कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विमानस्थल बन्यो गौचरण

हरिराम उप्रेती

गोरखा — स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गोरखाका नेताले पालुङटार हवाई मैदानलाई पुन: उपयोगमा ल्याउने नारा दिएका थिए । तीनै तहका सरकारले जिम्मेवारी सम्हालेको वर्ष दिन हुन लाग्दा नारा कार्यान्वयनको संकेतसम्म पनि देखिएको छैन ।

विमानस्थल बन्यो गौचरण

पालुङटार नगरपालिका ५ को हवाई मैदान वर्षौंदेखि प्रयोगविहीन छ । १ सय ८५ रोपनी क्षेत्रफल ओगटेको विमानस्थल प्रयोगमा आउन नसकेपछि गौचरणमा परिणत भएको छ । २०१५ सालबाट निर्माण सुरु भई सञ्चालनमा आएको उक्त मैदानमा २०३२ सालसम्म काठमाडौं, सिमरा र पोखराका लागि उडान भएका थिए ।

‘पृथ्वी राजमार्ग निर्माण भइरहेको थियो, त्यो बनेर सञ्चालन नआउँदासम्म यहाँबाट उडान हुन्थ्यो,’ स्थानीय मात्रिका पराजुलीले भने, ‘राजमार्ग बनेर गाडी सजिलै चल्न थालेपछि यो एयरपोर्टमा जहान आउन छा्डयो ।’ तत्कालीन समयमा विमानस्थल रेखदेखका लागि मुखियास्तरका कर्मचारीलाई जिम्मेवारी दिइएको थियो । ‘०४६/४७ सालतिर मुखियालाई पोखरा सरुवा गरेको हामी थाहा पाउँछौं,’ उनले भने, ‘पछि एकजना पियन थिए, उनलाई पनि जिल्ला विकासले तानेपछि यहाँ कर्मचारी कोही भएनन् ।’ त्यसयता मैदान बेवारिसे भएको छ ।

१० वर्षे सशस्त्र द्वन्द्वको समयमा हवाईमैदान नजिकै नेपाली सेनाको क्याम्प थियो । उक्त क्याम्प पनि २०६९ सालमा उठेको थियो । उचित रेखदेखको अभावमा विमानस्थलका संरचना जीर्ण भएका छन् । ‘जेनेरेटर राख्ने घर, टिकट काट्ने घर, मुखिया बस्ने अफिस भन्थे । सबै हराउने अवस्थामा पुगे,’ पराजुलीले भने, ‘लमजुङ देखिका मान्छे यही बाटो भएर डुम्रेमा नुनतेल किन्न आउँदा यहाँका घरमा बास बस्ने गर्थे ।’ सरकारले उचित नीति बनाएर उक्त हवाई मैदानलाई सञ्चालनमा ल्याउनुपर्ने स्थानीयको माग छ ।

धेरै वर्षअघि नै टीनेटर ग्राउन्ड भनेर चिनिएको पालुङटार मैदान ठूला जहाजका लागि भने पर्याप्त आकारको छैन । एक किलोमिटर लम्बाइ र दुई सय मिटर चौडाइको छ । तत्कालीन समयमा गोरखासहित छिमेकी जिल्ला लमजुङ, तनहुँ र मनाङका बासिन्दाका लागि भन्दै विमानस्थल बनाइएको थियो । मैदान यतिबेला वरपरका बासिन्दाका लागि गाईभैंसी चराउन सजिलो ठाउँ बनेको छ । मैदानमा बेलाबखत खेलकुदका प्रतियोगिता हुने गरेका छन् ।

नगरपालिकामा मेयर दीपकबाबु कँडेल मैदानको उपयोगका लागि के गर्न सकिन्छ भन्नेमा छलफल भइरहेको बताउँछन् । ‘यो प्रदेशकै सम्पत्ति हो,’ उनले भने, ‘मनास्लु र मनाङ ट्रेक बनाएर चलाउन सकिन्छ कि भन्ने पनि छलफल भइरहेको छ ।’ तत्काल के गर्ने भन्ने टुंगो भने नलागेको उनले बताए ।

‘विमानस्थलको केही जग्गा सडकले खाएको छ, केही अतिक्रमण पनि भएको भन्ने छ,’ उनले भने, ‘यो वर्ष हामी पुरानो नापीलाई आधार बनाएर जग्गा छुट्याउँछौं ।’ हवाई मैदानका रूपमा ठूला जहाजका लागि उपयोगी नभएकाले यसका लागि प्रदेशस्तरमै पनि योजना आउनसक्ने उनले बताए । राज्यको सम्पत्ति सधैं गौचरणका रूपमा उपयोगविहीन भएर रहन नपाउने उनले सुनाए ।

प्रकाशित : श्रावण १६, २०७५ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?