कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिँचाइका लागि पोखरी

हिउँदमा बाँझो रहने अल्टारी, बाँस्कोटे, ठूलोबेंसी, नेपानेटारी र उपल्लो खन्नमा स्थानीय पोखरी बनाउँदै

पर्वत — हिउँदे खेतीका लागि आवश्यक सिँचाइ समस्या टार्न पैयुँ गाउँपालिका २ त्रिवेणीका बासिन्दाले पोखरी निर्माण गरेका छन् । हिउँदमा बाँझो रहने अल्टारी, बाँस्कोटे, ठूलोबेंसी, नेपानेटारी र उपल्लो खन्नलगायतका करिब चार सय रोपनीमा सिँचाइ पुर्‍याउन स्थानीय धर्मखोलामा बाँध बाँधेर पोखरी बनाइएको हो ।

सिँचाइका लागि पोखरी

४० मिटर लम्बाई, १२ मिटर चौडाई र ३ मिटर गहिरो पोखरी निर्माणको काम भर्खरै सकिएको वडा सदस्य कृष्णप्रसाद भुर्तेलले बताए । उनका अनुसार पोखरी निर्माणमा दुई वर्षअघि तत्कालीन जिविसले १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको थियो ।


२०७३ मा निर्माण सुरु भएको पोखरीमा जिविसले दिएको बजेटमा स्थानीयले नगद र श्रमदान गरी थप ३ लाख रुपैयाँको काम गर्दा पनि नपुगेको बजेटमा पछि थप भएपछि मात्रै काम पूरा भएको उनले बताए । ‘अप्ठ्यारो पाखो सम्याउन गाउँलेलाई एक वर्ष लाग्यो,’ उनले भने, ‘स्थानीय तहबाट बजेट निकासा भएपछि मात्र काम पूरा भएको हो ।’


भिरालोबाट आएको खोला थुनेर पोखरीसम्म पानी ल्याउनुपर्ने भएकाले जिविस र उपभोक्ताले संकलन गरेको रकमले नपुगेपछि काम अलपत्र थियो । स्थानीय तहमा बजेट पुगेपछि वडा कार्यालयबाट चार लाख निकासा आउँदा काम अघि बढेको हो । पोखरीकै लागि इन्प्रेड नेपालले १ लाख सहयोग गरेपछि थप ५ लाख उपभोक्ताले जुटाएका थिए ।


गत हिउँदमै पोखरीको पानी ल्याएर खेत हराभरा पार्ने लक्ष्य भए पनि त्यो सफल भएन । पोखरीको काम असार अन्तिम साता मात्रै सकियो । तर, आगामी हिउँदमा पोखरीको पानीले सिँचाइ गर्न पाउने आशमा त्रिवेणीवासी छन् । यो पोखरीको पानीले खेतबारी सिँचाइ गर्ने करिब सय घरपरिवार छन् । हिउँदे सिँचाइको अभाव झेल्दै आएका त्रिवेणीवासीले अब व्यावसायिक तरकारीमा लाग्ने योजना बनाएका छन् ।


‘हाम्रो जग्गा निकै पाहारिलो छ,’ छतिवन तरकारी महलिा समूहकी अध्यक्ष हुमा शर्माले भनिन्, ‘सिँचाइ भए धेरै आम्दानी गर्न सकिन्छ ।’ सिँचाइ पोखरी बनेपछि हिउँदे तरकारी लगाउन समूहका सबै सदस्य उत्सुक भएको उनले बताइन् । दुई वर्षअघि स्थापना भएको समूहमा ४२ जना सदस्य छन् ।


त्रिवेणीको फाँट कृषिजन्य उत्पादनमा पैयुँ गाउँपालिकाको मुख्य क्षेत्र हो । फाँटको माथिल्लो भेगमा हिउँदे सिँचाइ अभावमा धेरै खेतबारी बाँझै हुन्छ । हिउँदमा बाँझो रहने जमिनमा आम्दानी बढाउन वडा र गाउँपालिकाले सहयोग गरेको वडाध्यक्ष भीमसेन गुरुङले बताए । ‘हिउँदे सिँचाइ भए धेरै किसानको जीवनस्तर बदलिन्छ,’ उनले भने, ‘वर्षामा पानीको समस्या हुँदैन । नगदेबाली लगाउन हिउँदै कुर्नुपर्‍यो ।’ वडा कार्यालयले पोखरी बनेपछि आउँदो हिउँदमा किसानलाई बेमौसमी तरकारी उत्पादनमा लगाउने तयारी गरेको छ । त्यसका लागि आवश्यक तालिम, बीउबिजन, प्राविधिक सरसल्लाह र उपकरण अनुदान दिने कार्यक्रम रहेको वडाध्यक्ष गुरुङले बताए ।


पोखरीमा करिब १५ लाख लिटर पानी जम्मा हुने प्राविधिक अनुमान छ । अल्टारी, बाँस्कोटे, ठूलोबेंसी, नेपानेटारी, उपल्लो खन्नलगायतका फाँटमा हिउँदमा गहुँ, आलु, तोरी, मकै, चैतेधानलगायतको खेती गर्न सकिन्छ । तर, सीमित पानीलाई उपयोग गर्न नगदे बाली लगाउन जोड दिइने अगुवा कृष्ण भुर्तेलले बताए । ‘पोखरीको सिँचाइ तरकारीबालीमै उपयोग गर्ने हो,’ उनले भने, ‘एउटा टनेलमा तरकारी लगाउँदा डेढ–दुई लाख आम्दानी हुन्छ । अन्नबाट वर्षौंसम्म त्यो सम्भव छैन ।’


तरकारी खेती गर्न इच्छुक किसानलाई स्थानीय त्रिवेणी सहकारीले सहुलियत ब्याजमा ऋण उपलब्ध गराउँदै आएको उनले बताए । भुर्तेल सोही सहकारीका व्यवस्थापक हुन् ।

प्रकाशित : भाद्र १३, २०७५ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?