२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३१

मनास्लु पदमार्गको खानीबेंसीमा सुक्खा पहिरोले पुरियो पदमार्ग

धार्चे गाउँपालिकाको केन्द्र माछाखोला, उहिया तथा चुमनुव्री गाउँपालिका पुग्ने मूल बाटोमा पहिरो खसेपछि आउजाउ ठप्प  
हरिराम उप्रेती

गोरखा — सुक्खा पहिरो खसेर मनास्लु पदमार्ग अवरुद्ध भएको छ । धार्चे गाउँपालिका-७ खानीबेंसीमा पहिरो खसेर पदमार्ग पुरिएको हो । पदमार्ग पुरिँदा उत्तरी गोरखाको जनजीवन प्रभावित भएको छ।

मनास्लु पदमार्गको खानीबेंसीमा सुक्खा पहिरोले पुरियो पदमार्ग

खानीबे‌ंसी भीरबाट झरेको सुक्खा पहिरोले पदमार्गको करिब १५ मिटर क्षेत्र ढाकेको धार्चे-७ का वडासदस्य पान्दुर गुरुङले बताए ।

धार्चे गाउँपालिकाको केन्द्र माछाखोला, उहिया, केरौजा तथा सिंगो चुमनुव्री गाउँपालिका पुग्ने बाटो नै पहिरोले ढाकेपछि आउजाउ ठप्प भएको उनले बताए । ‘बुढीगण्डकीको किनारमा तल झरेर जाने ठाउँ पनि छैन, माथि पनि भीर छ,’ उनले भने,‘पहिरो खसिरहेको छ, तत्कालै पन्छाउन सकिने देखिँदैन ।’ बिहीबार दिउँसो ३.३० बजे पहिरो खसेपछि उत्तरी गोरखा आउजाउ गर्ने पैदलयात्रु बीच बाटोमै रोकिएका छन् । केही यात्रु नौली खोला र केही खानीबेंसीमा रोकिएको गुरुङले जानकारी दिए ।

‘वारपार गर्ने ठाउँ नै छैन, पहिरो गएर भीर ओडारजस्तो बनेको छ । फेरि पहिरो झर्ने सम्भावना पनि उत्तिकै छ,’ उनले भने । बर्खा लागेसँगै बेनिघाट-आरुघाट-लार्के सडक खण्डअन्तर्गत नौलीखोलाबाट सवारी सञ्चालन हुन सकेको थिएन ।

स्थानीयवासी पैदल नै आउजाउ गर्थे । उक्त सडकखण्डअन्तर्गत खानीबेंसीको पहिरोले दुई पालिकाका बासिन्दाको आवतजावत रोकिएको छ ।

प्रकाशित : भाद्र १४, २०८० १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?