कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हत्यामा जन्मकैद

कान्तिपुर संवाददाता

स्याङ्जा — जडीबुटी व्यापारीको हत्याका २ जना आरोपीलाई जन्मकैदको सजाय भएको छ । मुस्ताङका बासिन्दा जडीबुटी बेच्दै हिँडेका ५० वर्षीय छाङदिङ गुरुङको ०७३ पुस २७ मा साबिक आरुचौर ४ चिप्लेटीमा हत्या भएको थियो ।

हत्यामा जन्मकैद

जिल्ला अदालतले गत सोमबार घटनाका आरोपी स्थानीय २२ वर्षीय सञ्जय भनिने तिलकबहादुर विकलाई सर्वस्वसहित जन्मकैद र ५० वर्षीय शोभाखर विकलाई जन्मकैदको फैसला गरेको हो ।

हत्यामा संलग्नताको आरोपीमध्ये ३८ वर्षीया लक्ष्मी विकलाई अदालतले सफाइ दिइएको छ । घटनापछि विक काका–भतिजसँगै गाउँलेसहित १४ जना पक्राउ परेका थिए । पक्राउ गरिएकामध्ये ०७४ फागुनमा अदालतले उनलाई ३० हजार रुपैयाँ धरौटीमा छाडेको थियो भने अन्य दुईलाई पुर्पक्षमा पठाएको थियो भने हत्यामा संलग्न ११ जनालाई धरौटीमा छाड्ने आदेश दिएको थियो । हत्या गरेपछि शव लुकाउन सहयोग गर्ने नौ जनालाई अदालतले ६/६ महिना कैद सजाय तोकेको छ ।

प्रहरीको अनुसन्धान प्रतिवेदनअनुसार चिप्लेटीको दलित बस्तीमा जडीबुटी बेच्दै गुरुङ रातको बास बस्न शोभाखरको घरमा आइपुगेका थिए । त्यहाँ शोभाखरका भतिज सञ्जयसँग उनको झगडा परेको थियो । झगडामा गुरुङलाई शोभाखरले कुटेका थिए भने सञ्जयले हँसिया प्रहार गरेका थिए । उनको हत्या गरी खाल्डो खनेर गाडिएको थियो ।

गाउँछिमेकमा हल्ला हुन थालेपछि शवलाई झिकेर घटनास्थलबाट ६ घण्टाको पैदल दूरीको साबिक अर्जुनचौपारी ५ भट्टेपथान सामुदायिक वनको कोचेप्रोमा लगी गाडिएको थियो । सुरुमा शव गाडेको खाडलमा भैंसीको पाडो मारेर गाडिएको पाइएको थियो । मासु र रक्सी खुवाएपछि आफूले नै निहुँ झिकेर झगडा सुरु गरेको बयान सञ्जयले अदालतमा दिएका थिए ।

प्रकाशित : श्रावण १२, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?