कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

संघीय सरकारमा फेरबदल, कोशीमा अब के हुन्छ ?

मुख्यमन्त्री केदार कार्कीलाई माओवादीसहित ४७ सांसदको समर्थन थियो । अब माओवादीले समर्थन फिर्ता लिनेबित्तिकै उनी अल्पमतमा पर्ने निश्चित छ ।
पर्वत पोर्तेल

विराटनगर — केन्द्रको सत्ता समीकरणमा फेरबदल भएपछि कोशी प्रदेश सरकार पनि संकटमा परेको छ । अब मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार फेरिने सम्भावना बढेको छ  । 

संघीय सरकारमा फेरबदल, कोशीमा अब के हुन्छ ?

कांग्रेसहितको गठवन्धन तोड्दै सोमबार एमाले, माओवादी, रास्वपा र जसपासहितको नयाँ सरकार बनेपछि कोशी प्रदेश सरकार फेरिने निश्चित भएको हो ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले कोशीमा चाँडै नयाँ सरकार बन्ने दाबी गरे । ‘गठबन्धन सरकारको समर्थनमा मुख्यमन्त्री बनेका केदार कार्कीले अब नैतिक रूपमा राजीनामा दिनुपर्छ’, भण्डारीले भने ।

कार्कीलाई माओवादीसहित ४७ सांसदको समर्थन थियो । अब माओवादीले समर्थन फिर्ता लिनेबित्तिकै उनी अल्पमतमा पर्ने निश्चित छ । कार्कीको राजीनामापछि संविधानको धारा १६८ को उपधारा ५ बमोजिम अर्को सरकार बन्ने भण्डारीको दाबी छ । सरकार निर्माण हुने अन्तिम विकल्प रहेको संविधानको धारा १६८ को उपधारा (५) अनुसार कार्की नेतृत्वमा १ सय ४२ दिनअघि सरकार बनेको थियो ।

वरिष्ठ अधिवक्ता हेमराज पन्त संसदीय प्रणालीमा बहुमत जसले जुटाउँछ उसकै सरकार बन्ने बताउँछन् । उनी भन्छन्, 'प्रदेशहरूमा एक वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने भनिएको छ । तर, नीति कार्यक्रम तथा बजेट पास भएन भने नैतिक रूपमा सरकारमा बस्न मिल्दैन, सरकार फेल हुन्छ।'

प्रदेशसभाले संविधानको धारा १६८ (२) अनुसार हिक्मत कार्कीको नेतृत्वमा एमाले र माओवादीको पहिलो सरकार २०७९ पुस २५ गते गठन गरेको थियो । पहिचानवादी आन्दोलनका कारण सरकारको एउटा घटक दल माओवादीले समर्थन फिर्ता लिएपछि सरकार गिरेको थियो । कार्कीकै पालामा कोशी प्रदेश नामकरण गरिएको थियो ।

२०८० असार २२ गते संविधानको धारा १६८ (२) अनुसार नै कांग्रेसका उद्धव थापा नेतृत्वमा सरकार गठन भएको थियो । मुख्यमन्त्री नियुक्ति प्रक्रिया संविधानविपरीत भएको भन्दै साउन ११ गते सर्वोच्च अदालतले थापालाई बर्खास्तमा गरेको थियो । तर, थापा २०८० साउन १६ गते संविधानको धारा १६८ (२) अनुसार दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए ।

भदौ १६ मा सर्वोच्चले थापालाई दोस्रो पटक बर्खास्त गरेपछि संविधानको धारा १६८ (३) अनुसार एमालेका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा २०८० भदौ २२ गते सरकार त बन्यो तर विश्वासको मत लिने आधार नभएपछि मुख्यमन्त्री कार्कीले असोज २० गते राजीनामा दिन बाध्य भए । त्यसपछि संविधानको धारा १६८ को उपधारा (५) अनुसार असोज २७ गते कांग्रेसका नेता केदार कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।

गठबन्धन दलहरूसँग विद्रोह गर्दै कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री बनेका थिए । ‘अब भने कार्कीको सरकार अल्पमतमा परेको छ’, एमालेका एक जना प्रदेश सांसदले भने,‘अब नयाँ सरकार गठनको विकल्प छैन ।’

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले केन्द्रीय सत्ता समीकरणमा फेरबदल आएपछि कोशीमा मात्रै नभएर सात वटै प्रदेशमा त्यसको प्रत्यक्ष असर पर्ने बताउँदै ढिलो चाँडो कोशीमा पनि सत्ता फेरबदल हुने बताउँदै भने,‘यो राजनीतिक प्रक्रिया हो, पार्टीको निर्णयअनुसार अघि बढ्छौँ ।’

प्रकाशित : फाल्गुन २१, २०८० १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×