कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

डगमगाउँदै अर्थतन्त्रको जग

पाठक पत्र

नेपालको अर्थतन्त्र लामो समयदेखि कमजोर अवस्थामा रहेको यथार्थ कसैबाट लुकेको छैन । आर्थिक विकास नहुनुमा राजनीतिक अस्थिरता, जिम्मेवार नेतृत्वको स्वार्थी चरित्र, नातावाद, कृपावाद, चरम भ्रष्टाचार, कुशासनलगायत कारणलाई लिन सकिन्छ । अर्थतन्त्रको अवस्था सुधारका लागि संघीय संसद्मा प्रतिनिधित्व गर्ने सात दलका प्रमुख नेताहरू एकमत भई सामूहिक प्रतिबद्धता जनाएको खबर सार्वजनिक भएको छ ।

डगमगाउँदै अर्थतन्त्रको जग

कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘कान्तिपुर समिट–२०२४’ मा सत्ता र प्रतिपक्षमा रहेका ठूला दलका नेताहरू निजी क्षेत्रका लागि लगानीको सहज वातावरण बनाएर व्यवसायीलाई ढुक्क बनाउन पनि सहमत भएका छन् । पहिलेदेखि देखिँदै आएका यस्ता दलीय प्रतिबद्धतामाथि सर्वसाधारणको विश्वास छैन । सरकारको स्थिर नीति नहुँदा उद्यमीहरूको आत्मविश्वास घट्दै गएको छ ।

नेतृत्व परिवर्तन हुनेबित्तिकै नीति र कार्यक्रम फेरिने, राष्ट्रिय योजना आयोग विकासको मूल नीतिमा अडिग नदेखिने, निजी क्षेत्रलाई प्रोत्साहन नगरिने, विदेशमा बस्ने गैरआवासीय नेपालीले सहज ढंगबाट लगानी गर्न नपाउनेलगायत गुनासा व्यवसायीले पहिलेदेखि गर्दै आएका हुन् । छिमेकी देशहरूको सस्तो उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा उद्योग व्यवसाय फस्टाउन नसक्ने स्थिति अर्कातिर देखिन्छ ।

यता काम सम्पन्न गरेका ठेकेदारले भुक्तानी नपाएको, कतिपयले काम सम्पन्न नगरी नेताको आडमा पटकपटक म्याद थप्ने गरेको, पुराना आयोजना पूरा नगरी सरकारले नयाँ–नयाँ काममा ध्यान दिएको जस्ता स्थिति निराशाजनक छन् । सबैजसो सांसदले आवश्यक नहुँदा नहुँदै आफ्नो निर्वाचन क्षेत्रमा जबर्जस्ती नयाँ कार्यक्रम लगेर मुलुकको ढुकुटी रित्याउने गरेको, अभिभावकीय जिम्मेवारी कसैमा नहुँदा देशको समग्र विकासमा राज्यको ध्यान नपुगेको विषय अर्थतन्त्रलाई धराशायी बनाउने थप कारण हुन् ।

कृषक, व्यवसायीद्वारा उत्पादित धेरै वस्तुले स्थानीय, अन्तर्राष्ट्रिय बजार नपाउँदा उद्यमी प्रोत्साहित हुन सकेका छैनन् । एउटा सन्दर्भ जोडौं, आफ्नो देशको उत्पादन, निर्माण कार्यलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन झन्डै ४०० उद्यमी, पदाधिकारी बोकेर चिनियाँ राष्ट्रपतिले हालै गरेको युरोप भ्रमण हाम्रा निम्ति अनुकरणीय सन्दर्भ होइन र ? यावत् विषयमा सत्ताधारीको ध्यान नपुगेसम्म हाम्रो अर्थतन्त्र धराशायी बनिरहनेछ ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : जेष्ठ २, २०८१ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×