कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

‘सेल्फी विथ डटर’

‘दाइजो र बालविवाहले गाँजेको मधेसका युवाले छोरीबेटीको सम्मानका लागि नौलो अभियान चलाउनु सराहनीय’
शंकर आचार्य

पर्सा — ३१ वर्षे तन्नेरी अनिसकान्त कुशवाहा अन्य युवा जस्तै सेल्फीमा रमाउँछन् । तर अरूको र उनको सेल्फीमा भिन्नता छ । सामाजिक सञ्जालमा पोस्ट गरिने सेल्फीमा उनीसँग चेलीबेटी मात्र हुन्छन् । 

‘सेल्फी विथ डटर’

सामाजिक सञ्जालमा उनको ‘सेल्फी विथ डटर’ अर्थात् ‘चेलीबेटीसँग सेल्फी’ अभियानले प्रशंसा पाउन थालेको छ । पेसाले हेल्थ असिस्टेन्ट उनी वीरगन्जकै लालपर्सा स्वास्थ्य चौकीका इन्चार्ज हुन् । कार्यालय समयमा बिरामीको सेवा गर्छन् । त्यसपछि आफ्नो मिसनमा लाग्छन् । चेलीबेटीको सम्मान गर्दै उनीहरूसँग खिचेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्छन् ।


उनी बढी जसो अविवाहित तथा ससाना बालिकासँग बढी तस्बिर खिच्छन् । दिदी, काकी, आमा, हजुरआमा उमेरका महिलाहरू पनि भेला गरेर सेल्फी लिन्छन् । ‘मधेसको समाजमा छोरीलाई भन्दा छोरालाई प्राथमिकता दिने चलन छ ।


छोरासँग सबैले तस्बिर खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्छन् तर छोरीसँग खिचेको तस्बिर थोरैले मात्र पोस्ट गर्छन्,’ उनले भने, ‘यसले मलाइ छोयो, त्यस कारण छोरीहरूको महत्त्व समाजलाई बुझाउन र उनीहरूलाई पनि छोरासरह सम्मान र माया दिनुपर्छ भन्ने सन्देश छर्न म यो अभियानमा लागेको हुँ ।’


सेल्फी खिच्दा कतिपय बुवाहरूले छोरीसँग खिच्दै नखिच्ने र छोराहरूलाई टाउकोमा बोकेर भए पनि खिच्ने पृत्तिसत्तात्मक सोचलाई चुनौती दिनु पनि उनको यो अभियानको अर्को उद्देश्य हो । कामको सिलसिलामा ३ वर्षअघि रौतहटको बंकुलमा एक घरमा डेरा गरी बस्दा आफूले यही दृश्य प्रत्यक्ष देखेको अनिसकान्त सुनाउँछन् ।


‘धनाढ्य र पढेलेखेका ती बाबु आफ्ना ३ छोरीहरूसँग कहिल्यै सेल्फी खिच्थेनन् तर भाइका छोरासँग सधंै सेल्फी खिचेर सामाजिक सञ्जालमा हाल्थे, उनका छोरीहरू आफ्ना बुवाले कहिले आफूहरूसँग सेल्फी खिच्लान् भनेर आशाको नजरले हेर्थे तर बाबुले भने कहिल्यै त्यसो गर्न चाहेनन्,’ अनिसकान्त भन्छन्, ‘छोरीहरू परिवार र समाजबाटै अपहेलित भए, उनीहरूको हौसला र आत्म सम्मान बढाउन पनि मैले यो अभियान थालेको हुँ ।’


अनिसकान्त आफैं पनि २ छोरीका पिता हुन् । जेठी छोरी गौरी ३ वर्षकी छिन् । कान्छी छोरी दुर्गा १ वर्षकी भइन् । ‘मैले गर्भमा रहेका दुबै सन्तानको न त लिंग पहिचान गरे, न त अब छोराको रहर नै छ,’ उनले भने, ‘मलाई छोरीको पिता हुनुमा गर्व छ, छोरा र छोरी दुबै बराबर हुन् ।’


उनी स्वास्थ्य चौकीमा आउने आमाबुवालाई पनि छोरीको महत्त्वबारे परामर्श दिन भ्याउँछन् । खोप आदि अभियान चलाउन जाँदा टोलका चेलीबेटीलाई साथै राखेर सेल्फी खिच्छन् । उनी स्वास्थ्य सम्बन्धी समस्या भएकाहरूको नि:शुल्क उपचार गर्ने, थप उपचारका लागि ठूला अस्पतालमा लग्ने र उनीहरूको उपचारका लागि सहयोग रकम जुटाउनेसम्मको काम पनि गर्छन् ।


पर्यटन व्यवसायी कर्ण शाक्यको पुस्तकमा १ रूपैयाँ अभियानबाट क्यान्सर अस्पताल निर्माण सम्भव भएको पढेपछि त्यसैबाट प्रभावित भएर यो अभियान सुरु गरेको उनले बताए । ‘कुनै पनि नयाँ अभियानको सुरुवात आफैंबाट गर्नुपर्छ,’ उनले भने, ‘अनि अरूले पनि विश्वास गर्छन्, मेरो अभियानबाट प्रभावित भएर कतिपय छोरीका बाबुहरूले पनि छोरीहरूसँग सेल्फी खिच्न थालेको र सामाजिक सञ्जालमा पोस्ट गर्न थालेको देख्दा खुसी लाग्छ ।’


गत साता वीरगन्ज आएकी चर्चित गायिका अन्जु पन्तसँग एक ग्रामीण बस्तीका बालिकासँग बसेर सेल्फी खिच्न भ्याए । अनिसकान्तको अभियानलाई अन्जुले पनि सराहिन् । ‘दाइजो र बालविवाहले गाँजेको मधेसका युवाले छोरीबेटीको सम्मानका लागि नौलो अभियान चलाउनु सराहनीय हो,’ उनले भनिन्, ‘म आफैं पनि महिला सशक्तीकरणको मामिलामा निक्कै सचेत छु, एक मात्र सन्तान छोरीकी आमा पनि हुँ ।’


सामाजिक अभियन्ता प्रकाश थारूले प्राय: कुनै पनि असल अभियानको सुरुवात एकै जनाबाट हुने र बिस्तारै समाजले त्यसलाई स्वीकार गर्दै जाने बताए । ‘अनिसकान्तको अभियानलाई पनि समाजले स्विकार्दै गएको छ,’ उनले भने, ‘चेलीबेटीको सम्मानका लागि मात्र नभई बालविवाह, दाइजो प्रथा न्यूनीकरणका लागि यो अभियान अप्रत्यक्ष रूपमा सघाउँछ ।’

प्रकाशित : मंसिर २९, २०७५ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?