गुरुयोजनाको गुरुमन्त्र

मनोज पौडेल

कपिलवस्तु — गुरुयोजना लागू भएको ४० वर्षपछि लुम्बिनी विकास कोष पूरा गर्ने चटारोमा देखिएको छ । मुलुकभित्र टुक्रे ठेक्कामा काम सञ्चालन गर्दा सफलता नमिलेको भन्दै गुरुयोजना पूरा गर्न ग्लोबल टेन्डरको तयारी गरेको छ ।

कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्रले गुरुयोजना चार वर्षभित्रै पूरा गर्नगरी तयारी थालेको बताए ।

‘१० वर्षमा सकिनुपर्ने थियो, ४० वर्ष पूरा हुँदा पनि अधुरो छ,’ उनले भने, ‘पहिलो प्राथमिकता सन् १९७८ मा टांगेले बनाएको गुरुयोजना पूरा गर्नेछ ।’ अहिलेसम्म ७५ प्रतिशत काम भएको छ । बाँकी कामको विस्तृत सर्वे भएको छ । गुरुयोजना पूरा गर्न ६ अर्ब रुपैयाँको खाँचो रहेको प्राविधिकहरूले जनाएका छन् । उक्त रकम सरकार, कोष र नेपाली सहयोगी दाताबाट जुटाउने लक्ष्य छ ।

छिट्टै अन्तर्राष्ट्रिय स्तरबाट योग्य निर्माण कम्पनी छनोटका लगि ठेक्का निकालिने उनले बताए । ‘एउटै कम्पनीलाई ठेक्का दिँदा अनुगमन, मूल्यांकन र निर्देशन दिन सकिन्छ,’ उनले भने, ‘सक्षम कम्पनीका लागि ग्लोबल बिड गर्दैछौं ।’ शाक्यपुत्रले आफ्नो दोस्रो प्राथमिकता बृहत्तर लुम्बिनी विकासको अवधारणा बनाउने रहेको बताए ।

भगवान् गौतम बुद्ध लुम्बिनीमा जन्मिएका थिए भनेर अब लुम्बिनीको मात्रै विकास गरेर पुग्दैन । बुद्धले २९ वर्षको महत्त्वपूर्ण युवावस्था बिताएको प्राचीन कपिलवस्तु (तिलौराकोट), कनकमुनि, क्रकुछन्द बुद्धको जन्मस्थल निग्लिहवा, गोटिहवा, शाक्य वधस्थल सगरहवा, बुद्धको मावली देवदह र अस्तुधातु रहेको रामग्रामको सँगसँगै विकास गरेर लैजान बृहत्तर लुम्बिनी विकासको अवधारणा जरुरी रहेको उनले बताए । ‘हुर्केबढेको, शुद्धोदनको राजप्रासाद र बुद्धसँग सम्बन्धित धेरै ठाउँ कपिलवस्तुमा छन्,’ उनले भने, ‘तसर्थ, यी तीनै ठाउँको एकीकृत विकास गरेर साँच्चै शान्ति, सद्भाव, करुणा र मैत्रीभावको आस्थाको केन्द्र बनाई बृहत्तर लुम्बिनी विकासको अवधारणा सार्थक गराउँछौं ।’

उनका अनुसार प्रोफेसर टांगेले बनाएको गुरुयोजनाका कारण लुम्बिनी यो रूपमा आएको हो । ‘अब बृहत्तर लुम्बिनी विकास गुरुयोजना बनाउनुपर्छ,’ उनले भने, ‘पर्यटन मन्त्रालयले पनि भर्खर निर्णय गरेको छ ।’ राष्ट्रिय योजना आयोगले पनि पञ्चवर्षीय योजनामा बृहत्तर लुम्बिनी विकास गुरुयोजना समावेश गरेको छ । ‘विदेशीले कोरिदिएको भन्दा हामी नेपाली विज्ञहरू बसेर खाका कोरौं । बरू, अन्तिममा विदेशी विज्ञ चाहिने भए थोरै सहयोग लिउँला । गुरुयोजना बनाएर सबैसँग सहयोग जुटाएर ग्लोबल बिड गरी काम थाल्ने योजना बनाएको छु । मेरो योजनामा सबै सहमत छन्,’ उनले भने, ‘अब मन्त्रालयको अगुवाइमा त्यो काम सुरु हुन्छ ।’

कपिलवस्तुको मुख्य पुरातात्त्विक स्थल तिलौराकोट निकै संवेदनशील क्षेत्र मानिएको छ । पुरातात्त्विक अध्ययन र अनुसन्धान पूरा हुन सकेको छैन । त्यस कारण चाहेर पनि काम गर्न नसकेको उनले बताए । ‘काम गर्न खोज्यो, पुरातत्त्व विभागले रोक्छ । त्यही भएर अब एक/दुई वर्षमा पुरातात्त्विक अनुसन्धान पूरा भएपछि विकासका काम गर्न बाटो खुल्छ,’ ३२ वर्षीय कोषका उपाध्यक्ष शाक्यपुत्रले भने, ‘तर, रामग्रामको अवस्था त्यस्तो छैन । त्यहाँको पुरातात्त्विक अनुसन्धान गत वर्ष पूरा भयो । लुम्बिनी विकास कोषले डुर्‍हाम विश्वविद्यालयको प्राविधिक सहयोगमा पुरातात्त्विक ठाउँ पहिचान गरिसकेको छ ।’ पुरातात्त्विक भग्नावशेष रहेको ठाउँमा जग्गा अधिग्रहण गर्ने योजना रहेको उनले सुनाए ।

स्तुपको एक किमि वरपर १ सय १४ बिघा जग्गा आवश्यक छ । २६ बिघा कोष र सरकारी जग्गा छ । अरू अधिग्रहण गर्नुपर्छ । ‘बजेटका लागि सरकारलाई अनुरोध गरेका छौं,’ शाक्यपुत्रले भने, ‘अब लुम्बिनीमा विहार बनाउन आउनेलाई थोरै सहुलियत दिएर रामग्रामतिर पठाउँछौं ।’ कोषले त्यहाँ मण्डला आकारमा कमलको फूलजस्तै स्तूप बनाएर आकर्षण थप्ने गरी काम अघि बढाउँदै गरेको उनले बताए ।

सन् २०२२ सम्म थोरै भए पनि लुम्बिनी, कपिलवस्तु र रामग्राममा परिवर्तन देखिने उनले बताए । चार वर्षमा लुम्बिनी विकासको गुरुयोजना पूरा हुन्छ । बृहत्तर लुम्बिनी विकास कोषको गुरुयोजना बनाएर कार्यान्वयन चरणमा पुग्छ । लुम्बिनीमा शान्ति र बौद्धका गतिविधि बढाउन तत्कालै अन्तर्राष्ट्रिय भिक्षु अध्ययन केन्द्र सञ्चालन र प्राकृतिक वातावरण दिन विभिन्न गतिविधि सञ्चालन गर्ने योजना छ ।

त्यस्तै करिब दुई सयभन्दा बढी पुरातात्त्विक, ऐतिहासिक र सांस्कृतिक स्थल रहेको कपिलवस्तुमा दक्षिण एसियाली पुरातात्त्विक अध्ययन केन्द्र र लुम्बिनीमा संयुक्त राष्ट्रसंघका महासचिव स्व. उथान्तका नाममा शान्ति र द्वन्द्व निवारण केन्द्र स्थापना गर्ने पनि योजना बनाइएको छ । द्वन्द्व निवारण केन्द्रको खाका कोर्ने काम अन्तिम चरणमा पुगेको छ ।

लुम्बिनीमा आउने विदेशी पर्यटक २२ देखि ४८ मिनेट मात्र बस्ने गरेका छन् । त्यस कारण लेजर लाइटबाट राति आकाशमा भगवान् गौतम बुद्धको जीवनी देखाउने योजना बनाएको कोषका उपाध्यक्ष शाक्यपुत्रले बताए । ‘कम्तीमा एक रात भए पनि बसाइँ लम्ब्याउन सकिन्छ कि भनेर २८ देखि ३० करोडको लागतमा अत्याधुनिक प्रविधिको योजना सञ्चालनको तयारीमा छौं,’ उनले भने, ‘त्यस्तै शान्ति, करुणा र मुदिताका गतिविधि बढाएर लुम्बिनीमा सबैको आकर्षण बढाउने तयारी पनि थालेका छौं ।’

पहिलोपटक शेरबहादुर देउवा सरकारको पालामा उपाध्यक्षमा नियुक्त भएका उनलाई वर्तमान केपी ओली सरकारले बर्खास्त गरेको थियो । ओली सरकारले आफूलाई पुन: नियुक्ति गर्नुमा शान्तिप्रति समर्पित भएर बुद्धस्थलको विकासका लागि भिजन दिन सक्नु नै प्रमुख कारण रहेको उनले बताए । ‘प्रधानमन्त्री केपी ओली र मन्त्री रवीन्द्र अधिकारीसँग दुई महिनाभन्दा बढी काम गरें । लुम्बिनीमा बुद्ध जयन्ती र दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन गरें,’ उनले भने, ‘मेरो काम गराइ, रुचि र बानीव्यहोरा उहाँहरूलाई मन पर्‍यो । मसँग कार्ययोजना माग्नुभयो । मैले प्रारम्भिक २०२२ पेस गरें । उहाँहरू प्रभावित हुनुभयो र मलाई पुन: जिम्मेवारी दिनुभयो ।’

भैरहवामा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय विमानस्थलको भरपूर उपयोग लुम्बिनीले गर्न अहिलेदेखि योजना बनाउँदैछन् । चीनको प्रमुख व्यापारिक केन्द्र छेन्दु र ल्हासाबाट सोझै बुद्धस्थल भैरहवालाई हवाई यात्राले जोड्ने अभियानमा कुराकानी चलाएको उनले बताए । त्यस्तै, भारतको बौद्धगयादेखि भैरहवामा विमान सञ्चालन गर्न कुराकानी थालिएको छ । बैंकक–भैरहवा, कोलम्बो–भैरहवा र रंगुन–भैरहवा पनि विमान सञ्चालन गर्न मन्त्रालय, कोष र सरकार आ–आफ्नो माध्यमबाट लागेको उनले बताए । ‘बौद्ध धर्मावलम्बीहरू सीधै बुद्धस्थल उत्रन सक्ने वातावरण बनाउन लागेका छौं,’ उनले भने, ‘यसले लुम्बिनीको महिमा अझ व्यापक बन्नेछ ।’

प्रकाशित : श्रावण २४, २०७५ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्

भाषा शुद्धीकरणको सहर

‘आर्टिस्टहरू तालिम पाउँदा निकै प्रभावित भएका छन् । अबका बोर्डहरू शुद्ध हुनेछन् । विस्तारै सहर भाषा शुद्धतामा अगाडि बढ्नेछ’
दुर्गालाल केसी

दाङ — घोराहीलाई भाषा शुद्धीकरणको नमुना सहर बनाउने अभियान थालिएको छ । यसका लागि सार्वजनिक ठाउँमा टाँगिएका साइनबोर्ड र होर्डिङ बोर्डको भाषा सच्याउन लागिएको हो । घोराहीस्थित सर्वोदय पुस्तकालय तथा वाचनालयले भाषाविज्ञको एक टोली बनाएर सुधार्ने अभियान थालेको छ ।

भाषा शुद्ध बनाउन साइनबोर्ड लेखकलाई नै प्रशिक्षण दिइएको छ । बजार क्षेत्रमा टाँगिएका साइनबोर्डको भाषा शुद्ध बनाउन स्थलगत अवलोकन र अध्ययन भइरहेको अभियान उपसमिति संयोजक पद्मप्रसाद शर्माले बताए । ‘लेखिने र बोलिने भाषा फरक भयो । व्याकरण बिग्रियो, यसमा कसैको ध्यान नजाने भयो,’ उनले भने, ‘बजारका खुला ठाउँमा देखिने साइनबोर्डबाट शुद्धीकरण अभियान थालिनेछ । यसले सहरलाई भाषा शुद्धीकरणमा नमुना बनाउन सहयोग गर्नेछ ।’

हरेक पसलअगाडि टाँगिएका बोर्डको अध्ययन गरी भाषिक शुद्धता नभए सच्याउन पसल सञ्चालकलाई सुझाव दिने गरिएको छ । भाषा शुद्धीकरण अभियानमा नेपाली विषयका जानकार टीकाराम उदासी, अम्बिकाप्रसाद डाँगी, सुनिल पोख्रेल, राजेन्द्र गौतम, चन्द्रबहादुर थापालगायत खटिएका छन् । स्थलगत अवलोकनका क्रममा ९० प्रतिशत बोर्डमा भाषिक त्रुटि देखिएको अभियानका सदस्य उदासीले बताए । ‘हरेक साइनबोर्डका शब्दमा गल्ती भेटिएको छ । सच्याउन लिखित रूपमै सुझाव दिइरहेका छौं,’ उनले भने, ‘यसलाई सबैले सकारात्मक रूपमा लिएका छन् । यो प्रयासले सबैलाई उत्साहित बनाएको छ ।’

घोराहीलाई भाषिक शुद्धताको सहर बनाउन अभियान थालिएको पुस्तकालय व्यवस्थापन समिति अध्यक्ष सुशील गौतमले बताए । ब्यानर र साइनबोर्ड लेख्ने कलाकारलाई प्रशिक्षण दिँदा झनै प्रभावकारी भएको उनले बताए । ‘अधिकांश सार्वजनिक सन्देश साइनबोर्डमार्फत सम्प्रेषण हुन्छ । साइनबोर्ड शुद्ध हुँदा भाषामा धेरै सुधार आउँछ,’ उनले भने, ‘आर्टिस्टहरू तालिम पाउँदा निकै प्रभावित भएका छन् । अबका बोर्डहरू शुद्ध हुनेछन् । विस्तारै सहर भाषा शुद्धतामा अगाडि बढ्नेछ ।’ साइनबोर्डपछि आमलेखन क्षेत्रमा सुधार ल्याउन बहस, अन्तक्र्रिया र प्रशिक्षण थालिने उनले बताए ।

भाषा शुद्धीकरण अभियानले नगरको इज्जत र प्रतिष्ठा बढाउने घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले बताए । ‘भाषामा धेरैको ध्यान जाँदैन तर भाषा बिग्रियो भने यसले धेरै नकारात्मक अर्थ दिन्छ । भाषा शुद्धीकरण अभियानले स्थानीय सरकारको ध्यान तानेको छ,’ उनले भने, ‘हामी पनि यो अभियानमा सहयोगी भूमिकामा छौं । भाषाविज्ञहरू नै अघि सरेकाले सुधार हुनेमा आशावादी छौं ।’

प्रकाशित : श्रावण २४, २०७५ ०९:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्