‘मोडेल भिलेज’ बन्दै मौजा

दीपक परियार

लेखनाथ — सोलार बत्तीले झलमल्ल गाउँ । घर–घरमा पानीको धारो । सर्लक्क ढुंगा छापेको बाटो । गाउँका सबै साक्षर । सबै निरोगी । गाउँमाथि पर्यटकीय पार्क र भ्यु प्वाइन्ट । पर्यटक राख्न घर–घरमा होमस्टे ।

कास्कीको मौजा गाउँ पुगेका आन्तरिक पर्यटकलाई स्वागत गर्दै स्थानीय ।तस्बिर : कान्तिपुर
ZenTravel

महानगरमै रहेर पनि ओझेलमा परेको मौजा गाउँ अब ‘मोडेल भिलेज’ बन्ने भएको छ । पोखराको २० नम्बर वडामा पर्ने साविकको मौजा गाविसलाई रोटरी क्लब अफ पोखरा न्यूरोडले नमूना गाउँ बनाउने भएको हो ।

Meroghar

क्लबले आगामी पाँच वर्षभित्र नमूना गाउँ बनाउन काम थालिसकेको छ । सरकारले चालु आर्थिक वर्षमा घोषणा गरेको एक सय गन्तव्यभित्र पर्ने मौजालाई ग्रामीण पर्यटनको आकर्षण बनाउने क्लबको योजना छ । क्लबले आधारभूत शिक्षा तथा साक्षरता, शुद्ध पिउने पानी तथा सरसफाइ, रोग निवारण, शान्ति तथा द्वन्द्व व्यवस्थापन, मातृ शिशु स्वास्थ्य र आर्थिक तथा सामुदायिक विकासको अवधारणा अघि सारेको छ । गत जेठदेखि क्लबले उक्त अवधारणामा विविध कार्यक्रम गर्दै आएको छ ।

पोखराबाट १४ किलोमिटर कच्ची बाटोले मौजा जोडेको छ । मौजा गाउँमा चार टोल छन् । मौजा, आँटीघर, मोहरिया र लामडाँडामा गरी १सय७५ घर छन् । जनसंख्या७ सय २३ छ । गुरुङ जातिको बाहुल्य रहेको मौजामा दलित, ब्राह्मण र भुजेल जातिको पनि बसोबास छ । चार वर्षभित्र मौजालाई पूर्ण साक्षर गाउँ बनाउने क्लबको लक्ष्य छ । गाउँमा शिक्षाबाट वञ्चित स्थानीयको तथ्यांक लिन चारै टोलमा बाल क्लब गठन भएका छन् ।

बालक्लबले निरक्षरको तथ्यांक लिई हरेक हप्ताको चार दिन पढाउने छन् । उक्त कार्यको लागि बाल क्लबलाई बिउ पुँजी उपलब्ध गराइएको छ । नेतृत्व विकासका लागि बाल क्लबले विविध अतिरिक्त क्रियाकलाप समेतगर्न सुरु गरेका छन् । मौजावासीलाई शुद्ध पिउने पानी उपलब्ध गराउन ‘एक घर एक धारा’ कार्यक्रम ल्याइएको छ ।हाल सञ्चालन भइरहेको सार्वजनिक धारालाई व्यवस्थित गरेर घरघरमा धारा पुर्‍याउने क्लबको योजना छ ।मोडल भिलेज बनाउनकै लागि मौजामा होमस्टे सुरु भएको छ ।

गाउँका १२ घरमा होमस्टे छन् । होमस्टे सञ्चालनको लागि आवश्यक तालिम क्लबले प्रदान गरेको छ । होमस्टे व्यवस्थापन समिति अध्यक्ष उत्तम गुरुङले साझेदारीमा सञ्चालन हुने होमस्टेलाई बढाएर ३० घरमा पुर्‍याइने बताए । ‘हामी अहिले नै पाहुनालाई सत्कार गर्न तयारी अवस्था छौं,’ उनले भने, ‘विस्तारै क्षमता वृद्धि गर्दै जाँदा पाहुनाको आगमन बढ्ने विश्वास छ ।’

संग्रहालय, कोसेली घर, पुस्तकालय र तालिम कक्ष सहितको बहुउद्देश्यीय पर्यटकीय सूचना केन्द्र गाउँमा बन्ने छ । आँटीघर र मौजामा भ्यू प्वाइन्ट सहितको पार्क निर्माण हुने छ । पर्यटन शिक्षा कार्यक्रमअन्तर्गत अतिथि सत्कार तथा होमस्टे व्यवस्थापन र पर्यटन तथा वातावरण संरक्षण तालिम बेलाबेलामा क्लबले प्रदान गर्ने छ ।

ढुंगाले बनाइएका पर्खाल र बाटो मर्मत गर्ने, आँटीघर र लामडाँडामा दुई स्वागत गेट निर्माण गर्ने कार्य हुने छ । पूर्ण सरसफाइअन्तर्गत सचेतना अभियान, फोहरमैला व्यवस्थापन, धँुवारहित चुलो निर्माण, गोठ सुधार, डस्टवीन निर्माण तथा वितरण, च्याम्बरर निर्माण लगायत कार्य हुनेछन् ।

पूर्ण साक्षर गाउँ घोषणा गर्न प्रौढ शिक्षा, बाल शिक्षा, विद्यालय भर्ना अभियान चलाइने छ । साइनेज, होर्डिङबोर्ड, किताब, ब्रोसर, लिफलेट, स्टिकर, वृत्तचित्र, वेवसाइट मार्फत गाउँको प्रवद्र्धनात्मक कार्य क्लबले गर्ने छ । कृषि, खेलकूद र संस्कृतिलाई एकीकृत गरी मौजा पर्यटन महोत्सव सञ्चालन हुने छ । मौलिक गीत, नाच तथा वाद्यवादन सम्बन्धी तालिम पनि स्थानीयले पाउनेछन् । गाउँमै क्होइबो तथा गुम्बा निर्माण हुने छ ।

वडाध्यक्ष सिम गुरुङले गाउँका प्रचलित पदमार्गलाई सुधार गरिने बताए । उनका अनुसार पोखरा–अर्मला–आँटीघर–सिक्लेस–दुधपोखरी–मनाङ पदमार्गको मौजा खण्डलाई आवश्यक मर्मत गरिने छ । पोखरादेखि मौजासम्मको सडक हाललाई स्तरोन्नती गर्ने र भविष्यमा कालोपत्रे गर्ने योजना उनले सुनाए । ‘मौजा–आँटीघर गाउँ सिक्सेल पदमार्गको प्रमुख द्वार हो,’ उनले भने, ‘पदयात्रा पर्यटनलाई पुनर्जागृत गरिने छ ।’

बाल, यूवा तथा महिला सशक्तिकरणका लागि नेतृत्व विकास, उद्घोषण, लेखा प्रणाली, बजारीकरणसम्बन्धी तालिम स्थानीयले पाउनेछन् । कृषि तथा पशुपक्षी पालनअन्तर्गत बाख्रा, लोकल कुखुरा, मौरी, तरकारी तथा पुष्प खेती गरी आयआर्जन गर्न सहयोग पूग्ने छ । कूचो, गुन्द्री, चकटी, टोप, छत्री, स्याखु, डोको लगायत घरायसी सामग्री उत्पादन गरी विक्री वितरण गर्न क्लबले सहयोग गर्नेछ ।

पर्यटन तथा संस्कृति सम्बन्धी स्थानीय पाठ्यक्रम निर्माणगरी विद्यालयहरूमा अध्ययन अध्यापन गराउने क्लबको योजना छ । पार्क सहित टोयाढाप खेलकुद मैदान निर्माण, गाउँको मुख्य मुख्य स्थलमा सोलार वत्ति जडान, कोइरी स्यों झरनासम्म जाने ट्रेल र पोखरा निर्माण, सामुदायिक भवन मर्मत, समग्र मौजा होमस्टे क्षेत्रको एकीकृत पर्यटन विकास तथा व्यवस्थापन योजना निर्माण कार्य पाँच वर्षभित्र हुनेछन् ।

मोडेल भिलेज कार्यक्रम संयोजक सुवास सिग्देलले गाउँको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाको संरक्षण गरी पर्यटन तथा कृषि गतिविधिका माध्यमबाट सामाजिक सद्भाव तथा आर्थिक रुपले समृद्ध गाउँ निर्माण गर्ने लक्ष्य रहेको बताए । उनले मोडल भिलेज बनाउन पाँच वर्षभित्र अनुमानित ६ करोड रुपैयाँ खर्च हुने जनाए ।

‘प्रस्तावित बजेटका लागि संघ र प्रदेश सरकारका विभिन्न कार्यालयसँग समन्वय हुने छ,’ उनले भने । उनका अनुसार विभिन्न योजनामा संघको पर्यटन मन्त्रालय, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय प्रदेश पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, पोखरा महानगरपालिका, खानेपानी डिभिजन कार्यालय, शिक्षा, घरेलु, कृषि, वन, पशु सेवा कार्यालय, तमु धिं, प्ये ल्हु संघ, पोखरा उद्योग वाणिज्य संघ, ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान), युनिसेफ, रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान लगायत स्थानीय संघसंस्थासँग क्लबले सहकार्य गर्ने छ ।

क्लबका अध्यक्ष पुष्पकमल पौडेलले मोडेल भिलेज बनेपछि गाउँवासीको आम्दानीमा वृद्धि भई समग्र गाउँको शिक्षा, स्वास्थ्य, सञ्चार, सुरक्षा लगायत जीवनशैलीमा सुधार आइ गरिबी निवारणमा सहयोग पुग्ने बताए । ‘निर्वाहमुखी कृषि पेशामा व्यवसायिकरण हुन्छ,’ उनी भन्छन्, ‘तरकारी तथा पशुपालनको उत्पादन र उपभोगमा वृद्धिगरी विपन्न वर्गको आम्दानी र स्वास्थ्यमा सुधार ल्याउन सकिन्छ ।’ शिक्षा, स्वास्थ्य, सञ्चार र सुरक्षाको गुणात्मक सुधारका साथै आय आर्जनका अवसरको सिर्जनागरी बसाइसराइको क्रमलाई रोक्न सकिने उनी बताउँछन् ।

व्यवसायिक कृषि तथा पर्यटनका माध्यमबाट रोजगारका अवसर सिर्जना गरी युवा विदेश पलायन हुनबाट रोक्ने पनि कार्यक्रमको उद्देश्य रहेको उनले सुनाए । भने, ‘छिमेकी गाउँ तथा भेगका जनताले मौजा गाउँको असल कार्यको सिको गर्नेछन् ।’

प्रकाशित : माघ १७, २०७५ ११:३६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

खानीको अवैध उत्खनन

‘मैले पटकपटक यी ठाउँहरूमा उत्खनन गर्नु हुँदैन भनेर रोकें तर माफियाहरूले नगरपालिकामा राजस्व तिरिरहेका छौं भन्ने गरेका छन्’
भरत जर्घामगर

सिरहा — धनगढीमाई नगरपालिकाभित्रका खानीजन्य भूभागहरूको संरक्षण हुन नसक्दा खानीजन्य पदार्थको अवैध उत्खनन बढ्दो छ । चुरे क्षेत्रसँग नजिक रहेको धनगढीमाई नगरपालिकाको ८ नम्बर वडास्थित जोगिया गाउँ, कसाहा, महुवालगायत क्षेत्रबाट खानी माफियाले अवैध रूपमा खानीजन्य पदार्थ निकासी गर्दा त्यस क्षेत्रमा ठूल्ठूला खाल्टाखुल्टीहरू बढ्दै गएको छ ।

सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ८ स्थित जोगिया गाउँ क्षेत्रमा खानी माफियाद्वारा अवैध रूपले उत्खनन गरिएको खानी देखाउँदै वडा अध्यक्ष पुष्पलाल तामाङ । तस्बिर : भरत/कान्तिपुर

खानी माफियाले विपन्न समुदायका व्यक्तिको जग्गा सस्तोमा खरिद गरेर र लिजमा लिएर त्यहाँबाट ग्राभेल ढुंगा उत्खनन गर्दै आइरहेका छन् ।

माफियाले स्थानीय प्रहरी तथा नगरपालिकाका पदाधिकारीहरूलाई मिलाएर निर्धक्क खानी उत्खनन गर्दा अहिलेसम्म उनीहरूलाई रोकटोक नभएको स्थानीयको आरोप छ । सम्बन्धित खानी क्षेत्रका वडा अध्यक्ष पुष्पलाल तामाङले आफूले पटक पटक खानी उत्खनन गर्ने गिरोहलाई रोक्ने प्रयास गरेपनि कसैले सहयोग नगरेको बताए । ‘मैले पटक पटक यी ठाउँहरूमा उत्खनन गर्नु हुँदैन भनेर रोकें तर माफियाहरूले नगरपालिकामा राजस्व तिरिरहेका छौं भन्ने गरेका छन्,’ उनले भने, ‘यस विषयमा नगरपालिकाको कार्यालयलाई वडा कार्यालयबाट परिपत्र गरी के कति मात्रामा खानी उत्खननका लागि स्वीकृति दिइएको छ भनी सोध्दा अहिलेसम्म नगरपालिकाबाट
वडा कार्यालयलाई जवाफ आएको छैन ।’

खानीको अवैध उत्खननमा जिल्लास्थित राजनीतिक दलका केही नेताकै संलग्नता भएकाले वडाको एक्लो प्रयासबाट मात्रै नियन्त्रण गर्न नसकिने उनले दु:खेसो पोखे । ‘आफूले दिनमा रोके पनि रातको समयमा माफियाले गाउँ थर्काउने गरेरै स्काइभेटर लगाएर उत्खनन गर्छन्,’ उनले भने, ‘अवैध उत्खनन भइरहे यस क्षेत्र केही वर्षमै मरुभूमिमा परिणत हुने चिन्ता छ ।’

वडाभित्र खानी अवैध उत्खनन भएपछि आफूले खानी क्षेत्रमै गएर एक्साभेटर समाए पनि छाडिएको उनले सुनाए । धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले खानी उत्खननमा विवाद आएपछि अहिले त्यस क्षेत्रमा खानीको उत्खनन रोकिएको जानकारी दिए । ‘केही दिनअगाडि निकै दबाब आएपछि उत्खनन गर्नेहरूले राजस्व तिरेरै खानी उत्खनन गरेका हुन्,’ उनले भने, ‘तर अहिले ती सबै बन्द भएका छन् ।’

खानी तथा खनिज पदार्थ ऐन २०४२ अनुसार नेपालभित्र निजी वा सरकारी स्वामित्वमा रहेको जुनसुकै जमिनको सतह वा भूगर्भभित्र रहेको वा पाइएको सम्पूर्ण खनिज पदार्थ नेपाल सरकारको सम्पत्ति हुनेछ । त्यस्तो खनिज पदार्थ उत्खनन गर्न सोही ऐनको प्रावधान पुर्‍याउनेलाई खानी तथा भूगर्भ विभागले अनुमति प्रदान गर्छ ।

यस्तै, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ (प) अनुसार, ढुंग, गिट्टी, बालुवा, नुन, माटो, खरीढुङ्गा तथा स्लेटजस्ता खानीजन्य वस्तुको सर्वेक्षण, उत्खनन तथा उपयोगको दर्ता, अनुमति, नवीकरण, खारेजी र व्यवस्थापन स्थानीय तहले गर्ने प्रावधान छ ।

प्रकाशित : माघ १७, २०७५ ११:३४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×