कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३२

लिटरेचर फेस्टिभलमा प्रकृति र पर्यटनको चिन्ता

दीपक परियार

पोखरा — साहित्य, संगीत, सिनेमा मात्रै होइन राजनीति, अर्थतन्त्र, शिक्षा, प्रकृति, पर्यटनको सेरोफेरोमा पनि बहस गर्दै ११ औं नेपाल लिटरेचर फेस्टिभल सोमबार सकिएको छ । वुकवर्म फाउन्डेसनको आयोजनामा फेवाताल किनारमा फागुन ३ बाट सुरु भएको फेस्टिभलमा ५९ विभिन्न सत्रमा २ सय ५० वक्ता छलफलमा जुटे ।

लिटरेचर फेस्टिभलमा प्रकृति र पर्यटनको चिन्ता

फेस्टिभलको अन्तिम दिन ‘नेपाली परम्पराको स्वाद’ सेसनमा ‘द नेपाल कुकबुक’ पुस्तककी लेखक रोहिणी राणासँग अनिलकेशरी शाहले संवाद गरे । रोहिणीले संसार घुमेर थरीथरीका स्वाद चाखे पनि दाल, भात, तरकारीको स्वादको तल मेटाउन नसकेको सुनाइन् ।

यसअघि उनको अंग्रेजी भाषाको ‘द राणा कुक बुक रेसिपिज फ्रम द प्यालेसेस अफ नेपाल’ पुस्तकमा जंगबहादुर राणादेखि मोहनशमशेर राणासम्मका९ प्रधानमन्त्रीको भान्छामा पाक्ने खानाका परिकारबारेको पाक कला समावेश थियो । पूर्व बैंकरसँगको गफमा रोहिणीले बाल्यकालमा खाना पकाउने ज्ञान नै नभएकोदेखि पाक शिक्षाको पुस्तक लेख्दासम्मका राज खुलाइन् ।

‘अभिनयको फरक अन्दाज’ सेसनमा निर्देशक एवं नाट्यकर्मी अनुप बराल र नायिका सृष्टि श्रेष्ठसँग सुरज सुवेदीले वार्तालाप गरे । उक्त सेसनमा बरालले एउटा इमानदार अभिनेता नै संसारको सबैभन्दा झुटो मान्छे हुने बताए । आफूभन्दा फरक पात्रको रुपमा उभिएर दर्शकलाई त्यसमा विश्वास गराउन सक्नु एउटा कुशल अभिनेताको गुण रहेको उनको तर्क थियो । फिल्ममा अभिनय गर्दा आफूले निर्देशकको भिजनमा काम गरिरहेको छु भन्ने कुरा सधैं याद राख्ने अभिनेत्री सृष्टी श्रेष्ठले बताइन् ।

‘कुनै सिनमा आफूले गरेको रियाक्ट नै कसरी आयो भन्ने थाहा हुँदैन तर त्यो रियाक्टमा पात्र नै हुन्छ । छायांकन अघि गरिने वर्कसप, फिल्म र पात्रका बारेमा हुने छलफलले एक्टर र डिरेक्टर एउटै स्टेजमा ल्याएको हुन्छ ।’

‘प्रकृतितर्फ फर्क’ सेसनमा हानी नोक्सानी कोषका वैकल्पिक बोर्ड सदस्य एवं नेपाल सरकारका सहसचिव महेश्वर ढकाल र विश्व वन्यजन्तु कोषका राजेन्द्र सुवालसँग लेखक ददि सापकोटाले वार्तालाप गरे । उक्त वार्तालापमा सहभागीले नेपालले झेलिरहेको बाँदर सम्बन्धी समस्याको चर्चा गरे ।

नेपालको कानुनले बाँदरलाई मार्न र सार्न नपाइने भएकोले समस्या समाधान गर्न स्थानीय तहलाई अधिकार दिनुपर्ने विचार ढकालले राखे । ‘कास्कीको बाँदरको समस्या स्याङ्जासँग मिल्दैन । स्याङ्जाको समस्या तनहुँसँग मिल्दैन । त्यो समय, ठाउँ, परिवेशअनुसार फरक हुने भएकोले अनुसन्धान गरेर स्थानीय तहलाई नीति निर्माण गर्न सरकारले सहयोग गर्नुपर्छ,’ उनले भने ।

सो सत्रमा विश्व वन्यजन्तु कोषका राजेन्द्र सुवालले सिमसार संरक्षणमा तीनवटै सरकार चिन्तित हुनुपर्ने विचार राखे । ‘घुमन्तेका कुरा’ सेसनमा कञ्चन राई र पूजा रिजालले पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीसँग घुमफिरको अनुभव सुनाए । घुमफिर गर्न रूचाउने र आफ्नो घुमफिर अरूलाई देखाउने ‘कन्टेन्ट क्रिएटर’ राई मनोरञ्जन लिनमात्र भन्दा पनि आफूमा परिवर्तन ल्याउन घुम्नुपर्ने बताउँछन् । पछिल्ला वर्ष स्थानीय सरकारले आफ्नो ठाउँ चिनाउन सक्रिय हुनु निकै राम्रो पक्ष भएको रिजालको भनाइ छ ।

‘असफलताको पाठ’ सेसनमा स्याङ्जाका कृषक भीम लुइँटेल, व्यवसायी चन्द्रकान्त बराल र नवराज देवकोटासँग पत्रकार जमुना वर्षा शर्माले अन्तरक्रिया गरिन् । ‘विद्यार्थीको क्षमता विकासमा योग’ सेसनमा राजु अधिकारीले योगका फाइदा र तौरतरिकाबारे व्याख्या गरे ।

‘सामाजिक शिक्षा र हाम्रो पाठ्यक्रम’ सेसनमा चैतन्य मिश्रले सामाजिक शिक्षाको महत्त्वबारे प्रकाश पारे । ‘विश्वविद्यालय सुधारका सूत्र’ सेसनमा विपीन अधिकारी, कुसुम शाक्य र सञ्जीव उप्रेतीसँग पत्रकार योगश ढकालले विश्वविद्यालयमा रहेका बेथिती र तिनलाई सुधार्न आवश्यक उपायका बारे चर्चा गरे । ‘राणातन्त्र, राजतन्त्र र गणतन्त्र’ सेसनमा वक्ता हरि शर्मा, चन्द्रदेव जोशी र समीक्षा बास्कोटाले लेखक चन्द्र किशोरसँग संवाद गरे ।

वक्ताले व्यवस्था परिवर्तन भए पनि सुशासनमा अझैं ध्यान नपुगेको विचार राखे । ‘हिँड्दै छ, पाइला मेट्दै छ’ सेसनमा लेखक खगेन्द्र संग्रौलाले सहजकर्ता भास्कर गौतमसँग आफ्नो लेखकीय र सामाजिक जीवनको पाटापक्ष उजागर गरे । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग पत्रकार कनकमणि दीक्षितले ‘संस्कृति, भूगोल, भूगर्भ : पोखराका पर्यटकीय गन्तव्य’ सेसनमा छलफल गरे । उक्त सत्रमा आचार्यले खर्चिला पर्यटक भित्र्याउँन महानगरले योजना बनाइरहेको बताए ।

अर्को सेसनमा सन्तोष अम्गाई र प्रदीप रोदनका मुक्तक र गजलमा दर्शक रमाए । ‘सम्बन्धका आयाम’ सेसनले दर्शकलाई आकर्षित गर्‍यो । यो सेसनमा विजय कुमारसँग उपन्यासकार अमर न्यौपानेको संवाद दर्शकले रुचीपूर्वक सुने । लिटरेचर फेस्टिभलको अन्तिममा विपुल क्षेत्री एन्ड द ट्राभलिङ ब्यान्डको सांगीतिक प्रस्तुतिमा दर्शक झुम्मिए ।

प्रकाशित : फाल्गुन ७, २०८० २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?