चैते छठमा पनि सिर्सिया खोलाको प्रदुषण हटेन  

वैशाख २, २०८१

शंकर आचार्य

Even in Chaite Chhath, the pollution of the Sirsia River did not go away

पर्सा — वीरगन्ज–११ रानीघाटकी २७ वर्षीया व्रतालु पुजा सर्राफको आइतबार चित्त दुखेको थियो । चैते छठकी व्रतालु पुजाले पहिलो पटक स्थानीय रामजानकी मठ छठ घाटमा सिर्सिया खोलाको पानीमा उभिएर अस्ताउँदो सूर्यलाई अर्घ दिन पाइनन् । घाटमा बनाइएको प्लाष्टिकको कृत्रिम पोखरीमा उनी र उनी जस्ता अन्य व्रतालुहरुले यस पटकको छठ पुजाको विधि सम्पन्न गरे । 

‘छेउमै खोला बगिरहेको छ, तर हामी व्रतालुले खोलामा उभिएर धार्मिक विधि गर्न पाएनौं, यो भन्दा ठूलो बिडम्बना के होला र?,’ उनले भनिन्, ‘छठ पर्वको दिन पनि सिर्सिया खोलामा कालो पानी बग्छ भने कहिले सिर्सिया खोला प्रदुषणमुक्त हुन्छ भनेर हामीले आशा गर्ने ?’ 

घाटमै भेटिएका स्थानीय ६५ वर्षीय हरिनारायण साहले आफूले पनि पहिलो पटक यसरी सिर्सिया घाटमा प्लाष्टिकको पोखरीमा छठ व्रतालुले पुजा अर्चना गरेको देखेको बताए । ‘यो पनि गज्जबकै रेकर्ड नै भयो,’ उनले भने, ‘छेउमै खोला छ, तर व्रतालुले घाटमा प्लाष्टिकको पोखरीमा पुजा अर्चना गरेका छन् ।’ 

अर्का स्थानीय मेघनाथ सर्राफले आफू छठ घाटमा प्लाष्टिकको पोखरी देखेर चकित भएको बताए । ‘सिर्सिया खोलालाई प्रदुषित बनाउने उद्योगीहरुले यस पटक नैतिकता देखाएनन्,’ उनले भने, ‘बिगतका बर्षहरुमा कात्तिकी र चैते दुबै छठको समयमा केही दिनका लागि खोलाको प्रदुषण रोकिन्थ्यो, तर यस पटक न त उद्योगीले नैतिकता देखाए , न त स्थानीय प्रशासनले उनीहरुलाई कारवाहीको दायरामा ल्याउन सक्यो ।’ 

सामाजिक अभियन्ता प्रकाश थारुले सिर्सिया नदीलाई प्रदुषित बनाउन जिम्मेवार उद्योगहरुले यस पटक हदै सम्म लापरवाही गरेको बताए । ‘छठ पर्वको दिन व्रतालुहरुले खोलामा उभिएर अस्ताउदो र उदाउदो सूर्यलाई अर्घ दिन्छन्, यो व्रत लिनेहरुको चर्म रोग निको हुन्छ भन्ने विश्वास रहेको छ,’ उनले भने, ‘तर सिर्सिया खोलामा उभिएर अर्घ दिए व्रतालुलाई उल्टै चर्मरोग लाग्ला भन्ने पिर छ । 

सिर्सिया बचाउ संघर्ष समितिका सचिव वृजेश्वर चौधरीले छठ पर्वको समयमा पनि सिर्सिया खोलालाई प्रदुषणमुक्त नगरेर व्रतालुहरुको धार्मिक आस्थासंग खेलवाड गरिएको बताए । ‘यस बर्ष हदै भयो,’ उनले भने, ‘हामीले अन्तिम समय सम्म खोला प्रदुषणमुक्त होला भनेर पनि प्रतिक्षा गर्‍यौं, तर हाम्रो आशामा तुषारापात भयो, बाध्य भएर रानीघाटमा कृत्रिम प्लाष्टिकको पोखरी बनाएर व्रतालुलाई सहज बनाइदियौं ।’  

Even in Chaite Chhath, the pollution of the Sirsia River did not go away

पर्सा र बारामा सिर्सिया खोलामा मात्रै २ दर्जन बढी छठ घाट छन् । घडिअर्वा अन्य पोखरीले मात्रै व्रतालुहरुको चाप धान्दैन । कतिपय व्रतालुहरुले सिर्सिया खोलाको घाटलाईनै परम्परागत छठ घाटको रुपमा प्रयोग गर्दै आएका छन् । तर यस बर्ष चैते छठमा पनि पर्सा बारा औद्योगिक करिडोरका उद्योगले खोलामा आफ्नो उद्योगबाट निस्कने रसायन र प्रदुषित अवशेष फाल्ने काम बन्द नगरेपछि व्रतालुहरु आक्रोशित छन् । खोलाको पानीमा कालो लेदो बगी रहेको छ । खोलाबाट आउने दुर्गन्धले व्रतालुलाई कष्ट भएको छ । सिर्सिया खोलाको अन्य घाटमा व्रतालुहरु प्रदुषित खोलामै छठ पुजा अर्चना गर्न बाध्य छन् । 

पर्सा बारा औद्योगिक करिडोरका २ दर्जन बढी उद्योगले यो खोलामा आफ्ना उद्योगबाट निस्कने अवशेष फाल्ने गर्दा खोला अत्यन्त प्रदुषित भएको छ । उद्योगमा बढी जसो छाला उत्पादक उद्योग छन् । झण्डै डेढ दशक देखि खोलालाई प्रदुषण मुक्त बनाउने प्रयास भई रहेपनि उद्योगले अटेर गरी रहेका छन् । पछिल्लो समय वीरगन्ज महानगरपालिकाको कार्यालयको पहलमा भएको प्रयास पनि प्रभावकारी भएको छैन । 

व्रतालुहरुले चैते छठको खरना विधि अन्तर्गत शनिबार साँझ घरघरमा रस्याउ रोटी खाएका थिए । आइतबार दिन भरी निर्जल निराहार कठोर व्रत बसेर साझ अस्ताउदो सूर्य र सोमबार बिहान उदाउदो सूर्यलाई अर्घ्य दिएर यस बर्षको चैते छठ पर्व सम्पन्न गर्ने छन् । 

व्रतालुहरुले अस्ताउदो र उदाउदो सूर्यलाई बाँसको सुपुलीमा नरीवल, केरा, अदुवा आदिको अर्घ्य दिएर यो पर्व मनाउने गर्छन् । पर्वको तीन दिन अघिदेखिनै व्रतालुहरुले शुद्ध चोखो भई खाना खाने विधि ‘नहाखाय’, दुध र गुडबाट पकाइएको खिर रस्याउ र रोटी खाने गर्छन् । पर्वको दिन निर्जल निराहार व्रत लिने र भोली पल्ट बिहान उदाउदो सूर्यलाई अर्घ्य दिएपछि मात्र व्रतालुले प्रसाद खाएर व्रत तोडने गर्छन् । 

तराईमा चैते छठ भन्दा कात्तिके छठमा बढी व्रतालु हुने गर्छन् । पछिल्लो केही बर्ष यता भने चैते छठ मान्नेहरुको संख्या पनि बढेको छ । कतिपय भाकल गरेकाहरुले चैते छठ मान्ने गर्छन् । छठको व्रत लिँदा चर्म रोग नलाग्ने, पुत्र लाभ हुने, सौभाग्य वृद्धि हुने, परिवारमा सुख, सम्वृद्धि आउने, परीवारका सदस्यहरु सम्भावित दुर्घटनाबाट जोगिने जस्ता धार्मिक विश्वास रहेको छ ।

हिन्दुधर्ममा यही मात्रै एउटा यस्तो पुजा हो, जसमा अस्ताउँदो सुर्यलाई पुजा गरिन्छ र यस पुजामा प्रायः सबै समुदायका मानिसहरु अत्यन्त श्रद्धापुर्वक सहभागी हुने गर्दछन् । 

वायु प्रदुषण

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully