कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिलाको साथी सहकारी

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका पदाधिकारीले महिलाका सफल सहकारी संस्थालाई तर्साएर हुन्छ कि फकाएर, गाभिन दबाब दिइरहेका छन् ।
प्रतिभा सुवेदी

काठमाडौँ — काभ्रेकी सरस्वती अधिकारी १९ वर्षअघि २ लाख रुपैयाँँको जग्गा किन्ने भइन् । जग्गाधनीलाई २५ हजार रुपैयाँँ बैना दिइन् । पूरा पैसा जुटाउन नसकेपछि उनले बैना फिर्ता लिनुपर्‍यो । ‘अहिलको जस्तो अवस्था भए बैना फिर्ता गर्नुपर्ने थिएन,’ उनी भन्छिन्, ‘सहकारी संस्थाले सहजै ऋण दिन्छन् ।’

अधिकारीले भनेजस्तै गाउँगाउँमा सहकारी संस्था खुलेपछि धेरैलाई आर्थिक समस्याको गाँठो फुकाउन सजिलो भएको छ । सहकारीबाट ऋण लिएर घरजग्गा खरिद, व्यवसाय सञ्चालनलगायत काम गरेकाहरू थुप्रै छन् । सहकारीकै कारण महिलाहरू आत्मनिर्भरतातर्फ उन्मुख हँुदै गएका पनि छन् । सहकारीले बचत गर्ने संस्कृति पनि विकास गरेको छ ।


कुनै समय महिलाको हातमा पैसा पर्न कठिन हुन्थ्यो । उनीहरूका लागि अहिले सहकारी संस्था साथी भएको छ । कतिपय संस्थामा महिलाहरू दिनरात नभनी काम गर्छन् । त्यस्तो मेहनतको लेखाजोखा छैन । सहकारी संस्थामा विपन्न र महिलाको पहुँच भने कम छ । कतिपय महिलाले बचत समूहहरू बनाएका छन् । समूहमा पैसाको कारोबार गर्छन् । यसले उनीहरूको जीवनस्तर सुधार भएको छ । यस्ता सहकारी र समूहले महिलाको आर्थिक सशक्तीकरणमा मद्दत गरेका छन् ।


समाजमा व्यक्ति हुन् या संस्था, रातारात धनी हुने लालसा देखिन्छ । आर्थिक अपराधका घटना धेरै भइरहेका छन् । सहकारी संस्थाहरूमा रातारात धनी हुन खोज्नेहरू पनि छन् । चर्को ब्याज लिएर सदस्यलाई शोषण गर्ने सहकारी यत्रयत्र छन् । संस्था धनी बन्ने तर सदस्य दुब्लाउँदै जाने परिपाटी हाबी हुँदै गएको छ ।


सहकारी संस्थाहरूले जनचेतना जगाउने, व्यावसायिक सीप सिकाउने तालिमहरू पनि सञ्चालन गर्ने गरेका छन् । संस्था आबद्ध महिलाहरू समस्यामा आवाज उठाउन सक्ने भएका छन् । एकअर्काको समस्यामा सहयोग गर्ने संस्कार विकास भएको छ । पचास, सय रुपैयाँका दरले मासिक बचत संकलन गर्ने सहकारी संस्थाहरू करोडौंको कारोबार गर्ने भइसकेका छन् ।


छिट्टै धनी बन्न खोज्दा कतिपय सहकारी संस्थामा समस्या छ । सहकारी आयोगका अनुसार १३२ सहकारी संस्थाले नौ हजारभन्दा बढी निक्षेपकर्ताको ११ अर्ब रुपैयाँ हिनामिना गरेका छन् । ती संस्थाबाट निक्षेपकर्ताले एक पैसा पनि सावाँ तथा ब्याज पाउन सकेका छैनन् । समस्या व्यवस्थान गर्न समिति गठन गरिए पनि समितिले ठोस कदम चाल्न सकेको छैन ।


कतिपय ठाउँमा सहकारी संस्थाहरू गाभेर पनि सञ्चालन गरिएका छन् । खासगरी नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका पदाधिकारी मर्जर अभियानमा लागेका देखिन्छन् । उनीहरू महिलाका सफल सहकारी संस्थालाई तर्साएर हुन्छ कि फकाएर, गाभिन दबाब दिइरहेका छन् । यसले कतिपय सहकारी संस्थाका सदस्यमा अन्योल पैदा गरेको छ ।


सहर र गाउँमा विपन्नहरूका बीच काम गर्ने सहकारीको अवस्था फरक छ । घरैपिच्छे साइनबोर्ड भएका सहकारी संस्था गाभ्न आवश्यक भए गर्नुपर्छ । सदस्यलाई केन्द्रविन्दु बनाएर काम गरिरहेका सहकारीलाई गाभ्नु हुँदैन । सहकारी संघसंस्था एकीकरण कार्यविधि २०७० ले पनि एकीकरण प्रक्रियालाई बाध्यात्मक बनाएको छैन । ससाना समुदायमा सफल भएका र विपन्न तथा महिलामैत्री सहकारी संस्थालाई गाभ्न सहज पनि हुँदैन ।


सहकारी संस्थाका सन्दर्भमा नीति, कानुन बनाउँदा सदस्यहरूको भन्दा सञ्चालकहरूको हितलाई प्राथमिकता दिने प्रवृत्ति छ । सरकारले गत वर्ष ल्याएको सहकारी विधेयक पारित हुन लामो समय लाग्नु,

झन्डै सात सयवटा संशोधन पर्नुको कारण पनि त्यही हो । सहकारीको मूल्य, मान्यताअनुसार संस्थाहरूलाई सरकारले सुदृढीकरण गर्न जरुरी छ ।

प्रकाशित : पुस ३, २०७५ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?