२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

तलब दिने सर्तमा खुल्यो नगरपालिकाको ताला

२० दिनपछि ताला खोलिए पनि तलब-भत्ता वितरणको छैन टुंगो‚ चालु वर्षको बजेटका लागि अझैसम्म भएन नगरसभा
शिव पुरी

रौतहट — रौतहटको फतुवा विजयपुर नगरपालिकाका कर्मचारी र शिक्षकहरुले तलब माग गर्दै कार्यालयमा लगाएको ताला २० दिनपछि खुलेको छ । तालबन्दी गरे पनि दसैंअघि नगरपालिकाले कसैलाई तलब निकासा दिएन ।

तलब दिने सर्तमा खुल्यो नगरपालिकाको ताला

नगरप्रमुख नै भ्रष्टाचार मुद्दामा अदालतबाट कसुरवार ठहर भएको यो नगरपालिकाले नगरसभासमेत गराउन सकेको छैन । नयाँ प्रशासकीय अधिकृतलाई काम गर्न जनप्रतिनिधिकै अवरोध छ । यसले गर्दा नगरपालिकाको आर्थिक गतिविधि प्रभावित छ ।

छठ पर्वअघि सबै शिक्षक कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ता दिइने सर्तमा आइतबारदेखि कार्यालय सञ्चालनमा आउने गरि जनप्रतिनिधि र कर्मचारीको रोहवरमा ताला खोलिएको हो । नगरपालिकाका ११ जना वडाध्यक्ष, कार्यपालिका सदस्य, शिक्षक र कर्मचारी भेला भई शुक्रबार ताला खोल्ने विषयमा छलफल गरेका थिए ।

छलफलबाट छठ पर्वअघि तलब खुवाउने सर्तमा ताला खोलिएको शिक्षक रञ्जन खरेलले बताए । उनका अनुसार छलफलमा शिक्षक–कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता वितरण गराउने जिम्मेवारी वडाध्यक्षहरुले लिएपछि ताला खोलिएको हो । गत असार १० गतेभित्र नगरसभा हुनुपर्ने ऐनमा व्यवस्था भए पनि जनप्रतिनिधिबीच बेमेलले अहिलेसम्म हुन सकेको छैन । त्यसैले नगरपालिकाको आर्थिक गतिविधि शून्य छ । नगरपालिका मातहतका विद्यालयमा ३ सय ५० जना हाराहारी शिक्षक–कर्मचारीको तलब रोकिएको छ । सामाजिक सुरक्षा भत्ता वितरण पनि बन्द छ ।

दसैंमा पनि तलब पाउने सम्भावना नदेखिएपछि गत असोज १९ देखि शिक्षक–कर्मचारीले नगरपालिकाको मुलगेटमा तालाबन्दी गरेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्वको रकम हिनामिना आरोपमा मुद्दा दर्ता गरेपछि नगरप्रमुख गोपाल राय यादव निलम्बनमा परेका थिए । विशेष अदालतले पनि यादवलाई दोषी ठहर गरिसकेको छ । अहिले कार्यबाहक नगरप्रमुखको जिम्मेवारी उपप्रमुख अमबेय खातुनले पाएकी छन् । ताला खोल्न उपप्रमुख खातुनले पहल नगरेको शिक्षकहरुको आरोप छ ।

संघीय मन्त्रालयले फतुवा विजयपुरको प्रशासकीय अधिकृतमा उपसचिव सुरेन्द्र प्रधानलाई खटाएको छ । तर जनप्रतिनिधिले विभिन्न आरोप लगाउदै उनलाई हाजिर हुन दिएका छैनन् ।

प्रकाशित : कार्तिक ११, २०८० १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?