बागलुङ — सरकारले तोकेको सूचकमा पर्ने घरपरिवारलाई गरिबको परिचयपत्र वितरण थालिएको छ । ढोरपाटन नगरपालिकाले गाउँमा पुगेर सूचीकृत भएकालाई परिचयपत्र दिएको हो ।
पहिलो चरणमा ७ नम्बर वडाको ज्ञानोदय माविमा सार्वजनिक कार्यक्रम गरेर वडा ७, ८ र ९ का बासिन्दालाई परिचयपत्र दिइएको छ ।
यी वडामा १ हजार ५ सय ४३ घर गरिब सूचीमा परेका छन् । यहाँका ७ सय २३ घर अति गरिब, ४ सय ५९ मध्यम र ३ सय ६१ घर सामान्य गरिबका सूचीकृत भएका थिए । उक्त वडामा नगरपालिकाभित्र सबैभन्दा धेरै दलित बस्ती छन् । जिल्ला समन्वय समितिले परिचयपत्र पाएकालाई पहिलो चरणमा कम्तीमा नि:शुल्क स्वास्थ्य बिमा गरिदिने निर्णय गरेको छ ।
जिल्लामा पहिचान भएका ११ हजार २ सय १ गरिब घरपरिवार सबैलाई परिचयपत्र दिइसकेपछि आर्थिक वर्ष ०७५/७६ का लागि नि:शुल्क स्वास्थ्य बिमा गराउने निर्णय भएको प्रमुख राजेन्द्र ढुंगानाले बताए ।
राष्ट्रिय योजना आयोगले जिल्ला समन्वय समितिमार्फत गरेको अध्ययनबाट गरिब घरपरिवार सूचीकृत गरिएको थियो । ‘हामीले केही न केही सम्बोधन गरौं भनेर बिमाको कुरा ल्याएका हौं,’ ढुंगानाले भने, ‘गरिब भएर पहिचान भएकालाई रोजगारीका अवसरमा पनि प्राथमिकता दिनुपर्छ ।’ केही वर्षदेखि बागलुङमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा छ ।
विपन्न परिवारले प्रिमियम तिर्न नसक्दा बिमा गरेका थिएनन् । उपचार पाउन नसकेर मर्ने तथा सानो खर्चकै अभावमा उपचारमै नजानेलाई बिमा उपयोगी हुने उनले बताए । वार्षिक २ हजार ५ सय प्रिमियम तिरेमा वर्षभरी ५० हजार रुपैयाँको उपचारको बिमा हुनेछ । न्यून आए भएका, दैनिक ज्याला मजदुरीमा नगएमा खानै नपुग्ने र उपचार खर्च अभावमा मृत्युवरण गर्न बाध्य परिवारका सदस्य यहाँ सूचीकृत भएको उनले स्पष्ट पारे ।
प्रकाशित : भाद्र ४, २०७५ १०:१६