मनाङेको शपथको विपक्षीद्वारा विरोध

कानुनी राजको खिल्ली उडाइयो
लालप्रसाद शर्मा

पोखरा — गण्डकी प्रदेशसभाको मंगलबारको बैठकमा विपक्षी दलहरूले मनाङ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य दीपक मनाङे भनिने राजीव गुरुङको शपथको विरोध गरेका छन् । शपथ प्रक्रिया विपरीत भएको भन्दै यसले कानुनी राजको धज्जी उडाएको, लज्जित घृणित बनाएको प्रतिक्रिया उनीहरूको थियो । 

मनाङेको शपथको विपक्षीद्वारा विरोध

नयाँ शक्तिका हरिशरण आचार्यले पाटन उच्च अदालतले ५ वर्षको जेल सजायको फैसला गरेकोमा फैसलालाई धज्जी उडाउँदै, संविधान र कानुनी राजलाई धोती लगाएर शपथ खुवाउँदा नेपालको इतिहासलाई खुम्चाएको बताए । ‘यसले हामीलाई लज्जित र घृणित बनाएको छ’ उनले भने, ‘दुश्कर्म चरित्रहरूलाई मुकुन्डो लगाइदिएको छ । अनि खुसी र प्रफुल्ल कसरी हुने सभामुख ज्यू ?’

अदालतको फैसलालाई धज्जी उडाएर, मानौं नेपालमा अर्को शान्ति प्रक्रियाको नाटक मञ्चन गर्दैै खुसियाली मनाइनु विडम्बना रहेको भन्दै उनले प्रदेशको गौरवशाली इतिहास रच्ने बेलामा कानुनी राजको खिल्ली उडेको भन्दै शपथप्रति आफ्नो असहमति व्यक्त गरे ।

हरेक कानुनी निर्णय गर्दा कसको पालामा के भएको थियो भन्ने नजिर रहने, सही र गलत के थियो भन्ने कुरा वर्षौंसम्म बहसको विषय बन्ने उनको भनाइ थियो ।

प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले एक वर्षको अवधिमा प्रदेशसभाको कारबाही र प्रक्रियामा सत्ता र प्रतिपक्ष नभनी समन्वयात्मक रूपमा अघि बढेका बेला सभामुखले शपथ गराएकोमा पार्टीको ध्यानाकर्षण भएको बताए । सभामुख नेत्रनाथ अधिकारी अहिलेसम्म तटस्थ र निष्पक्षतापूर्वक काम गरेकोमा गौरवान्वित गरिरहेकामा सबै प्रतिपक्षी दललाई कुनै जानकारी नगराई शपथ खुवाएको प्रति उनले आपत्ति जनाए ।

‘सोमबारको प्रदेशसभा बैठक सकिएपछि गुरुङको शपथबारे मिडियाबाट थाहा पाउँदा आश्चर्य लाग्यो,’ उनले भने, ‘प्रमुख प्रतिपक्षी र अन्य प्रतिपक्षी दलसहितको सदन हो । औपचारिक कार्यक्रम भइरहँदा सबै दलले थाहा पाउनु अधिकार हो । तर वञ्चित गरियो ।’

गुरुङसँगको आफ्नो सम्बन्ध पुरानो रहेको, जनमतप्राप्त व्यक्ति पनि भएकाले शपथसँग नभई सभामुखको प्रक्रियासँग असहमति रहेको भन्दै नेपाली सभामुखप्रति बढी आक्रोशित भए ।

‘प्रतिनिधिसभामा जस्तो यहाँ सभामुख सरकारको दबाबमा पर्दैनन्, नियमकानुन, कार्यव्यवस्था परामर्श समितिको सुझाव र सरकारको कानुनी सल्लाहकारको सल्लाहबाहिर जाँदैनन् भन्ने लागेको थियो’ उनले भने, ‘तर, हामी चिन्तित छौं, सभामुखलाई कहाँबाट दबाब आयो, विवेकलाई थिच्ने शक्ति कहाँबाट आयो र निर्णय गर्नुभयो ।’ शपथ खुवाउने–नखुवाउने निर्णयको अधिकार सभामुखलाई भए पनि नियम कानुनले ठाउँ दिए मात्र निर्णय गरेको भए हुन्थ्यो भन्ने

उनले बताए ।

फैसला गरेर मात्र हुँदैन इन्साफ पनि चाहिन्छ भन्दै उनले निर्णय गर्दा विवेक प्रयोग गर्नुपर्नेमा त्यो सभामुखले नगरेको जनाए । ‘शपथको प्रक्रियाप्रति कांग्रेसको असहमति छ,’ उनले भने, ‘बूढी मरी भन्ने नभई काल पल्क्यो भन्ने चिन्ता हो । यो कुरालाई वैधानिक ढंगबाट टुंगाउनु पथ्र्यो ।

अदालतबाट निरुपण गर्नुपथ्र्यो भन्ने मान्यता हो ।’ राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले शपथ युक्तिसंगत र न्यायसंगत नभएको भन्दै असहमति जनाए । ‘जनप्रतिनिधि धोएको मुलाजस्तो सेतो हुनुपर्छ । नैतिकवान् हुनपर्ने नजिर कामय राख्नुपर्छ,’ उनले भने ।

प्रदेशसभाको पहिलो बैठकमा आफूले मनाङेको शपथ किन भएन नेपाली जनताको चिन्ताको विषय हो भनेको स्मरण गर्दै उनले दोस्रो पटक पनि मनाङ ‘ख’ मा निर्वाचनको माग गरेको तर अहिले शपथ खुवाएकोप्रति असहमति जनाए । उनले अब चौथो पटक त्यही निर्वाचन क्षेत्रका विषयमा बोल्न नपरोस् भन्ने उनको

भनाइ थियो ।

नेकपाका विनोद केसीले भने शपथको स्वागत गरे । आफ्नो शपथप्रति विपक्षी दलबाट असहमति जनाइरहेको मनाङेले सुनिरहेका थिए । उनी सत्तापक्ष नेकपाका प्रदेशसभा सदस्य बस्ने घेराको अन्तिम लाइनको कुर्चीमा बसेका थिए । निर्वाचित भएको करिब एक वर्षपछि गुरुङलाई गण्डकी प्रदेशसभा सदस्यका रूपमा सोमबार शपथ खुवाइएको थियो ।

मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारमा निर्वाचित गुरुङलाई सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा सचिवालयमा शपथ खुवाएका थिए ।

सभामा कांग्रेसका कुमार

खड्का र डोबाटे विश्वकर्माले जीपी कोइराला श्वासप्रश्वास केन्द्रलाई केन्द्रीय अस्पतालमा समावेश गर्नुपर्ने माग गरे भने कांग्रेसकै मणिभद्र शर्माले पोखरा–बागलुङ (मध्यपहाडी राजमार्ग) सडक निर्माणको काम युद्धस्तरमा गर्न माग राखे । नेकपाका इन्द्रलाल सापकोटाले हिमपातले बागलुङका विभिन्न ग्रामीण बस्तीमा पुर्‍याएको क्षति, विद्युत् सेवा अवरुद्धलगायत अँध्यारो भएर प्रभावित भएकोतर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराए । नेकपाकै जुनादेवी नेपाली पनि ग्रामीण विद्युतीकरणमा आएको समस्याप्रति ध्यानाकर्षण गराइन् ।

भारतीय गाडीमा प्रदेशसभा

निर्वाचित भएको करिब १४ महिनापछि सोमबार मात्र प्रदेशसभा सदस्यको शपथ लिएका दीपक मनाङे भनिने राजीव गुरुङ पहिलोपटक प्रदेशसभा बैठकमा सहभागी हुन भारतीय नम्बर प्लेटको गाडी चढेर आएका थिए । बीआर०६पीडी ७५२९ नम्बरको स्कोरपियो गाडी लिएर मंगलबार उनी प्रदेशसभामा पुगेका थिए । मनाङले भारतको सहयोग लिन हुने तर गाडी चढेर आउन नहुने भन्ने सञ्चारकर्मीलाई प्रतिक्रिया दिए ।

आफ्नो गाडीको क्लिरियन्स राम्रो नभएकाले भाइहरूको गाडी चढेर आएको र यो कुनै ठूलो कुरा नभएको उनले बताए । गण्डकी प्रदेशसभाका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले भारतीय गाडी प्रयोग गर्न पाउने–नपाउनेबारे कानुनी कार्यविधि हेरेर मात्र बताउने बताए ।


प्रकाशित : माघ १७, २०७५ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?