३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

लुक्लादेखि सगरमाथा आधारशिविरसम्मको पदयात्रा

महेश केसी

सगरमाथा क्षेत्र — एउटा यस्तो गन्तव्य जहाँ पुग्न संसारभरका मानिस लालायित हुन्छन् । एक सपना, एक साहस अनि एक अनुकरणीय प्राप्ति समेत हो सगरमाथा आधार शिविर ।

सोलुखुम्बुको लुक्ला विमानस्थलमा जब काठमाडौं तर्फबाट आएको जहाज बस्छ त्यसबाट निस्किने अनेकन् देशका पर्यटक अनि उनका पथप्रदर्शक र भरियाको लर्को दुधकोशीको तिरैतिर सोझिन्छ ।कोही संसारको उचो शिर सगरमाथाको शिखर चुम्ने, कोही आधारशिविरबाट दृश्यावलोकन गर्ने अनि कोही चाही कर्मले डोर्‍याएका भरिया र पथप्रदर्शक आदि आदि । जे होस् हिमाल चढ्ने यो याममा यस मार्गमा निकै चहलपहल हुन्छ ।

सरासर हिँडेमा लुक्लाबाट तीन दिनमै आधारशिविर पुगिन्छ । समुद्री सतहबाट झण्डै ५३ सय ६४ मिटर उचाइमा अवस्थित आधारशिविरसम्म भने यसरी सरासर जान मिल्दैन । यसकारण पर्यटकहरु पहिलो दिन लुक्लाबाट मन्जो, दोस्रो दिन ३४ सय ४० मिटर उचाइमा रहेको नाम्चे बजार पुग्छन् । यहाँबाट तेस्रो दिन अलि माथि रहेको स्याङबोचेतिर रमाएर कोही फेरि नाम्चे फर्किन्छन् त कोही खुम्जुङ झरेर बास बस्छन् ।

यसपछि चौथो दिन तेङबोचे पुगेर सगरमाथा र आसपासका हिमाल नियाल्न पाइन्छ । पाँचौ दिन ४४ सय मिटर उचाइमा रहेको देङबोचे पुगिन्छ र भोलिपल्ट यहाँबाट ५१ सय मिटर उचाइमा रहेको नाकारसङ पिकसम्म पुगेर आफूलाई यहाँको वातावरणसँग घुलमिल गराउँछन् ।

सातौं दिन सुरु हुन्छ सगरमाथा आधारशिवरलाई नै गन्तव्य बनाएर सरासरको यात्रा । यस दिन कोही ४९ सय ४० मिटर उचाइमा रहेको लोबुचेमा बस्छन् त कोही ५१ सय ८० मिटर उचाइमा रहेको गोरकसेपमा बस्छन् । अनि आठौं दिन बिहान आधारशिविर पुगेर रमाएपछि फेरि गोरकसेप अथवा लोबुचेसम्म फर्किन्छन् ।

नवौं दिनदेखि भने आधारशिविर सम्म पुग्नेहरु फर्किन थाल्छन् । बाँकी दुई दिनमा ओरालो झर्दै साविककै बाटो भएर सरासर उनीहरु ११ दिनमा लुक्ला पुग्छन् । १२ औं दिन भने जहाज चढेर कोही रामेछाप हुँदै त कोही सिधै काठमाडौं पुग्छन् । यसरी करिब १२ दिनको यो अद्वितीय यात्रा सम्पन्न हुन्छ ।

यो यात्राभर संसारका अनेकन् भागबाट आएका फरक–फरक मान्छेहरुसँग उनीहरुको भाषा र भेषसँग साक्षात्कार गर्न पाइन्छ । अनि पाइन्छ सुन्दर प्रकृतिसँग रम्न, रमाउन । यो पदयात्रालाई सफल बनाउन स्वस्थ तन, तन्दुरुस्त मन अनि आँट र जाँगर भने जरुरी हुन्छ ।


प्रकाशित : जेष्ठ २, २०८१ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्