शव भेटिन्छन्, पहिचान खुल्दैन

दिप्ती सिलवाल

पर्वत — फलेवासमा गत असार २९ मा एक जनाको शव फेला पर्‍यो । अन्दाजी ४५/५० वर्षका पुरुषको फलेवास–६ देवीस्थानमा फेला परेको शवको अनुहार र शरीर फुलेको र कपाल झरिसकेको अवस्थामा थियो ।

प्रहरीले जिल्ला अस्पतालमा पठाएर पोस्टमार्टम गर्न लगायो । सनाखतका लागि कोही आउँछन् कि भनेर केही दिन शव अस्पतालमै राखियो ।

कोही नआएपछि फलेवास नगरपालिकाले शवको अन्तिम संस्कार गरायो । उनको अझैसम्म पहिचान खुलेको छैन । गत जेठ २५ मा मोदी गाउँपालिका–६ गिज्यानमा पनि एउटा लास फेला परेको थियो । केही दिनदेखि गाउँ वरपर डुल्दै गरेको देखिएका राजकुमार बस्नेत नाम र ठेगाना सोलुखुम्बुको सल्लेरी बताउने अन्दाजी ४० वर्षीय उनको पनि शव लिन कोही आएनन् । मृतकको ठेगानाका आधारमा पर्वत प्रहरीले सोलुखुम्बुको सम्बन्धित ठेगानामा खबर गरे पनि लासको दाबी गर्न आफन्त नआएपछि करिब दुई सातापछि मोदी गाउँपालिकाले दाहसंस्कार गर्‍यो ।

यस्ता प्रकृतिका बेवारिसे लास फेला परे पनि लामो समयसम्म आफन्तले दाबी गर्न नआउँदा पर्वत प्रहरी र स्थानीय तहलाई टाउको दुखाइ बन्ने गरेको छ । भेटिएका लास व्यवस्थित गरी राख्ने प्रविधि र स्थानको अभाव, आफन्तको बेवास्तालगायतका कारणले प्रहरीलाई यस्ता लासका कारण हैरानी छ । प्रहरीका अनुसार गएको दुई वर्षमा विभिन्न प्रकृतिका बेवारिसे लासको संख्या ११ पुगेको छ । तीमध्ये ६ पुरुष र ३ महिला थिए । दुईवटा लिंग पहिचान हुनै नसक्ने अवस्थामा भेटिएका थिए ।

लासको सनाखत नहुँदा मृत्युको कारणबारे बुझ्न पनि प्रहरीलाई समस्या पर्ने गरेको छ । ‘सबै मृत्यु कालगतिले नहुन पनि सक्छ,’ प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले भने, ‘सनाखत भए मृत्युको कारण खोज्न सकिन्थ्यो । दुर्घटना वा अन्य कारण पत्ता नलाग्दा बेवारिसे लास बढ्न सक्छन् ।’ कतिपय बेवारिसे फेला परेका लास अन्त्येष्टि गरिसकेपछि आफन्त आउँछन् ।

आफन्त दाबी गर्दै आउनेहरू प्रहरीको मुचुल्का बाहेक अरू केही लिन सक्ने अवस्था नभएको तिवारीले बताए । ‘अन्त्येष्टिपछि आउनेले लासको कुनै वस्तु नपाउने अवस्था छ,’ उनले भने, ‘त्यो समस्याबाट मुक्त हुन समाधिस्थल बनाएर सुरक्षित राख्ने योजनामा छौं । स्थानीय तहसँग समन्वय भइरहेको छ ।’ लासको दाबी गर्न आफन्त नआए मृतक फेला परेको सम्बन्धित स्थानीय तहले नै अन्त्येष्टि गर्नुपर्ने कानुनी प्रावधान छ । कालीगण्डकी र मोदी किनारमा धेरैजसो यस्ता लास फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीय तहले भने समाधिस्थल बनाउन कानूनी प्रावधान भए पनि उचित स्थानको अभावले तत्काल सम्भव नभएको जनाएका छन् । ‘कानुनत: हाम्रो सीमाभित्रका बेवारिसे लासको जिम्मेवारी हामीले लिनुपर्छ,’ मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले भने, ‘समाधिस्थल बनाउनेबारे बहस चलाइएकै छैन । बनाउनैपर्ने भए ठाउँ खोज्नुपर्छ ।’

बेवारिसे धेरै लास भेटिने कुश्मा नगरपालिकाले पनि छुट्टै समाधिस्थलबारे सोच बनाएको छैन । कुश्मा–५ अन्तर्गत पर्ने मोदीवेणी र गोपाङघाट पुरानो समयदेखि अन्त्येष्टिका घाट भएकाले अरू विकल्प नखोजिएको कुश्माका नगरप्रमुख रामचन्द्र जोशीले बताए । प्रहरीले बेवारिसे फेला परेका लासबारे ठेगाना खुलेसम्म सोही ठेगानामा खबर गर्दै आएको छ ।

प्रकाशित : भाद्र १०, २०७५ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्

सकियो कोदो रोपाइँ

कान्तिपुर संवाददाता

लमजुङ — जिल्लाका ग्रामीण भेगमा मुख्य बालीको रूपमा लिइने कोदोको यो सिजनको रोपाइँ सकिएको छ । मकै र धानपछि गाउँलेले लगाउने बालीमध्ये कोदो रोप्ने गर्छन् ।

लमजुङको सुन्दरबजार नगरपालिका–११ सिन्दुरे, तुर्लुङकोटमा बारी जोतेर कोदो रोप्दै स्थानीय । तस्बिर : कान्तिपुर

क्व्होलासोंथर गाउँपालिका–४ भुजुङकी पूर्णकुमारी गुरुङले कोदो रोपाइँ सकिएर अब धान गोड्ने बेला भएको बताइन् । ‘कोदो रोपेर सकियो । अब धान गोड्ने बेला भयो । त्यसपछि कोदो गोडिन्छ,’ उनले भनिन् । मस्र्याङ्दी गाउँपालिका–४, ताघ्रिङका बेंसबहादुर गुरुङले पनि कोदो रोपेर सकिएको बताए । गाउँघरमा अर्मपर्म गर्दै कोदो रोप्ने गरिएको छ ।

‘एकअर्कालाई सघाउने पर्मको चलन अझै चलेकाले खेती गर्न सजिलो छ,’ उनले भने, ‘मिलेर धान गोड्छौं, अनि कोदो गोड्ने बेला पनि एकअर्कालाई सघाउने हो ।’ किसानका अनुसार ग्रामीण भेगमा मकैबाली भित्र्याउनै लाग्दा मकै लगाएका बारीभित्रै कोदो रोप्ने गरिन्छ । मकै भित्र्याइसकेपछि नल तथा डाँठको व्यवस्थापन गरी कोदो रोप्ने चलन छ ।

सुन्दरबजार नगरपालिका ११, सिन्दुरे तुर्लुङकोटकी कमला दुराले बताइन् । तुलुङकोटमा मकै भाँचेपछि नल उखेली गोरु जोतेर कोदो रोप्ने गरिएको स्थानीय कमला दुराले बताइन् । ‘हामीले मकै भाँचेर गोरु जोती कोदो रोपाइँ गरिसक्यौं । अब बिस्तारै हुर्कन्छ र गोड्ने बेला हुन्छ,’ उनले भनिन् । उनका अनुसार कोदोलाई पिठो बनाएर ढिँडो, रोटी बनाएर खान सकिन्छ । यस्तै ग्रामीण भेगमा मदिरा बनाउन पनि कोदो प्रयोग हुन्छ । उनका अनुसार गाउँले अधिकांशले कोदो रोप्छन् । पहिले मकै रोप्ने खेतमा पछि कोदो रोप्ने गरिएको उनले बताइन् ।

कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीका अनुसार जिल्लाका पहाडी तथा ग्रामीण भेगमा बढी मात्रामा कोदो रोपाइँ हुन्छ । सिँचाइ हुने ठाउँमा धान र नहुने जग्गामा कोदो रोप्ने गरिन्छ । ‘हाम्रोमा कोदो २ तरिकाले रोपिन्छ । एउटा मकै उत्पादन हुने बेला मकैबारीभित्रै रोपिन्छ भने मकै भित्र्याइसकेपछि खनजोत गरेर कोदो रोप्ने गरिन्छ,’ उनले भने ।

माथिल्लो ग्रामीण भेगमा मकैबारी भित्रै कोदो रोप्ने र तल्लो ग्रामीण क्षेत्रमा मकैबाली भित्र्याएर नल उखेलेपछि कोदो रोप्ने गरेको कृषिका नायव प्राविधिक सहायक सुमन पण्डितले बताए । कृषिका अनुसार क्व्होलासोंथर, मस्र्याङ्दी, दूधपोखरी र दोर्दी गाउँपालिकाका धेरै गाउँमा कोदो रोपाइँ गरिएको छ । नगरपालिका क्षेत्रको ग्रामीण भेगबाहेक सहरबजारमा भने कोदो रोपाइँ प्राय: गरिएको छैन ।

लमजुङमा ४५ हजार ५० हेक्टर क्षेत्रफलमा खेती गरिएकोमा कोदोमात्रै ७ हजार ९ सय १९ हेक्टर क्षेत्रफलमा रोप्ने गरिएको छ । यसअघिका वर्षमा ६ हजार एकसय ६० मेट्रिकटन कोदो उत्पादन हुने गरेको कार्यालयले जनाएको छ । ‘कोदो उत्पादन बढेको पनि छैन, खासै घटेको पनि छैन । युवाशक्ति बिदेसिएपछि खेत बाँझो रहेकाले उत्पादन भने केही घट्दो छ,’ उनले भने ।

प्रकाशित : भाद्र १०, २०७५ ०९:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्