काठमाडौँ — बिहीबार कोशी, मधेश र वाग्मती प्रदेशमा आंशिक देखी सामान्य बदली रहने तथा कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको बताएको छ ।
महाशाखाले जारी गरेको बुलेटिन अनुसार हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेका कारण मौसम केही खराब भएको हो । यसका कारण देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाका अनुसार भोली शुक्रबार भने अधिकांश स्थानको मौसममा केही सुधार आउने छ । यस्तै शनिबार भने देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । तर, कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
