कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रहरी–स्थानीय सहकार्य

लागूपदार्थ नियन्त्रणमा प्रभावकारी प्रतिफल
माधव ढुंगाना

भैरहवा — प्रहरीसँग सहकार्य गर्दै सीमावर्ती बेलहियावासीले सञ्चालन गरेको लागूपदार्थ नियन्त्रण अभियान प्रभावकारी बनेको छ । अभियानपछि लागूपदार्थ सेवन र खरिद गर्न भारतीय सीमासम्म पुग्ने नेपाली दुव्र्यसनीको संख्यामा पनि कमी आएको छ ।

प्रहरी–स्थानीय सहकार्य

विभिन्न स्थानका दुव्र्यसनीले सुनौली नाका प्रयोग गर्न थालेपछि माघ पहिलो साता बेलहिया क्षेत्रका बासिन्दा प्रहरीसँग सहकार्य गर्दै नियन्त्रण अभियानमा जुटेका हुन् । ‘यो अभियान निकै प्रभावकारी बन्यो,’ अभियानका संयोजक तथा स्थानीय विजय गुरुङले भने, ‘लागूपदार्थ सेवनकर्ता र कारोबारी पहिचान गर्दै नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाउन थालेपछि शिथिलता आएको हो ।’

उनका अनुसार स्वदेशी, विदेशी पर्यटकको आवागमन र दुई मुलुकबीचको व्यापारिक कारोबारले गुल्जार हुने सुनौली नाका लागूपदार्थ दुव्र्यसनी र कारोबारीको अखडा बनेको थियो । धेरै ठाउँमा आमा समूह र अभिभावक आएर सुनौली नाकाको दशगजा सिमानामा आफ्ना सन्तति दुव्र्यसनमा फसेको भन्दै विरोध गर्न थालेपछि अभियान सुरु भएको उनले बताए ।

औषधि पसलका नाममा भारतको सुनौलीमा खोलिएका दुई दर्जनभन्दा बढी पसलमा चिकित्सकको प्रेस्क्रिप्सनबिना डाइजापाम, फेनारगन, नुफ्रिन, स्पास्मो, नाइट्रोसन र नाइट्रोभेट नामका लठ्याउने प्रकृतिका औषधि उपलब्ध गराइन्छ । दुखाइ कम गर्न वा शल्यक्रियाका बेला प्रयोग गरिने यी औषधि सिरिन्जबाट पनि दुव्र्यसनीलाई पसलेले लगाइदिने गर्छन् । खैरो र सेतो हिरोइनको पनि यस नाकाबाट कारोबार हुन्थ्यो ।

अभियानका सदस्यसचिव तथा बेलहियाका प्रहरी निरीक्षक वीरबहादुर थापाले अभियान सञ्चालनको सुरुमा प्रतिदिन सरदर ४० दुव्र्यसनी भेटिएकामा हाल ५ जनासम्म फेला पर्ने बताए । ‘अभियान सञ्चालनपछि असारको पहिलो सातासम्म यस नाकामा आएका १ हजार २ सय ३४ सेवनकर्ता चेकजाँचमा परेका छन्,’ उनले भने, ‘यसमध्ये २ सय ३१ जनालाई अभिभावक बोलाएर जिम्मा लगाइएको र ७ सय २ लाई सम्झाइबुझाई परामर्श गरिएको छ ।’ लागूपदार्थसहित फेला परेका २ सय ७४ लाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरीमा पठाइएको र २७ जनालाई सुधार केन्द्रमा राखिएको उनले बताए ।

‘सहकार्यले यस नाकामा लागूपदार्थ नियन्त्रण मात्रै नभएर नागरिक र प्रहरीबीचको सम्बन्ध पनि सुमधुर बनेको छ,’ थापाले भने, ‘सीमाक्षेत्रमा लागूऔषध नियन्त्रणका साथै सीमा अपराध नियन्त्रण र अन्य चेतनामूलक कार्यक्रम सञ्चालनमा पनि नागरिकसँगको सहकार्य प्रभावकारी बनेको छ ।’

अभियानअन्तर्गत भैरहवा भन्सार परिसरका सडक किनारामा क्याम्प स्थापना गरेर लागूऔषध सेवनकर्ता र कारोबारीबारे सूक्ष्म निगरानी गरिएको थियो । त्यसका साथै लागूपदार्थको सेवन तथा कारोबारले पार्ने असरबारे विभिन्न विद्यालय र समुदायमा जनचेतना फैलाउने, अभिभावकलाई सचेत बनाउनेलगायत कार्य सञ्चालन गरिएको थियो । अभियानलाई प्रभावकारी गराउन नेपाल र भारतका २१ विभिन्न संघसंस्थाले आपसमा हातेमालो गरेर अघि बढेका थिए ।

प्रकाशित : श्रावण २४, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?