ट्राफिक व्यवस्थापनमा बजेट शून्य

प्रकाश बराल

बागलुङ — सदरमुकामको मुख्य सडकमा चालु वर्षभित्र भएका दुर्घटनाहरूमा परेर ५ जनाको ज्यान गयो । धेरैजना घाइते भए । 
अधिकांश घटनामा मूल कारक ट्राफिक व्यवस्थापन नहुनु, तीव्र गति र जथाभावी पार्किङ रहेको जिल्ला ट्राफिक प्रमुख सुकबहादुर विकले बताए ।

ट्राफिक व्यवस्थापनमा बजेट शून्य

सदरमुकाम बागलुङ बजारभित्र ५० भन्दा बढी चोक छन् । दैनिक सयौं पैदलयात्री र सवारीको चाप रहने यी सडक र चोकमा कतै पनि ट्राफिक चिह्न छैनन् ।


‘चिह्न नभएकै कारण गाडी जथाभावी चलाउँछन्, यात्रीले पनि जथाभावी बाटो काट्छन्,’ उनले भने, ‘बजार व्यवस्थापनका लागि नगरपालिकामा पेस गरेको कार्ययोजनामा अहिलेसम्म सहयोग पाइएको छैन ।’ कार्यपालिका बैठक तथा नगरपरिषद्बाट बजेट विनियोजन गर्ने आश्वासन पाए पनि पूरा नभएको उनले बताए । व्यवस्थापनका लागि कार्यालयमा पनि बजेट शून्य रहेको उनले गुनासो गरे ।


बजारभित्र सडक ओगट्ने गरी व्यापारिक सामग्री राख्ने, अधिकांश ट्रक र ट्रयाक्टर सडकमै पार्किङ गर्ने, कार्यालय समयमा गति सीमित नहुनेजस्ता कारणले घटना बढेकाले व्यवस्थापनका लागि काम थाल्न ट्राफिकले नगरपालिकामा नियम बनाउन मागसमेत गरेको हो । त्यस्तै जेब्राक्रस, फुटपाथ छुट्टयाउने, ठेला गाडा व्यवस्थापन तथा घुम्ती र चोकमा ऐना राख्ने कामका लागि बजेटसमेत नपाएको उनले बताए ।


पटक–पटक घटना भइरहे पनि सडक सुरक्षित बनाउने पूर्वाधारका विषयमा कोही तयार नभएको जिल्ला प्रहरी प्रमुख दीपक रेग्मीले बताए । ‘नगरभित्रको भनेपछि सडक डिभिजनले वास्ता नगर्ने, नगरपालिकाले राजनीतिक दबाब र पहुँचका भरमा काम गर्ने चलन भयो,’ रेग्मीले भने, ‘बजारभित्र दैनिक दुर्घटना हुँदा कसैले व्यवस्थापकीय काममा सहयोग गरेनन् ।’ जनशक्तिमार्फत काम गराउन प्रहरी तयार भए पनि अत्यावश्यक सामग्रीका लागि नगरपालिकाले चासो राख्नुपर्ने उनले बताए ।


ट्राफिक प्रहरी कार्यालयले तयार गरेको प्रतिवेदनमा सदरमुकामको दर्जनभन्दा बढी चोकमा जेब्रा क्रस राख्नुपर्नेछ । तोकिएको स्थानमा मात्र विद्यालयका बस रोक्ने व्यवस्था गर्ने, केही सडकलाई प्रवेश निषेध र एकतर्फी बनाउने, विद्यालय, अस्पताल र क्याम्पसमा हर्न निषेध गर्नेलगायतका काम तत्काल गर्नुपर्नेछ । प्रतिवेदनउपर नगरपालिकामा छलफल नभएको उनले टिप्पणी गरे । नगर प्रमुख जनकराज पौडेलले कार्ययोजनाको स्टिमेट बनाउन भनेकोले ढिलाइ भएको बताए । ‘लागत स्टिमेट आएपछि कार्यपालिकामा लगेर निर्णय गराउने योजना छ’ पौडेलले भने, ‘कति लागत लाग्छ, हामीले कति लगानी गर्न सक्छौं, त्यसपछि केही सुधार हुनेछ ।’ कार्यालय समयमा मुख्य बजार प्रवेश गर्ने ट्रक, ट्रयाक्टर र निजी सवारीले समेत यात्री बोकेर बजार डुल्ने समस्याले दुर्घटना बढाएकाले रोक्नेगरी नियम बनाउन पहल गरिने उनले बताए ।


नगरपालिकाले फुटपाथमा राखिएका सामग्री हटाएर सडक सफाइ गर्ने अभियानमा व्यवसायीबाटै अवरोध भएको पौडेलले टिप्पणीसमेत गरे । ‘उद्योग वाणिज्य संघकै अगुवाइमा मुख्य बजारमा सामग्री व्यवस्थापन गर्न आवश्यक छ’ पौडेलले भने, ‘दुर्घटना न्यूनीकरणका लागि हरेक सटरवालाले सहयोग गर्नुपर्छ ।’ सडकै ओगटेर सामान राख्ने प्रवृत्ति त्याग्न उनले आग्रहसमेत गरे । अधिकांश सडक साँघुरो भएकाले घर बनाउँदा सेटब्याक राख्ने, सडकदेखि डेढ मिटर पछि सारेर मात्र नक्सापास गर्न पाइनेलगायतका नियम बनाइएको उनले बताए ।


दुर्घटना न्यूनीकरणका लागि ट्राफिक, प्रहरी र धौलागरी अञ्चल अस्पतालले सवारी चालकको रक्तचाप र आँखाको तेज परीक्षण गर्ने काम थालेको छ । उक्त कार्यक्रमले राजस्व संकलन बढेको र दुर्घटना न्यूनीकरणमा पहल भएको विकले बताए । चालु वर्षको माघ ११ गते सम्म ट्राफिकले ३ हजार ५ सय ६० सवारीलाई कारबाही गरेर २७ लाख ४ हजार राजस्वसमेत संकलन गरेको हो । नगरपालिकाको सहयोग पाएमा राजस्व संकलन बढ्ने र दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्ने उनले बताए । जिल्लामा अहिले १४ जना मात्र ट्राफिक छन् । बजारीकरण भएका नगर र गाउँपालिकाका लागि कम्तीमा २० दरबन्दी आवश्यक परेको विकले बताए ।

प्रकाशित : माघ १६, २०७५ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?