वायु प्रदूषण नियन्त्रणका उपाय

चैतयता जंगलमा डढेलो बढी मात्रामा लागिरहेको छ । यसले वायु प्रदूषण बढाउने हुँदा नेपालले कार्बन व्यापार अवधारणाबाट पाउँदै आएको सुविधामा प्रश्न खडा हुने देखिन्छ ।

जेष्ठ १, २०८१

बाबुराम राई

Measures to control air pollution

पहिलेको तुलनामा नेपालभर तुवाँलो धेरै मात्रामा वृद्धि भइरहेको छ । यसको मुख्य कारण पीएम १० को मात्रा बढ्नु नै हो । हाल कार्बनडाइअक्साइड, कार्बनमोनोअक्साइड हाइड्रो कार्बन, क्लोरोफ्लोरो कार्बन, सल्फर, मिथेन, पीएम १०, पीएम २.५ दिनानुदिन बढिरहेको तथ्य विभिन्न अध्ययनबाट पुष्टि भइरहेको छ ।

राजधानी काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर बन्न पुग्छ त कहिले केही सुधार भएको एक्यूआई अमेरिकाले उल्लेख गर्छ । नेपालका अन्य सहर पनि प्रदूषित बनिरहेका छन् । पीएम १० र पीएम २.५ भनेका केही रासायनिक, कार्बन, सल्फर आदिको सम्मिश्रणबाट बनेको आँखाले देख्न नसक्ने ससाना कण हुन् । काठमाडौंमा पीएम २.५ को मात्रा बढिरहेको अध्ययनले पुष्टि गरेको छ । १ क्युबिक मिटर हावामा ५ माइक्रो ग्राम पीएम २.५ हुनुपर्नेमा हाल काठमाडौंमा १७ माइक्रो ग्राम पीएम २.५ पाइएको छ । 

हरित गृह ग्यास उत्सर्जनको मात्रा दिनानुदिन बढिरहेको छ । नेपालमा लाग्ने वन डढेलो, तराईमा कृषिउपज सम्बन्धित सामग्री जलाइँदा र सहरी क्षेत्रमा फोहोरमैला जलाउँदा कार्बन र मिथेन उत्सर्जन भइरहेको छ । प्लास्टिक जलाउँदा डायोक्सन उत्पन्न भइरहेको छ । पेट्रोलबाट सञ्चालित सवारीसाधनबाट कार्बन मोनोअक्साइड र सिसा उत्पन्न भएको छ भने डिजेलबाट चल्ने गाडीबाट हाइड्रो कार्बन र सल्फर धूवाँसँग बाहिरिरहेको छ । रेफ्रिजेरेटर र एयर कन्डिसनहरूको प्रयोगबाट क्लोरोफ्लोरो कार्बन निस्किरहेको छ । यी ग्यासमध्ये तापक्रम वृद्धिका लागि प्रमुख कारक कार्बन मानिन्छ । बढीभन्दा बढी खनिजजन्य पदार्थ उपयोगबाट कार्बनको मात्रा बढिरहेको छ । विश्वमा ३० प्रतिशत कार्बन चीनबाट उत्पन्न भएको छ भने ११ प्रतिशत अमेरिकाले निष्कासन गरिरहेको छ । भर्खरै दुबईमा सम्पन्न कोप–२८ ले खनिजजन्य पदार्थको प्रयोगमा कटौती गर्ने साझा धारणा बनाउनुका साथै तापक्रम वृद्धिलाई दुई डिग्री सेन्टिग्रेड सन् २०३० सम्म कायम राख्न अठोट गरेको छ । 

नेपालको वायु प्रदूषण आन्तरिक कारण मात्र नभई भारतको उत्तर प्रदेशमा भएको खनिजजन्य उद्योगबाट निस्कने धूवाँ पनि प्रमुख कारक बनिरहेको छ । तराईका पर्सा, बारा, रूपन्देहीमा बढी मात्रामा वायु प्रदूषण हुनुले यसलाई पुष्टि गर्छ । यस्तो प्रकारको वायु प्रदूषण विश्वभर नै भइरहेको छ । धेरै वर्षपहिले मलेसियाको जंगलमा डढेलो लाग्दा सिंगापुर सहर दिउँसै अँध्यारो बनेको थियो । चैतयता नेपालका जंगलमा डढेलो बढी मात्रामा लागिरहेको छ । यसले वायु प्रदूषण बढाउने हुँदा नेपालले कार्बन व्यापार अवधारणाबाट पाउँदै आएको सुविधामा प्रश्न खडा हुने देखिन्छ ।

विश्व भूमण्डल दिनानुदिन तातिनाले जलवायु परिवर्तन भई यसले समग्र सृष्टि जगत्मा परेको प्रभावले गम्भीर चुनौती खडा गरिदिएको छ । एकातिर हिमालयन देशहरू हिउँविहीन हिमाल बनिरहेका छन्, हिमनदी पग्लिरहेको छ, हिमताल फुटेर प्राकृतिक विपत्ति आइरहेको छ । यस्तो विपत्ति नेपालले भोग्नुको अतिरिक्त हिमाली क्षेत्रमा आलु, जौ र फापर उत्पादनमा भारी गिरावट भइरहेको छ । अर्कोतिर समुद्रीतटीय तथा टापुजन्य देश समुद्री सतह बढेर डुबानमा परिरहेका छन् । तापक्रम वृद्धिकै कारण कतिपय जीव तथा वनस्पति लोप भएर गइदिँदा जैविक विविधतामा नोक्सानी पुगेको छ । परिणामस्वरूप पारिस्थिकितीय प्रणाली खलबलिएको छ ।

जलवायु परिवर्तनबाट अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि र बेमौसमी वर्षा भइरहेको छ । २०२४ मार्चको मध्यतिर दुबईमा अत्यधिक वर्षा भएको थियो, जसबाट घर, बाटो सबै डुबानमा परेका थिए । दुई दिनसम्म अन्तर्राष्ट्रिय उडानसम्म हुन सकेन । गत वर्ष भारतको सिक्किममा भारी वर्षाले टिस्टा नदीमा आएको बाढीले सय वर्ष पुरानो मितेरी पुल बगाएको थियो । त्यस्तै नेपालको पूर्वी पहाडी संखुवासभा र तेह्रथुममा गत वर्ष नै आएको भारी वर्षाले जलविद्युत् आयोजनामा अर्बौंको क्षति पुर्‍याएको थियो । नेपाल जस्तो सानो देशमा कहिले पूर्वी भागमा त कहिले पश्चित भागमा अत्यधिक वर्षा हुने गरेको पाइन्छ ।

नेपालको सरदर वार्षिक वर्षालाई तुलना गर्दा बर्सेनि पानी कम परिरहेको छ । कहिले बाली थन्काउने बेलामा बेमौसमी वर्षाले क्षति गरिदिएको देखिन्छ भने मौसममा भरपर्ने खेती पानी नपर्दा बाँझो रहने अवस्था छ । हालै दक्षिण तथा पूर्वी एसियाली देशमा बढी मौसमी प्रभाव पर्न गएको देखिन्छ । २०२४ अप्रिल २९ मा बंगलादेशमा ४५ डिग्री सेन्टिग्रेट, फिलिपिन्समा ४७ डिग्री र म्यानमारमा ४८ डिग्री तापक्रम थियो । नेपालको तराई भूभाग जनकपुर, भैरहवा, नेपालगन्जमा अधिकतम तापक्रम ४३ डिग्री सेन्टिग्रेट, २०२४ अप्रिल ३० मा पुगेको देखिन्छ । 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार १ क्युबिक मिटर हावामा ३५ माइक्रोग्राम एक्यूआई हुनुपर्नेमा काठमाडौंमा २०० एक्यूआईभन्दा बढी छ, जुन स्वास्थ्यका लागि खतरनाक मानिन्छ । १०० एक्यूआईसम्मलाई ठीकै र १०० देखि २०० आई अस्वस्थकर मानिने डब्लूएचओको मान्यता छ । हावा प्रदूषित गराउने कार्बन मोनोअक्साइडले रगतमा हेमोग्लोबिनको मात्रामा कमी ल्याइरहेको छ भने मिथेनले रोग प्रतिरोधात्मक क्षमता र बालबालिकाको आईक्यूमा ह्रास ल्याइरहेको छ । डाइअक्सिनले रगतको क्यान्सर गराइरहेको छ ।

त्यस्तै, क्लोरोफ्लोरो कार्बनले ओजोन तहमा छिद्रा पुर्‍याइरहेको छ, परिणामस्वरूप सूर्यको हानिकारक पराबैजनी किरण सिधै पृथ्वीमा आई आँखाको ज्योतिमा नकारात्मक प्रभाव पार्नुका साथै छालाको रोग निम्त्याइरहेको छ । पीएम २.५ मा भएको रासायनिक तत्त्वले कहिलेकाहीँ अम्लीय वर्षा गराई मानव निर्मित कलात्मक धातुका मूर्तिलाई खिया पारी नोक्सानी पुर्‍याइरहेको छ । 

नेपालका सहरी क्षेत्रमा वायु प्रदूषण गराउने सवारीसाधनको उचित मर्मत सम्भार गर्न आधुनिक उपकरणसहितको वर्कसप सञ्चालन गर्न जरुरी छ । वातावरण संरक्षण कोषमा प्रदूषण करबापत जम्मा भएको रकमलाई यसरी परिचालन गर्न सकिन्छ । धूवाँ परीक्षण गरी मापदण्डभन्दा बढी देखिएमा पुनः मर्मत गरी बाहिर पठाउने व्यवस्था गरिनुपर्छ । भूउपयोग योजना बनाई उपयुक्त स्थानमा इँटा उद्योग सञ्चालन गर्न दिने र उक्त उद्योगमा आधुनिक फिल्टर जडान गर्न लगाउने गर्नुपर्छ ।

बालीनाली लगाउने बेला झ्यास, पत्कर र छ्वालीहरू नजलाउन जनचेतना फैलाउनुपर्छ । वन डढेलोलाई मध्यनजर गरी फागुन, चैत र वैशाखका लागि ठूलो संख्यामा वन हेरालु (पाले) करारमा नियुक्ति गर्नुपर्छ । वन डढेलो लगाउनेहरूको पहिचान गरी दण्डित गरिनुपर्छ । यसका लागि तीन तहकै सरकारबाट उपयुक्त नीति बनाई कार्यान्वयनका लागि ऐन–कानून, नियमावली तथा निर्देशिकाहरू बनाई लागू गर्नु अत्यावश्यक छ ।

वायु प्रदुषण

बाबुराम

Link copied successfully