचारी ग्राहकको रुपमा थपिएकाले राजधानी आएपछि व्यवसाय बढेको व्यापारी बताउँछन् । राजधानी उपत्यका अन्तर्गत राप्ती गाउँपालिकाका ९ वटै वडा, गढवा गाउँपालिकाको १, २ र ३ सहित अर्घाखाँचीको शीतगंगा नगरपालिका ८ र ९ वडाको क्षेत्रफल पर्छ ।

राप्ती उपत्यकालाई आधुनिक सहरको रुपमा विकास गर्ने भन्दै ३६ महिनादेखि प्रदेश सरकारले जग्गा रोक्का गरी राखेको छ । लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणले आधुनिक सहरका लागि अध्ययनसहितको कामको प्रक्रिया अघि बढाएको जनाएको छ । केही युवा व्यवसायी आधुनिक सहर निर्माणपछि ठूला होटल खोल्ने योजनामा छन् । आधुनिक सहर विकासमा सम्भावनाका ढोका खुल्को भन्दै यस क्षेत्रका व्यवसायी र स्थानीय उत्साहित छन् ।

उद्योग, व्यवसाय, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगार, होटल व्यवसाय जस्ता क्षेत्रमा विभिन्न विकासका सम्भावना देखिएको राप्ती उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सुरज खड्काले बताए । ‘प्रदेश राजधानी आसपास क्षेत्रमा औद्योगिक क्षेत्र विस्तार हुने आशामा हामी छौं, प्रदेश सरकारका सबै कार्यालय यहाँ अझै पूर्ण छैनन्, मन्त्रालयका पूर्वाधार बन्दैछन्,’ उनले भने, ‘पूर्ण भएपछि विस्तारै विकास होला । राजधानी आएपछि होटलहरुमा लगानी भने धमाधम बढ्दो छ । कारोबार वृद्धि भएको छ ।’ ठूला होटल सञ्चालनले यस क्षेत्रमा दूध, तरकारी, मासुका लागि लोकल र बोइलर कुखुरासहित खसीबोकाको माग बढेकाले उत्पादनमा वृद्धि हुँदै गएको उनले बताए । यसले किसानलाई समेत प्रभाव पारेको छ ।

पूर्वपश्चिम राजमार्गमा आउजाउ गर्नेको खाना, खाजा खानेको रोजाइमा भालुवाङ र सातमारा पर्छ । त्यसैले होटल व्यवसायमा ग्राहक थपिएका छन् । राजधानी आउनुअघि भालुवाङ क्षेत्रमा ठूला क्षमताका होटल थिएनन् । अहिले होटलहरु थपिने र क्षमता वृद्धि हुने क्रम बढ्दो रहेको उनले बताए ।

राजधानी घोषणा हुनु अगाडी नै सातमारामा होटल एभरल्याण्ड सञ्चालनमा थियो । अहिले प्रदेश सरकार र अन्य संघसंस्थाका विभिन्न कार्यक्रम भैरहेका छन् । ‘कार्यक्रममा मुख्यमन्त्री, पूर्वमुख्यमन्त्री, मन्त्री, सांसद दलका नेता आउँछन् । दिनहुँजसो चलहपहल बढ्दो छ,’ होटल सञ्चालक दामोदर खनालले भने, ‘सेवा थपेर विस्तार गरेका छौं । व्यवसाय बढ्दो छ ।’

राजधानीले यस क्षेत्रको बिजनेसलाई हौस्याएको उनले बताए । होटलमा धेरै पाहुनाले यहाँको रैथाने उत्पादनको खानाका परिकार रोज्छन् । ‘स्थानीय उत्पादन तरकारी, मासुजन्य परिकार, कोदो, फापरको रोटी तयार गर्छौ,’ उनले भने, ‘हामीले स्थानीय उत्पादन किनेरै विभिन्न खानाका परिकार बनाउँछौं । स्थानीय खाजा, खाना नै पाहुनाको पहिलो रोजाइमा पर्छ ।’

होटलमा पाहुनाले स्थानीय उत्पादनका खानाका परिकार रुचाएपछि अर्घाखाँची र दाङका किसानबाट लोकल कुखुरा, अण्डा, खसीबोका, बंगुर, भैसीको दूध, मकै, गहुँ, कोदो, फापर, जौं, तरकारी लगायतका वस्तु खरिद गर्ने उनले बताए । ‘यसले किसानलाई उद्यमी बनाएको छ,’ उनले भने, ‘उनीहरुको पनि राजधानी आएपछि आम्दानी बढेको छ । कृषिबाटै आफ्नो आम्दानी वृद्धि हुने देखेपछि यस क्षेत्रका किसान उत्साहित छन् ।’

यस क्षेत्रमा थारु समुदायका महिलाले आफुले फलाएको तरकारी ढकियामा राखेर होटलमा बिक्री गर्न ल्याउँछन् । जलजला होटलका सञ्चालक जितबहादुर घर्तीमगरको होटलमा सागको मुठा, तरकारी ल्याइदिने नियमित किसान छन् । ‘राजधानी आएपछि मेरोमा रोल्पा, रुकुम र प्युठानका सांसद संसद चल्दा होटलमा कोठा बुकिङ गरेर बस्छन्,’ उनले भने, ‘अरु बेला पनि नेता, सांसद, जनप्रतिनिधिले कोठा बुकिङ गर्छन् । व्यापार बढ्को छ ।’

राप्ती उपत्यका भित्र दाङ र अर्घाखाँची जिल्ला पर्छ । पहाडमा उत्पादन भएको तरकारी, मासु र खाद्यवस्तु खानलाई स्वादिलो हुने भएकाले भरसक अर्घाखाँचीबाट लोकल कुखुरा ल्याएर विभिन्न परिकार बनाइने उनले बताए । ‘गाडी रिजर्भ गरेर पूर्वपश्चिम राजमार्गमा आउजाउ गर्ने यात्रुले यहाँ खाना र खाजा खान छिर्ने गर्छन्,’ उनले भने, ‘स्थानीय परिकारको खाना र विशेष गरी लोकल कुखुरा, कालिजको झोल, फापरको रोटी उनीहरुको रोजाइमा पर्छ ।’

अर्घाखाँची जलुकेका युवा रमेश खड्काले गाउँमै बंगुर र लोकल कुखुरा फाम खोलेका छन् । पछिल्लो समय कुखुराको माग बढ्कोे उनले बताए । ‘राजधानी आएपछि होटल तथा फ्रेस हाउसमा बंगुर र कुखुराको माग बढ्यो,’ उनले भने, ‘कुखुराको संख्या थपेको छु, आम्दानी झण्डै दोब्बर भएको छ ।’ यही कमाइले छोराछोरीको पढाइ र घर खर्च धानेको छु ।’

राजधानी घोषणा हुन अघि नै भालुवाङमा सञ्चालनमा रहेको होटल पौवाले क्षमता र सेवा विस्तार गरेको छ । मन्त्रालय र विभिन्न संघसंस्थाका कार्यक्रम, तालिम, गोष्ठी धेरै पौवामा हुन्छन् । यहाँ दैनिक चलहपहल बढ्दो छ । राजधानी देउखुरीदेखि करिब ३० किमी पश्चिम क्षेत्रको लमही र ७० किमी घोराहीमा पनि राजधानीलाई लक्षित गरी ठूला होटल खुलेका छन् ।

बुटवलबाट राजधानी दाङमा सर्ने कुरा चल्दै गर्दा लहमीमा होटल मन्त्र खुल्यो । सञ्चालक ऋषि खनालले राजधानी आएपछि व्यवसाय वृद्धि भएको बताए ।

प्रकाशित : कार्तिक ९, २०८० १४:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?