कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुख्यमन्त्रीद्वारा वैकल्पिक ट्रयाक अवलोकन

पाल्पा — सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबाको वैकल्पिक ट्रयाक प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले शुक्रबार अवलोकन गरेका छन् । तिनाउ ३ झुम्साबाट चौकीभञ्ज्याङ हुँदै चरंगे धागो कारखाना पुग्ने सडकको मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा सदस्य, रूपन्देही र पाल्पाका जनप्रतिनिधिसमेतले अवलोकन गरेका हुन् ।

मुख्यमन्त्रीद्वारा वैकल्पिक ट्रयाक अवलोकन

मुख्यमन्त्री पोखरेलले अवलोकनपछि आगामी वर्षमा दोहोरो सवारी सञ्चालन हुन सक्ने गरी नयाँ ट्रयाकको स्तरोन्नति गर्ने बताए ।

‘सिद्धबाबा खण्डको वैकल्पिक मार्गका रूपमा झुम्सा–चरंगे नयाँ ट्रयाक खुलेको छ,’ उनले भने, ‘यस सडकलाई धेरैले प्रयोग गर्ने बनाउनुपर्छ ।’ सिद्धबाबा क्षेत्रमा भविष्यमा सुरुङमार्ग बनाउने योजना अघि बढेको छ । सिद्धबाबा क्षेत्रमा सडक अवरुद्ध हुँदा यही मार्गमार्फत यात्रा गर्न सकिने गरी सडक विस्तार गर्ने उनले बताए । पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, बागलुङलगायत जिल्लालाई सहज हुने गरी आउने आर्थिक वर्षमा काम हुने उनले बताए ।

प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले सिद्धबाबा सडकको स्तरोन्नति हुँदा पनि वैकल्पिक सडक आवश्यक पर्ने भएकाले यसको स्तरोन्नति गर्न लागिएको बताए । नयाँ ट्रयाकले सिद्धबाबा क्षेत्रको ट्राफिक जाम कम गर्ने पनि उनले बताए । ‘यही सडकबाट मालवाहक सवारी पठाउन सकियो भने बुटवलको ट्राफिक जाम पनि कम हुन्छ,’ उनले भने, ‘सिद्धार्थ राजमार्गको विकल्प नभई स्तरोन्नतिका लागि वैकल्पिक सडक भएको बुझनुपर्छ ।’

जिसस सभापति दयाराज बस्यालले ८० लाख रुपैयाँको लागतमा वैकल्पिक मार्गको ट्रयाक खोल्न सकिएको बताए । तिनाउ, बगनासकाली, रिब्दीकोट गाउँपालिका र तानसेन नगरपालिकाले ट्रयाक खोल्न लगानी गरेका छन् । रूपन्देहीको देवदह नगरपालिकाले १० लाख सहयोग गर्दैछ । तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले सिद्धबाबामा अकालमा धेरैले ज्यान गुमाउनुपर्ने अवस्थामा कमी आउने बताए । इन्जिनियर अधीश ढकालका अनुसार अहिले ५ किलोमिटर लम्बाइमा ६ मिटर चौडाइ रहेको नयाँ ट्रयाक खोलिएको हो ।

प्रकाशित : असार ९, २०७५ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?