कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

लहानमा धार्मिक पर्यटन

सिरहा — ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाका कारण लहान नगरपालिका पर्यटकीय क्षेत्रका लागि जिल्लामै सम्पन्न नगरपालिकामा परिणत भएको छ । नगरपालिकाका अधिकांश वडामा पर्यटकीय क्षेत्र छन् । ती पर्यटकीय क्षेत्रका कारण लहान नगरपालिका पर्यटनका लागि सम्भावित नमुना नगरक्षेत्र बनेको हो । 

नगरपालिकाको १२ नम्बर वडा सलहेश फूलबारी, १५ मा राजदेवी स्थान, १६ नम्बर वडामा अवस्थित काभ्रे महादेवस्थल, १७ मा देवीदह, १८ मा पकडिया गढ, २० मा ब्रम्हाण फूलबारी, २४ मा मानिक दह र खपटेडाँडा लगायत ऐतिहासिक, धार्मिक पर्यटनस्थल लहान नगर क्षेत्रभित्र छन् ।


नगरपालिकाको १६ नम्बर वडास्थित चुरे क्षेत्रको ओडारभित्र रहेको काभ्रे महादेव स्थललाई दोस्रो हलेसीका रूपमा लिइन्छ । काभ्रेपानी महादेवस्थल ओडारभित्र प्राकृतिक रूपमा उत्पत्ति भएको शिवलिङ र त्यसमाथि गाईको थुन जस्तो ओडारभित्रको छत छ । धार्मिक क्षेत्रका रूपमा मान्यता पाएकाले काभ्रे महादेवस्थलसम्म पुग्नकै लागि सडक डिभिजन कार्यालयले बाटोमा दुई वटा पुल निर्माण कार्य गरिसकेको छ ।


पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको नेतृत्वको सरकारले घोषणा गरेको बृहत् सलहेश पर्यटकीय क्षेत्रअन्तर्गतका सलहेश फूलबारी, पकडियागढ, देवीदह र ब्रम्हाण फूलबारी सांस्कृतिक सम्पदाभित्र सूचीकृत गरिसकिएको छ । ती सबै स्थानहरू राजा सलहेशको गाथासँग सम्बन्धित छन् । ती स्थानको बृहतर विकासका लागि रणनीति बनाइसकिएको छ ।


यसैगरी, नगरपालिकाको १५ नम्बर वडामा अवस्थित राजदेवी माताको मन्दिर भाकल पूरा गर्ने भगवती देवीस्थानको रूपमा परिचित छ । उक्त मन्दिरमा वैशाख पूर्णिमाका दिन बोकाको बली चढाए भाकल पूरा हुने विश्वासका कारण एकै दिनमा १० हजारभन्दा बढी बोकाको बलि दिइन्छ ।


‘यी सबै ऐतिहासिक तथा पुरातात्त्विक स्थलहरू एउटै नगरपालिकामा हुनु नै धार्मिक पर्यटनको लागि सम्पन्नताको सूचक हो’, नागरिक समाजका अगुवा राजकुमार राउत कुर्मीले भने, ‘अब लहान नगरपालिकाले यी सबै ऐतिहासिक स्थलहरूको विकास गर्न सक्यो भने यो नगरपालिका पर्यटकीय क्षेत्रका रूपमा समृद्ध नगरपालिका हुन सक्छ ।’


उनले ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको विकास, सम्पदा संरक्षण र प्रवर्द्धनका लागि नगरपालिकाले एकीकृत गुरुयोजना तयार गरेर अगाडि बढ्न जरुरी रहेको सुझाए ।


धार्मिक पर्यटन प्रवर्द्धन गर्न महोत्सव

यसैबिच लहान नगरपालिकाले धार्मिक पर्यटकीय स्थलका रूपमा विकसित हुँदै गएको लहानको आर्थिक र सामाजिक उत्थानको लागि महोत्सवको आयोजना गर्ने भएको छ । धार्मिक पर्यटनका लागि ऐतिहासिक र पुरातात्त्विक महत्त्वको स्थल यस क्षेत्रमा रहेकाले ऐतिहासिक धार्मिक पर्यटकीय स्थलहरूलाई रष्ट्रिय स्तरमा पहिचान दिलाउनका लागि चैत २५ देखि वैशाख १० सम्म महोत्सवको आयोजना गर्न लागिएको नगरपालिकाले जनाएको छ ।


‘हाम्रो लहान, समृद्ध लहान, पर्यटन सहितको सुन्दर नगर निर्माण गर्ने हाम्रो अभियान’ भन्ने नाराका साथ सुरु गर्न लागिएको महोत्सवमा आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन र कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।


५० करोडभन्दा बढीको व्यापार हुने अपेक्षा राखिएको महोत्सवबाट उठेको रकम पर्यटन क्षेत्रमा लगानी गर्ने नगरपालिकाले जनाएको छ ।

प्रकाशित : माघ १६, २०७५ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?