कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘मोडेल नवलपुर’ बनाउने खाका सार्वजनिक

राष्ट्रिय योजना आयोगले देश विकासको खाका कोरेझैं विज्ञको समूहले जिल्लामा गर्न सकिने योजना बनाए

नवलपरासी — नवलपुरलाई मोडेल जिल्लाका रूपमा विकास गर्न बनाइएको नमुना जिल्ला विकास योजनाको खाका सार्वजनिक गरिएको छ ।

शाश्वत धाममा एक कार्यक्रमको आयोजना गरी नवलपुरबाट प्रतिनिधित्व गर्ने सबै सांसद, प्रदेश सभासदहरू र ८ वटै पालिकाका प्रमुखले परिकल्पना खाका सार्वजनिक गरेका हुन् । नवलपुरबाट तीनवटै निकाय र निर्वाचित प्रतिनिधिको संयुक्त दस्तावेज हो । यो दस्तावेजमा समावेश गरिएका विकास निर्माणका योजना कार्यान्वयन गर्न सके नवलपुर आउँदो ५ वर्षमै ७७ जिल्लामै विकास र समृद्धिमा मोडेल बन्ने दाबी गरिएको छ । यस्तो संयुक्त कार्यक्रम अन्य जिल्लाका लागि पनि नयाँ मोडेल हुनेछ ।


राष्ट्रिय योजना आयोगले देश विकासको खाका कोरेझैं यहाँ पनि विज्ञहरूको समूहले जिल्लामा गर्न सकिने योजनाको खाका तयार गरेको हो । नवलपुर जिल्लामा आगामी २० वर्षमा गर्न सकिने विकास, निर्माण र प्रवद्र्धनका लागि विज्ञ समूहले बनाएको विकास योजनासहितको खाका सार्वजनिक गरिएको हो ।


यहाँका सांसद तथा चौधरी फाउन्डेसनका अध्यक्ष विनोद चौधरीको अग्रसरतामा नवलपुर जिल्लालाई ७७ जिल्लाकै विकास मोडेल बनाउने अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाको खाका बनाएर सार्वजनिक गरिएको हो ।


जिल्लाभित्र ८ वटा गाउँपालिकामा गरेर आगामि १ वर्ष, ५ वर्ष र २० वर्षभित्र गर्न सकिने विकासका योजनालाई किताबमा राखेर सार्वजनिक गरिएको हो । ९ महिना लगाएर चौधरी फाउन्डेसन, जिल्ला समन्वय समिति नवलपुर र समिति गैंडाकोटले ती विकासका खाका बनाएका हुन् । हरेक पालिका र जिल्लाभरि गरेर फरक– फरक १२ सय ७५ वटा विकासका योजना किताबमा समेटिएको छ । योजनामा समेटिएका विकास निमार्णका काम अघि बढाउँदा नवलपुर मोडल जिल्ला बन्नेतर्फ प्रेरित हुने आयोजकको दाबी रहेको छ ।


सार्वजनिकीकरण कार्यक्रममा बोल्दै मोडल नवलपुरका परिकल्पनाकार एवं सांसद विनोद चौधरीले देशभरिको केन्द्रमा रहेको र भौगोलिक बिचित्रताको जिल्ला भएकाले यसलाई देशकै नमूना जिल्ला बनाउन योजनासहितको प्रारम्भिक खुड्किलोको सुरुवातको थालनी गर्न पाउँदा खुसी लागेको बताए ।


उनले यो खाकामा समेटिएका योजनामा टेकेर काम गर्दा राम्रो गन्तव्यको सुरुवात हुने बताउँदै यो दस्तावेज सबैको सयुक्त पुँजी भएकाले ३ तहका सरकार, निजी क्षेत्र, गैरसरकारी संघ–संस्था र सरोकारवालाले जिम्मा लिएर अघि बढे नवलपुर साँच्चै मोडेल जिल्लाका रूपमा चित्रित हुने बताए ।


राष्ट्रिय योजना आयोगले देशको नक्सा कोरेझैं आफ्नो प्रयासमा विज्ञहरूको समूहले स्थानीय तहको तल्लो निकायसम्म त्यहाँका आवश्यकताका बारेमा छलफल गरेर तात्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाको खाका कोरेको हो । यस्तो योजना अहिलेसम्म अरू जिल्लाले बनाएका छैनन् । योजना बनाउनुअघि विज्ञहरूको टोलीले जिल्लाका सबै सांसद, प्रदेश सभासदहरू र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिसँग पटकपटक स्थानीय आवश्यकता र प्राथामिकताका बारेमा छलफल गरेको सहमति संस्थाका संयोजक करुणसागर सुवेदीले बताए ।


सार्वजनिकीकरण कार्यक्रममा बोल्दै सांसद तिलक महतले शुक्रबार सार्वजनिकीकरण गरिएको मोडल नवलपुरको खाकाको सबै सरकारले स्वामित्व लिएर काम गर्नुपर्ने बताए ।


कार्यक्रमका प्रमुख अतिथि तथा यसै क्षेत्रका सांसद डा. शशांक कोइरालाले आफू ३ पटक नवलपरासीबाट निर्वाचनमा विजयी भएको र योजनाबद्ध विकासको खाका कोर्न पाउँदा खुसी लागेको रतथा आफूले मोडेल नवलपुर बनाउन कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाए । शुक्रबार सार्वजनिक गरिएको विकासको दस्तावेजमा कृषि, पर्यटन, उत्पादन, औद्योगीकरण, स्वास्थ्य, शिक्षा, पानी, र प्रविधिका विषयलाई प्राथामिकतामा राखेर योजनाहरू बाँडफाँड गरिएको छ ।


दस्तावेजमा समावेश गरिएका विकासका योजनालाई ८ वटै पालिकाले यसअघिको बजेटमा पर्याप्त बजेट विनियोजन गरिसकेको पालिकाका प्रमुखहरूले कार्यक्रममा जानकारी दिए । बाँकी रहेका योजनालाई आगामी बजेटमा प्राथामिकतामा राख्ने प्रतिबद्धतासमेत उनीहरूले जनाएका छन् ।

प्रकाशित : मंसिर ५, २०७५ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?