२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

चट्याङ लागेर लमजुङमा ९ वटा भैंसी मरे

आश गुरुङ

लमजुङ — लमजुङको मर्स्याङ्दी गाउँपालिका ५, तल्लो चिप्लाको लेकमा चट्याङ पर्दा ९ वटा भैंसी मरेका छन् । स्थानीय कालबहादुर गुरुङले पालेको भैंसी चराएर गोठतर्फ फर्कांउँदै गर्दा भैंसीमाथि एक्कासी चट्याङ बज्रिएको हो । १४ वटा भैंसी रहेकोमा ५ वटा अलि अगाडि गएका कारण जोगिएको स्थानीय रासी गुरुङले बताए ।

चट्याङ लागेर लमजुङमा ९ वटा भैंसी मरे

उनका अनुसार शनिबार दिउँसो २ बजेतिर जंगलबाट चराएर फर्किने क्रममा बाटोमा हिँड्दाहिँड्दै चट्याङ लागेर भैंसी मरेका हुन् ।

गाउँबाट १ घण्टा लाग्ने ठाउँ नम्क्युमा कालबहादुरको गोठ थियो । गोठबाट केही पर थोरै माथि खोल्म क्हों भन्ने ठाउँमा भैंसी चराएर फर्किने क्रममा एक्कासी चट्याङ परेको हो । चट्याङ पर्दा चराएर ल्याएको भैंसी आफ्नै अगाडि मरेको कालबहादुरले बताए । उनका अनुसार चट्याङ लागेर एउटा दुहुनो भैंसी, ४ वटा ब्याउनी (गर्भिणी) भैंसी र ४ वटा पाडापाडी मरेको छ ।

घटनाबारे जानकारी पाएपछि गाउँले त्यहाँ गएका छन् । प्रहरी चौकी बाहुनडाँडाका असई रमेश श्रेष्ठले घटनास्थलमा पुगेर प्रहरी फर्किएको बताए । उनका अनुसार करिब ७ लाख रुपैयाँको क्षतिको विवरण प्राप्त भएको छ । ‘गोठाला बिहान भैंसी चराउन गोठबाट जंगलतिर जानुभएछ । फर्किने क्रममा बाटोमै चट्याङले भेट्टाएर पाडापाडीसहित ९ वटा भैंसी मरेछन्,’ उनले भने ।

सानै उमेरदेखि गोठ बस्दै दूध, घिउ बिक्री गरी परिवारको पालनपोषण गर्दै आएका कालबहादुरको भैंसी चट्याङले मारिदिएपछि उनी संकटमा परेको रासीले बताए । ‘आम्दानी केही छैन । त्यही भैंसीपालन हो । एकैचोटी ९ वटा भैंसी ठहरै भएपछि बोल्दै नसक्ने अवस्थामा छन्,’ उनले भने ।


प्रकाशित : वैशाख ८, २०८१ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?