कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सलहेस फूलबारीमा सुनाखरी हेर्न घुइँचो

तस्बिर : अंगद ढकाल, भरत जर्गामगर

सिरहा — चौधौं शताब्दीका प्रतापी राजा सलहेसको सम्झनामा सिरहाको ऐतिहासिक तथा धार्मिक स्थल फूलबारीमा नयाँ वर्षको अवसरमा फूल हेर्नेको घुइँचो लागेको छ । व्यापारिक केन्द्र लहान बजारदेखि चार किलोमिटर पश्चिमतर्फ भोटियाटोल चोकको दक्षिणमा अवस्थित यो फूलबारीमा सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही र उदयपुरसँगै भारतका विभिन्न स्थानबाट हरेक वर्ष वैशाख १ गते सुनाखरी फूल अवलोकन गर्न आउनेको भीड नै लाग्ने गर्छ ।

करिब १० बिघा क्षेत्रफलमा फैलिएको फूलबारी दुसाद जातिका कुल देवता प्रतापी राजा 'सलहेसको फूलबारी' नामले प्रसिद्ध छ । जहाँ प्रत्येक वर्ष वैशाख १ गते ठूलो मेला नै लाग्ने गर्छ । फूलबारीमा राजा सलहेस र दिना मालिनीको मन्दिर (गहवर) नै स्थापना गरिएको छ । पूजारी जितेन्द्र सिंहका अनुसार नयाँ वर्षको पहिलो दिन दिना मालिनी राजा सलहेसको प्रतिक्षामा मालाको रुपमा देखा पर्छिन् भन्ने धार्मिक विश्वास रहँदै आएको छ ।

फूलबारीभित्र रहेको हारम रुखलाई युवा जोडीहरू ‘लव प्वाइन्ट’को रुपमा पनि मान्छन् । हारमको रुखलाई साक्षी राखेर विवाह गरे प्रेम जीवन्त र अमर हुने जनविश्वास पनि रहेको पूजारी सिंह बताउँछन् । वनस्पति विभागले गरेको अनुसन्धान अनुसार मालिनीको मालाको रुपमा फुल्ने उक्त फूल चाँदीगाभा सुनाखरी प्रजाति हो । जुन १ हजार ५ सय मिटरसम्मको उचाइमा पाइन्छ । यसको काण्डबाट विभिन्न औषधि बनाउन पनि मिल्ने बताइन्छ ।

मिथिला क्षेत्रमा देखाइने लोक नाचहरुमा राजा सलहेसको वर्णन र गीत तथा लोकगाथामा उनका पराक्रमको वर्णन गरिएको पाइन्छ । मिथिला संस्कृतिका लोकगाथाका नायकहरुमा सलहेसको नाम अग्रणि छ । मिथिला सभ्यतामा सलहेसको गाथा तथा नृत्यहरु प्रसस्त छन् । वि.सं. १३२५ मा सिरहाको महिसोथा राज्यका राजा सलहेस र उनकी प्रेमिका मालिनीबीचको प्रेमविवाहका लागि प्रसिद्ध सलहेस फूलबारीमा नव वर्षको दिन मेला लाग्दै आएको छ ।


प्रकाशित : वैशाख १, २०८० १४:५८
प्रतिक्रिया
पठाउनुहोस्