कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

छोटी भन्सारलाई पूर्वाधार अभाव

भरत जर्घामगर

सिरहा — प्रमुख व्यापारिक केन्द्र लहानसँग जोडिएको पूर्वी सिरहाको ठाडीस्थित छोटी भन्सारलाई मूल भन्सार कार्यालयमा रूपान्तरण गरिए पनि पूर्वाधार अभावमा कामकाजमा समस्या भएको छ ।

छोटी भन्सारलाई पूर्वाधार अभाव

कात्तिक ७ गतेदेखि सञ्चालनमा आएको ठाडी भन्सार कार्यालय सगरमाथा अञ्चलकै प्रमुख व्यापारिक केन्द्र लहानदेखि १८ किलोमिटर दक्षिणमा पर्छ । प्रमुख व्यापारिक केन्द्र लहानसँग जोडिएकाले आव २०७५/७६ को बजेट वक्तव्यमै यसलाई महत्वाकांक्षी भन्सार नाकाको रूपमा उल्लेख गरिएको छ । मूल भन्सारमा परिणत भएसँगै शाखा अधिकृतको नेतृत्वमा नासुसहित १७ दरबन्दी छ । मूल भन्सार भए पनि ठाडी भन्सारको दैनिक कार्य अहिले पनि २०२३ सालमा निर्मित पहिलाको छोटी भन्सार रहेको कार्यालय भवनबाटै सञ्चालन भइरहेको छ । भन्सार प्रमुख उमेश भट्टराईले कार्यालय भवन बन्न नसक्दा कर्मचारीले कार्यकक्ष पनि पाउन नसकेको बताए ।


महत्त्वाकांक्षी नाकाका रूपमा लिइएकाले सञ्चालनको पहिलो वर्षमै मासिक एक करोड रुपैयाँ राजस्व असुलीको लक्ष्य ठाडी भन्सारलाई निर्धारण गरिएको छ । तर अहिले ३८ लाख रुपैयाँभन्दा बढी राजस्व भन्सारले असुली गर्न सकेको छैन । सडक र भौतिक संरचना निर्माण हुन सके निर्धारित लक्ष्य प्राप्त गर्न गार्‍हो नभएको भन्सार प्रमुख भट्टराईले बताए ।


भन्सार कार्यालयलाई बिस्तार गर्न तीन वर्षअघि ठाडीको दशगजा छेउमै २२ कठा १० धुर जग्गा खरिद गरिसकेको छ । अझ यसको बिस्तारका लागि थप ४५ कठा जग्गा खरिद गर्न आवश्यक तयारी भइरहेको उनले जानकारी दिए । ‘जग्गा खरिद गर्ने र कार्यालय भवन बनाउने काम एकै साथ हुन सके यहाँको कारोबारमा पनि गतिशीलता आउन सक्थ्यो,’ उनले भने, ‘जुन गतिमा बजेट विनियोजन र भौतिक संरचना निर्माणमा सुस्तता देखिएको छ त्यो गतिमा भन्सारको विकास हुन निकै गार्‍हो पर्छ ।’


माथिल्लो र तल्लो सगरमाथाका ६ वटै जिल्लामा दैनिक उपभोग्य सामग्रीको आपूर्ति गर्ने व्यापारिक बजारका रूपमा रहेको लहानसँग प्रत्यक्ष व्यापारिक सम्बन्ध स्थापित गर्न भारत सरकारले ठाडी नजिकको भारतीय बजार लौकहामा स्थल सीमा शुल्क कार्यालयका लागि अढाई एकड जग्गा खरिद गरिसकेको छ । त्यसलगत्तै नेपाल पक्षले तीन वर्ष अगाडि ठाडीको दशगजा छेउमै २२ कठा १० धुर जग्गा खरिद गरेको थियो ।


सडक सुविधा र छोटो दूरीका कारण भारतको मुजफरपुर र मोतिहारीबाट लहानसम्म मालसमान ढुवानी गर्दा सहज र सरल हुने भएकाले लौकहामा जोगवनी र रक्सौल सरहकै स्थल सीमा शुल्क कार्यालयको स्थापना गरिएको हो । कार्यालय भवनको भौतिक संरचना र लहान–ठाडी सडक खण्डको निर्माण हुन बाँकी ११ किलोमिटरको कालोपत्रे सडक निर्माण भइदिए यो नाकाबाट लहानसम्म मालसमान ढुवानी गर्दा नेपाली उपभोक्ताहरूले ढुवानीवापत लाग्ने चर्को महँगीको सामना गर्नुपर्ने छैन । भन्सार कार्यालयको पूर्वाधार निर्माण भएपछि ठाडी–लौकहा नाकाको भूमिका पूर्वको विराटनगर–जोगवनी र मध्य तराईको विरगञ्ज–रक्सौलभन्दा कम नहुने व्यापारीहरूको ठम्याइ छ ।


लहानका थोक व्यापारीहरूले सगरमाथ क्षेत्रका सबै जिल्लाहरूमा विभिन्न सामग्री आपूर्ति गर्न अहिले जोगवनी र रक्सौलको नाका प्रयोग गरिरहेका छन् । व्यापारीका अनुसार जोगवनीबाट नेपालका लागि आयात हुने उपभोग्य सामग्रीको मुख्य बजार भारतको मुजफरपुर हो । अहिले मुजफरपुरबाट लहानसम्म मालसमान आइपुग्न ३७६ किलोमिटरको दूरी पार गर्नुपर्ने हुन्छ । मुजफरपुरदेखि भारतको उत्तरी राजमार्गको फुलप्रास खण्ड १३० किलोमिटर, फुलप्रासदेखि जोगवनी १२० किमि र जोगवनीदेखि लहान १२६ किलोमिटर दूरी पर्छ । ठाडी भन्सार नाका व्यवस्थित हुन सके मुजफरपुरबाट फुलप्रास हुँदै लौकहादेखि लहानसम्म मालसमान ल्याइपुर्‍याउन भने १८० किलोमिटरको दूरी मात्रै पार गर्नुपर्ने हुन्छ ।


यसैगरी, नेपालतर्फ मालसमान निर्यात गर्ने भारतको अर्को उत्तरी बजार पिपरा कोठी, मोतिहारीदेखि रक्सौल हुँदै लहानसम्म मालसामान ल्याउँदा २९४ किमिको दूरी पार गर्नुपर्छ । मोतिहारीदेखि रक्सौल ७० किमि र रक्सौलदेखि लहान २२४ किमी दूरी पर्छ । मोतिहारीदेखि लहानसम्म मालसमान ल्याउन फुलप्रासको दुई सय किमि, फुलप्रासदेखि लोकहा ३० किमि र लोकहादेखि लहान १८ किमि गरी २४८ किमी दूरी मात्र पार गर्नुपर्छ ।

प्रकाशित : माघ १६, २०७५ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?