२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

सहिद र नेताको नामका पार्क अलपत्र

पार्कको उचित व्यवस्थापन नहुँदा सुधार भएन
प्रकाश बराल

बागलुङ — नेता र सहिदका नाउँमा घोषणा गरिएका पार्क जीर्ण र अलपत्र छन् । व्यवस्थापन अभावका कारण सुधार हुन नसकेका हुन् । कतिपय काममा लागि भने रकम अभाव भएको गुनासो छ । बागलुङ नगरपालिका–१ मा सहिद स्मृति पार्क छ ।

सहिद र नेताको नामका पार्क अलपत्र

करोडौं खर्चिएर तीन वर्ष लगाएर २०५७ मा बनेको भनिएको उक्त पार्क अझै जीर्ण छ । केही वर्षअघि विश्व बैंकको ऋणमा सञ्चालित व्यवस्थापनको कामसमेत टालटुले भएपछि टीकाटिप्पणी सुरु भएको हो ।


५ वर्षअघि झन्डै डेढ करोड रुपैयाँ लगानी गरिए पनि पार्कलाई व्यवस्थित बनाउन नसक्दा पर्यटक भित्र्याउने योजना पनि अलपत्र छ । ‘पार्कमा सहरी शासकीय क्षमता सुधार कार्यक्रमको ९० लाख रुपैयाँ खर्च भएको हो,’ नगरपालिकाका योजना अधिकृत युक्तप्रसाद सुवेदीले भने, ‘सोचेजस्तै पर्यटक लोभ्याउने बनाउन अब प्रयास थालिनेछ ।’


नगरपालिकाले गत वर्ष प्रभु बैंकसँगको सहकार्यमा उक्त पार्क व्यवस्थापनको काम पुन: थालेको जनाएको थियो । उक्त काममा नगरपालिकाले नै नसघाएको आरोप निर्माण समिति सदस्यको छ ।

तोकिएका सर्त नगरपालिकाले पूरा नगर्दा बैंकले ५० लाख रुपैयाँ खर्चेर गर्ने भनेको व्यवस्थापनको काम अघि बढेन । ‘नगरपालिकासँगका सर्त पूरा नभएकाले व्यवस्थापनका लागि सोचेजस्तो काम गर्न पाइएन,’ प्रभु बैंकको शाखा म्यानेजर अमरज्योति गिरीले भने, ‘सामान्य सुधारको काम गरेर छाडिएको छ ।’


रामरेखा सामुदायिक वनले २०५४ सालमा २९ रोपनी जग्गा पार्क बनाउन दिएको थियो । निर्माणका लागि घेराबार लगाएयता अरू काम भएन । संरक्षण अभावमा फोहोर र जीर्ण भएको छ । सहिदका सालिक, भ्युप्वाइन्ट, फन पार्क, वनभोजस्थल, खानेपानी र सार्वजनिक शौचालयसमेत निर्माण गर्ने भनिए पनि अहिलेसम्म त्यस्ता काम भएका छैनन् । पार्कभित्र तत्कालीन समयमा धर्मभक्त, शुक्रराज, गंगालाल र दशरथ चन्द तथा बागलुङका सहिद थिरबम मल्लका सालिक राखिएका छन् ।


उक्त स्थानमा चिडियाखानासमेत बनाउने योजना भए पनि निर्माण नगरी वर्षको एक दिन मात्र खुल्दा जीर्ण बन्दै गएको थियो । सहरी शासकीय क्षमता सुधार कार्यक्रममार्फत व्यवस्थित बनाउने नगरपालिकाका उपप्रमुख सुरेन्द्र खडकाले बताए । ‘नगरको पर्यटन प्रवद्र्धनका लागि पार्क निर्माण गरिएको हो’ खडकाले भने ‘सरसफाइ र आन्तरिक स्रोत वृद्धिमा परियोजनाले सहयोग पुग्छ ।’


प्रसिद्ध बागलुङ कालिका मन्दिर नजिकै भएकाले उक्त पार्कलाइ व्यावसायिक र पर्यटकीय बनाउन सकिने नगरपालिकाले लक्ष बनाएको छ । सदरमुकामकै वीरेन्द्र ऐश्वर्य पार्क अस्तव्यस्त जस्तै छ । उक्त पार्कमा अवैध रूपमा प्रयोग भएका लागूऔषध र महिला तथा पुरुषले प्रयोग गर्ने यौन सामग्रीसमेत छरिएको अवस्थामा भेटिन्छ ।


कांग्रेस संस्थापक वीपी कोइरालाको स्मृतिमा हरेक वर्ष वृक्षरोपण गरिरहने पार्कमा अहिलेसम्म एउटा पनि बिरुवा हुर्केका छैनन् । बागलुङ नगरपालिक–१ कै रामरेखामा वीपी बाटिका बनाउने भनेर राखिएको स्थान पनि फोहोर फाल्ने ठाउँ बनेको छ ।


‘बिरुवा रोप्ने र गोडमेल गर्ने योजना हो तर रोपेका बिरुवा पटक–पटक नष्ट भए,’ कांग्रेसका जिल्ला सभापति दीपेन्द्रबहादुर थापाले भने, ‘अलपत्र पर्न नदिन पहल भएको छ ।’ त्यस्तै मदन भण्डारी र जीवराज आश्रितकै स्मृतिमा घेराबार लगाएर छाडिएको मदनआश्रित पार्क पनि अलपत्रै छ । तत्कालीन प्रधानमन्त्री झलनाथ खनाललाई लगाएर यो पार्क शिलान्यास गराइएको थियो । त्यसपछि पार्क व्यवस्थापनका लागि लगानी भएको छैन ।


‘जुन उद्देश्य राखिएको थियो, प्रतिबद्धता पूरा गर्न सकिएन,’ नेकपाका नेता कृष्ण पाठकले भने, ‘नेताका नाम भए पनि राष्ट्रिय विभूति हुन् भनेर स्थानीय तहले लगानी नगरे संरक्षण हुँदैन ।’ सदरमुकाम प्रवेशका लागि तत्कालीन माओवादीले स्वागत गेटका लागि बनाएको डीपीसी र रडले दुर्घटनाको खतरा बढाएको छ । काम अलपत्र छाडेपछि ढलेका रडले सवारीसाधन र पैदलयात्रीलाई दुर्घटनामा पार्न सक्ने खतरा बढाएको हो ।


मध्यपहाडी लोकमार्गको विस्तार गर्दा उक्त संरचना भत्कने गरी बनाइएको छ । काम पूरा नभएकाले त्यो संरचना भत्काएर सडक विस्तार गर्नैपर्ने अवस्थामा पुगेको प्राविधिकले बताए । दिवसको अवसर पारेर भाषण गरे पनि नेताहरूले सहिदको अपमान गरेको स्थानीयले आरोप लगाए ।


‘सहिदको नाम लिने मात्र हो, पार्कहरू व्यवस्थित बनाउने काममा कसैले वास्ता गर्दैनन्’ सामाजिक अगुवा दुर्गाबहादुर आचार्यले भने, ‘बजेट आयो भने स्वार्थका योजनामा खर्च हुन्छ, पर्यटक भित्राउने र सहिदको सम्मानमा लगाएको भेटिएन ।’ व्यवस्थापन अभावमा त्यस्ता पार्कहरूमा फोहोरको डंगुर थुप्रेको उनले टिप्पणी गरे ।


प्रकाशित : माघ १७, २०७५ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?