कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

१५ वर्षमा ७३ को ज्यान गयो

अवधेशकुमार झा

राजविराज — मानव ज्यान लिनेदेखि बालीनाली र घर क्षति गर्दै हात्ती अहिले प्रदेश २ का आठ जिल्लाको उत्तरी क्षेत्रका लागि ठूलो समस्या भएको छ ।

१५ वर्षमा ७३ को ज्यान गयो

‘राज्यले हात्ती मार्न पनि नसक्ने, हामीलाई मार्न पनि नदिने तथा प्रभावकारी नियन्त्रणको उपाय समेत गर्न नसक्दा जंगली हात्ती ज्यानमारा मात्रै होइन उठिबासै गराउने विपत्तिको रूपमा सृजना भएको छ,’ सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका अध्यक्ष परसुराम चौधरीले भने ।


हात्तीबारे विद्यावारिधि गरिरहेको पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोककुमार रामअनुसार पछिल्लो १५ वर्षमा हात्तीको आक्रमणबाट प्रदेश २ का ८ वटै जिल्लामा गरी ७३ जनाको ज्यान गएको छ । यो अवधिमा कयौं घाइते भएका छन् । मृत्यु हुनेमध्ये सबभन्दा बढी सप्तरीबाट १५ छन् । पुस ४ गते पनि जंगली हात्तीको समूहले सप्तरीको कञ्चनरूप नगरपालिकामा एक महिलाको ज्यान लिएको थियो ।


यसैगरी बारामा १३, सिरहामा ११, पर्सा र रौतहटमा ८–८, धनुषामा १०, सर्लाहीमा ७ र महोत्तरीमा १ जनाको ज्यान हात्तीको आक्रमणबाट भएको छ । मुलुकभरिकै तथ्यांक हेर्ने हो भने १५ वर्षको अवधिमा हात्तीको आक्रमणबाट २ सय ४ जनाको ज्यान गएको छ । मुलुकभरिमै १५ वर्षको अवधिमा झापा र बर्दियामा सबभन्दा बढी ३७–३७ जनाको ज्यान गएको छ ।


यो अवधिमा हात्तीले सयौंवटा घर भत्काएर क्षति पुर्‍याएको छ भने करोडौं रुपैयाँ बराबरको बालीनाली क्षति गरेको छ । पछिल्लो एक वर्ष यता हात्तीको आक्रमणबाट मृत्यु हुनेलाई सरकारले क्षतिपूर्ति बापत १० लाख रुपैयाँ र घाइतेको उपचार खर्च दिने गरेको छ । ‘अहिले त दैनिक रूपमा हात्तीको आक्रमणबाट पीडित हुनेको संख्या बढ्दै गएको छ,’ सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका अध्यक्ष परसुराम चौधरीले भने, ‘पछिल्लो ३ महिनामा मात्र हाम्रो गाउँपालिका क्षेत्र भित्र ३५ वटाभन्दा बढी घर भत्काइसकेको छ ।’


हात्ती नियन्त्रण गर्न र सर्वसाधारणलाई हात्तीको आक्रमणबाट जोगाउनु अहिले सबैभन्दा ठूलो चुनौती भएको सप्तरीको रूपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले बताए । जंगली हात्तीले दैनिक रूपमा घर भत्काउन थालेपछि सप्तरी जिल्लाको उत्तरी क्षेत्रका जनता पछिल्लो पटक आतंकित भएका छन् ।


प्रदेश २ का महेन्द्र राजमार्ग छेउछाउका बस्तीका बासिन्दा पनि सप्तरी जस्तै हात्तीको आतंकका कारण आतंकित छन् । जंगली हात्तीले दैनिक रूपमा घर भत्काउने, बालीनाली नष्ट गर्ने र सर्वसाधारणमाथि आक्रमण गर्ने खालका घटना दोहर्‍याउन थालेपछि स्थानीयहरू आतंकित भएका हुन् । जिल्लाको सप्तकोसी नगरपालिका, कञ्चनरूप नगरपालिका, खडग नगरपालिका, शम्भुनाथ नगरपालिका, सुरुंगा नगरपालिका, रूपनी गाउँपालिका र अग्नीसाइर कृष्णासवरण गाउँपालिकामा हात्ती आतंक बढेको हो ।


ती सबै स्थानीय तहहरूमा कम्तीमा चार वटादेखि बढीमा ६ वटासम्म घर हात्तीले पछिल्लो एक महिनाको अवधिमा भत्काइसकेको छ । ती गाउँहरूमा हालसम्म दुई दर्जन परिवार घरवार विहीन भई बिस्थापित भएर छिमेकी वा आफन्तको घरमा शरण लिन बाध्य छन् । ‘साँझ पर्‍यो कि सबैका निन्द्रा हराउँछन्,’ हात्तीले घर भत्काएपछि छिमेकीको घरमा बास लिइरहेका सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका बलबहादुर राइले भने, ‘बस्तीका बासिन्दाहरू समूहमा जम्मा हुने, आगो बाल्ने र टिन ठटाउँदै हात्ती धपाउने कार्य नै अहिलेको दैनिकी भएको छ ।’


कति छन् जंगली हात्ती

सहायक संरक्षण अधिकृत रामका अनुसार नेपालका पूर्वी, मध्य र पश्चिमी भागमा गरी कुल २ सय ३४ वटा हात्तीले बितण्डा मच्चाउँदै आएको छ । जसमध्ये प्रदेश नम्बर २ मा ५४ वटा हात्ती रहेका छन् । पर्सामा मात्र ४३ वटा, सप्तरीमा ६ वटा र बारामा २ वटाको संख्यामा जंगली हात्ती ओहोरदोहोर गर्छन् ।


कहाँबाट आउँछन् मानव बस्तीमा

सर्वसाधारणका घर भत्काउने, आक्रमण गरी ज्यान लिने र करोडौं रुपैयाँ बराबरको बालीनाली क्षति गर्ने हात्ती कुनै आरक्ष वा निकुञ्जमा राखिएका हात्ती भने होइनन् । ती हात्तीहरू जंगली रहेको पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रामले बताए । उनका अनुसार भारतको पश्चिम बंगाल र आसाम राज्यबाट झापा हुँदै नेपाल प्रवेश गर्ने हात्तीहरू सुनसरी–सप्तरी र उदयपुरमा फैलिएको कोसी टप्पु बन्यजन्तु आरक्ष हुँदै प्रदेश २ को पर्सासम्म पुग्ने गरेका छन् ।

प्रकाशित : माघ १६, २०७५ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?