२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

जनभरोसाको केन्द्र बन्ला कांग्रेस ?

नेपालको राजनीतिक भूमिकामा आज कांग्रेस कहाँ छ भन्ने प्रश्न पहाड बनेर उभिएको छ ।
सुदर्शन आचार्य

विचार र सिद्धान्तका हिसाबले परस्पर मेल नै नखाने पार्टीहरूसंग गरिएको चुनावी एकताबाट भाँडिएको नेपाली कांग्रेसभित्रको पछिल्लो राजनीति आजपर्यन्त सङ्लिएको छैन । सत्ताप्राप्तिका निम्ति जुन तहसम्म पनि ओर्लिन तयार सभापति शेरबहादुर देउवाकै कारण कांग्रेस पार्टी स्वयम् बाहिर निस्कनै नसक्ने ‘चक्रव्यूह’ मा भासिँदै छ ।

जनभरोसाको केन्द्र बन्ला कांग्रेस ?

एकातिर पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा गुटको पर्खाल भत्काएर ‘नवीन कांग्रेस निर्माण’ बताउँदै छन् भने, अर्कातिर ‘नेतृत्व प्राप्तिको हतारो’ को भाष्य निर्माण गरेर उनीहरूको अभियानलाई नै फिक्का बनाउन खोजिँदै छ । कांग्रेसभित्र भएको के हो ? र के साँच्चै गगन–विश्वमा नेतृत्व प्राप्तिको चाहना ‘समयअगावै’ भएकै हो त ? यी प्रश्नको जवाफ ‘नक्कली भुटानी शरणार्थी प्रकरण’ लगायतका बेथितिमा देखिएको कांग्रेसको मौनतासँग जोडेर खोजिनुपर्छ ।

पार्टीको केन्द्रीय समितिको बैठक बसोस्–नबसोस्, केन्द्रीय समिति, विभाग तथा भ्रातृ एवं शुभेच्छुक संस्थाले पूर्णता पाऊन्–नपाऊन् भन्ने विषयलाई त कांग्रेसको आन्तरिक मामिला मान्न सकिएला । तर सुशासन, समृद्धि र डेलिभरीका सन्दर्भमा कांग्रेसले पहलकदमी लिँदै लोकतन्त्र र संविधान तथा संवैधानिक संस्थाहरूको पहरेदारी गरोस् भन्ने जनताको आकांक्षालाई बेवास्ता गर्न मिल्दैन । यसका निम्ति ‘युग चेतना’ भएको नेतृत्व आवश्यक छ । इतिहासतिर फर्किएर हेर्दा २००७, २०४६ र २०६२–०६३ गरि तीन–तीन वटा आन्दोलनको नेतृत्व कांग्रेसले गर्‍यो । सात सालको आन्दोलनको नेतृत्व गर्दै गर्दा बीपी कोइरालामा तत्कालीन समाजले खोजेको ‘युग चेतना’ थियो । राष्ट्रिय/अन्तर्राष्ट्रिय घटनाक्रमसँगै उनले समाजको ‘पदचाप’ बुझेकैले ०७ सालमा ऐतिहासिक परिवर्तन सम्भव भयो ।

बीपी कोइराला ‘वामपन्थी’ प्रति त्यति उदार नरहेको बुझ्न कठिन छैन । तर, ०४६ सम्म आइपुग्दा नेपालमा परिर्वतनका निम्ति वामपन्थीसँग एकता अपरिहार्य देखेरै सर्वोच्च नेता गणेशमान सिंहले आन्दोलनमा सहकार्यको नीति लिए र परिवर्तन पनि सम्भव भयो । २०४६ को परिवर्तनपश्चात् हारेको शक्ति ‘राजा’ लाई समेत मिलाएर संविधान जारी गरी परिवर्तित राजनीतिलाई ‘ट्र्याक’ मा लैजान कृष्णप्रसाद भट्टराई सफल भए । जब २०५२ बाट मुलुकमा ‘रक्तपात’ प्रारम्भ भयो । तब, ‘गणतन्त्र र शान्ति प्रक्रिया’ को युगबोध गर्दै गिरिजाप्रसाद कोइरालाले मुलुकलाई नयाँ ढंगको निकास दिए । असहमतिका बाछिटाका बावजुद दोस्रो संविधानसभाको निर्वाचनपश्चात् कांग्रेस नेता सुशील कोइरालाकै अगुवाइमा आजको संविधान जारी भयो । तर नेपालको राजनीतिक भूमिकामा आज कांग्रेस कहाँ छ भन्ने प्रश्न पहाड बनेर उभिएको छ ।

आज जनताले देशको बजेटमा आफूलाई खोज्ने हुन् । तर, कांग्रेस नेतृत्व हिजो राज्यशक्तिको आडमा लुटतन्त्रको सञ्जाल निर्माण गरेर मच्चाइएको ‘वाइडबडीदेखि नक्कली भुटानी शरणार्थी प्रकरणसम्म’ मा पो भेटिन थाल्यो । ‘डेलिभरी र सुशासन’ आजको युग चेतना हो भन्ने गगन–विश्वबाहेकले भेउ नै पाउन छाडे । यही चेतनाको झड्काले ब्युँझिएका ‘गगन–विश्व’ अहिले पुस्तान्तरणसहित रूपान्तरणका लागि गुटको पर्खाल भत्काएर माथि उठ्ने आह्वान गर्दै छन् । संस्थापन पक्ष भने उनीहरूमाथि कटाक्ष गर्दै छ ।

कोभिडकालदेखि थलिएको अर्थतन्त्र, भ्रष्टाचारका दर्जनौं काण्ड र अस्थिरतालाई नै मलजल गर्ने मूलधारका राजनीतिक दलका कर्मले जनतामा व्यापक निराशा छाएको छ । उपनिर्वाचनको परिणाम र राजनीतिमा ‘रवि, बालेन र हर्क’ को उदयले ‘तरंग’ पैदा गरिदिएको छ । यही बीचमा उठ्दै गरेको ‘संघीयता र मिश्रित निर्वाचन प्रणाली’ को खारेजीको विषयले पनि नेपाली राजनीतिक बजार बिस्तारै तात्दै छ । तर, राष्ट्रिय घटनाक्रममा भेटिनै मुस्किल कांग्रेसको संस्थापन पक्ष भने उल्टै गगन–विश्व माथि ‘सभापतिको गल्ती खोज्न’ मात्र सीमित भएको भाष्य निर्माण गर्दै छ ।

यथास्थितिवादी धारका कारण कांग्रेस यति धेरै ‘ड्यामेज’ भैसक्यो कि, अब ‘ड्यामेज कन्ट्रोल’ का निम्ति स–सानो परिवर्तनले मात्र सम्भवै छैन । आज भुटानी शरणार्थी प्रकरण, पार्टीका विभाग गठन, केन्द्रीय समितिको पूर्णता तथा भ्रातृ संस्था गठन, बजेटको समानुपातिक वितरणमार्फत विकास, युवाको स्पिड, चुनावी समीक्षा आदिमा कांग्रेस भेटिन छाड्यो । भेटिन थाल्यो त केवल अनियमिततामा । यसको राम्रो हेक्का पाएका गगन–विश्व मा ‘छटपटी’ देखिन्छ भने, संस्थापन पक्ष उल्टै आसन्न केन्द्रीय समिति बैठकमा ‘बेथितिको हेडक्वाटर’ का रूपमा देखिएका देउवाकै ‘रक्षाकवच’ भएर उभिने तयारीमा छ । यी दुवै धारभन्दा आफूलाई पृथक राखेर ‘राजनीतिक बेनिफिट’ लिने सुषुप्त तयारीमा छन्— डा. शेखर कोइराला ।

कांग्रेस पार्टीभित्रको ‘तीन लाइन’ संघर्षले जुनै बाटो लिओस्, त्यो कांग्रेसको आन्तरिक मामिला भयो । तर, जनताले खोजेको चाहिँ ‘वाइडबडी’ होस् कि ‘नक्कली भुटानी शरणार्थी प्रकरण’ वा अन्य जुनै खाले भ्रष्टाचारका घटना, कांग्रेसका वा जुनसुकै दलका जोसुकै परून् तीमाथि छानबिन र कारबाही हुनुपर्दछ भन्ने नै हो । नेपालमा भ्रष्टाचारको विषय पनि अनौठो बन्दै छ । कानुन तलकालाई मात्रै लाग्ने तर पैसा भने माथि–माथि पुग्ने । राज्यशक्तिको उपल्लो तहमा ‘कार्यकर्ताको बल’ मा पुग्ने र लोकतन्त्र प्राप्तिको आन्दोलनमा योगदान नै नपुर्‍याएकादेखि जनताबाट अनुमोदित भएर आउनै नसकेकाहरू नै ‘लुटतन्त्र’ निर्माणको सञ्जालै बनाएर लाग्ने कांग्रेस जनताले खोजेका होइनन् । देउवाकै सन्दर्भ उठाउनुपर्दा इतिहासमा सर्वाधिक अवसर पाएर पनि निराशाजनक नेतृत्व दिने व्यक्ति हुन् उनी । देउवा नेतृत्वको कांग्रेसले न त हिजो ‘सबल प्रतिपक्ष’ को भूमिका खेल्न सक्यो, न त आज सबैभन्दा ठूलो दल भएर पनि सत्तामा नै कांग्रेसको नेतृत्व भेटिएको छ । सरकार वा पार्टीको सत्तामा भेटिएको कांग्रेस त केवल ‘अतिवादको वृक्ष’ झांगिन दिने प्रवृत्तिको मात्र छ ।

कांग्रेसभित्रको सुधारले मुलुकको राजनीति तथा शासन व्यवस्थामा आधा सुधार त्यसै हुन्छ । राजनीतिक सुधारको पहिलो सर्त नै कांग्रेस सुधार हो । भू–राजनीतिक चलखेल, राज्यशक्तिको आडमा निम्त्याइने नीतिगत भ्रष्टाचार, दलहरूप्रतिको वितृष्णा आदिलाई चिर्दै सुशासन र डेलिभरीमा केन्द्रित कांग्रेस निर्माणले मात्र जनता र कांग्रेस जोड्न सम्भव छ । कांग्रेस नेतृत्व परोक्ष रूपमा सम्भ्रान्त परिवारमा पुग्दा कांग्रेस र जनताबीचको दूरी फराकिलो बन्दै गयो । यस्तो बेला ‘स्टन्टवाला’ हरू राजनीतिमा हावी भए भने कांग्रेस, एमाले, माओवादी केन्द्रजस्ता पार्टीले ‘इतिहास भजाएर’ मात्र जनतामा टिकिराख्न सम्भव हुन्न । उनीहरू निमेषभरमा समाप्तिको बाटामा जान सक्छन् । जीवनको उत्तरार्द्धमा पुगेका नेतालाई यो विषयको ‘हेक्का’ नै छैन भने ‘हेक्का’ भएको पुस्ताको हातमा ‘पार्टी र पद्धति’ को लगाम छैन ।

अब केन्द्रीय समितिमा भएको बहुमतको आडमा इतरपक्षको आवाजलाई नदबाइने हो भने मात्र ‘कांग्रेस’ विगतका ऐतिहासिक घडीहरूमा जस्तै ओजनदार पार्टी बन्न सम्भव छ । वैचारिक निकटता नै नभएका पार्टी पछाडि मात्र कुदिरह्यो भने कांग्रेसको आफ्नो आन्तरिक जीवन मात्र नभएर प्रजातन्त्र र मुलुकका निम्तिसमेत क्षति हुनेछ ।

प्रकाशित : श्रावण १, २०८० ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?