कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

ट्रयाक्टरमा नम्बर लेखिँदै

शिव पुरी

रौतहट — राजमार्गमा चल्ने अधिकांश ट्रयाक्टरको टेलर (डाला) मा नम्बर लेखिएको हुँदैन । सबारी दुर्घटनापछि पहिचानमा कठिनाइ हुन थालेकाले ट्राफिकले मंगलबारबाट टेलरको जाँच गरी सडकमै नम्बर लेख्न थालेको छ ।

ट्रयाक्टरमा नम्बर लेखिँदै

दुई दिनअघि बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई चढेको जिप ठोक्किएको टेलरको नम्बरप्लेट नभएकाले पहिचानमा कठिनाइ परेको थियो । त्यसपछि ट्राफिकले यस्तो अभियान थालेको हो ।


जिल्ला ट्राफिक चन्द्रनिगाहपुरले चाँदि पुल नजिक ट्रयाक्टर रोकेर चेकजाँच गरी सडकमै नम्बर प्लेट लेख्न लगाइएको हो । यहाँ चल्ने अधिकांश ट्रयाक्टरको टेलरमा नम्बर लेखिएका छैनन् । ढुंगा, बालुवा, गिटी लोड गरिदै आएका ट्रयाक्टर बिग्रियो भने टेलर सडकमै छाड्ने गरिन्छ । राति टेलरमा ठोक्किएर धेरै गाडी दुर्घटनामा पर्ने गरेको छ ।


राजमार्गमा छाडिएका टेलरको नम्बर प्लेट नहुँदा पहिचानमा समस्या हुने गरेको ट्राफिकले जनायो । प्रदेश ट्राफिक कार्यालय पथलैयाका प्रमुख एसपी किरण बज्राचार्यले कृषि प्रायोजनका लागि खरिद गरिएका ट्रयाक्टरमा जथाभावी अन्य समान बोक्ने गरेकाले कडाइ गरिन लागिएको बताइन् । ‘हामीले जुन प्रायोजनका लागि खरिद गरिएको हो त्यही समान बोक्न भनेका छांै,’ उनले भनिन्, ‘सवारीधनीले नियम मिचेर अन्य सामान बोक्न भाडामा लगाउने र टेलरमा नम्बर प्लेट समेत नराख्ने गरेको पाइएकाले सडकमै लेख्ने काम सुरु गरेका हौं ।’


जिल्ला ट्राफिक चन्द्रनिगाहपुरले चेकजाँचका क्रममा फेला पारेको दर्जनौ ट्रयाक्टरको टेलरमा नम्बर प्लेट नभएको पाइएको थियो । यी सबै निमय विपरीत भएको ट्राफिकले जनायो । लामो समयदेखि उनिहरूले टेलरमा नम्बर लेखेका छैनन् । ट्राफिकले पेन्टरलाई सडकमै बोलाएर नम्बर लेखाउने गरिएको छ । नम्बर लेखे बापत लाग्ने रकम ट्रयाक्टरधनीले चेकजाँच स्थलमै तिर्नुपर्छ । अधिकांश ट्रयाक्टरधनीले नम्बर लेख्न छुटेकाले गल्ती भएको बताएका छन् । जिल्ला ट्राफिकले सडकमा जाँचका क्रममा नम्बर प्लेट नभएका सवारीलाई जरिवाना गरेको छैन ।


त्यस्ता वारिको नम्बर लेखाएर छाडिने गरिएको छ । ट्राफिक प्रहरी निरीक्षक बिजय श्रेष्ठले पटकपटक नम्बर लेख्न अनुरोध गर्दा ट्रयाक्टरधनीले अटेर गर्दै आएको बताए । ‘पहिलो पटक भनेर जरिवाना लिएर छाड्ने गरियो,’ उनले भने, ‘पटकपटक भन्दा नमानेपछि सडकमै नम्बर लेखाउने काम सुरु गरेका हौं ।’ ट्रयाक्टरका अगाडि मात्र नम्बर भएकाले टेलरमा गाडी ठोक्किदा पहिचानमा कठिनाइ हुने गरेको थियो ।


चेकजाँचमा कडाइ

बारामा प्रजिअ भट्टराई चढेको जिप राजमार्गमा छाडिएको टेलरमा ठोक्किएको दुर्घटना भएपछि ट्राफिकले राजमार्गमा जथाभावी सडकमा गाडी रोक्न दिएको छैन । राजमार्गमा पन्चर र अन्य कारणले खराबी आयो भने ट्रयाक्टरधनीले इन्जिन लगेर टेलर सडकमै छाडने गरेको छ । टेलरमा राति देखिने संकेत नहुँदा ठोक्किएर दुर्घटना हुने गरेको छ ।


राष्ट्रिय राजमार्गमा जथभावी पार्किङ र बिग्रिएको सवारी रोकेर राख्न पाइँदैन । । ट्राफिक प्रनि श्रेष्ठले सडकमा नियम विपरीत गाडी रोकेर राखेको पाइए कारबाही गरिने बताए । ट्राफिकले ट्रयाक्टरधनीलाई टेलरमा खराबी आएमा तत्काल मर्मत गरि लैजान भनेको छ । यता राजमार्गमा चल्ने अधिकांश गाडी चालकको स्वास्थ्य परीक्षणलाई तीव्रता दिइएको छ ।


पूर्वपश्चिम राजमार्गमा गाडी चलाउने चालकहरूमा उच्च रक्तचाप (ब्लडप्रेसर) भएको पाइएपछि चेकजाँचमा कडाइ गरेको हो । यस्तोमा गाडी चलाउँदा दुर्घटनाको जोखिम बढ्न सक्छ । ट्राफिकले राजमार्गमा गाडी रोकेर चालकको ब्लडप्रेसर चेक गर्न थालेको हो । धेरै भए रोकेर केही बेर आराम गराई पठाउने गरिएको छ । तनाबमा गाडी चलाउँदा उनीहरूको रक्तचाप उच्च हुने गरेको हो ।


ट्राफिकले ब्लड प्रेसर, आँखा जाच गर्नका लागि स्थानीय मेडिकलबाट स्वास्थ्यकर्मीको सहयोग लिइने गरेको छ । धेरैजसो चालकको प्रेसर बढी देखिएको ट्राफिकले जनायो । त्यस्ता चालकलाई केही समय आराम गर्न लगाई सम्झाइबुझाइ पठाउने गरिएको छ । पछिल्लो केही समययता राजमार्गमा सवारी दुर्घटना बढेको छ ।

प्रकाशित : माघ १६, २०७५ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?