हातमा कीटाणुको खात

सबैभन्दा चलायमान अंग हातले कीटाणुलाई आश्रय मात्र दिँदैन, अरू भाग र अरूका शरीरतिर विस्तार पनि गरिदिन्छ ।
रामचन्द्र अधिकारी

काठमाडौँ — हात धुनका गाह्राले वा धुने वातावरण नभईकन खानुपर्ने स्थिति आए भनिन्छ— आफ्ना हात जगन्नाथ । आशय हो, हात आफ्नै हुन्, सफा र पवित्र छन् । वैज्ञानिक हिसाबले भने यो स्वीकार्य छैन । बरु वैज्ञानिक उखान बनाउन सकिन्छ— आफ्ना हात : कीटाणुका खात । 

हाम्रो शरीरका तीनवटा सबैभन्दा फाहोरी अंगमध्येको एक हो, हात । हातमा करोडौं हानिकारक ब्याक्टेरियालगायतका कीटाणु हुन्छन् । सोचौँ, हात आफ्नै जिउको कताकता घुम्छ ? यसले केके समाउँछ, छुन्छ ? सबै ठाउँबाट रोगका कारक कीटाणु हातमा सरी आउँछन् ।

ढोकाको हेन्डल, पैसा, मोबाइल सेट, गाडीका हेन्डल, कम्प्युटरको किबोर्ड अनि आफ्नै शरीरका अंगहरू मात्र छोइएको हो भने मात्रै पनि १० करोडवटा ब्याक्टेरिया हातको प्रतिवर्ग इन्च क्षेत्रफलमा रहन्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार सर्वसाधारण मानिसको हातका टुप्पामा ब्याक्टेरियाका करिब ४६ लाखवटा टुकडी प्रतिवर्गसेन्टिमिटरमा पाइने गरेको छ ।

चर्पीमा दिसा गरेर मलद्वार सफा गरीफर्केको मानिसका हातमा २० करोड ब्याक्टेरिया प्रतिइन्च टाँसिएर आउँछन् । मानिसको हातमा बस्ने वा हातबाट सर्ने कीटाणुहरूले डिसेन्ट्री, हैजा, टाइफाइड, हेपाटाइटिस ए, सार्स, इन्फ्लुएन्जा, कन्जक्टिभाइटिसलगायत अनेक रोग लगाउँछन् । साइटोमेगालो भनिने हानिकारक भाइरस र क्यान्सर लगाउने इपिस्टेन बार भाइरसको बासस्थान पनि हातै हो ।

ओसिला हात कीटाणुका लागि अनुकूल हुन्छन् । ओसिलामा सुक्खाको भन्दा एक हजार गुणा बढी ब्याक्टेरिया हुने गरेको अध्ययनहरूले देखाएका छन् । हातमा टाँसिएका ब्याक्टेरिया तीनदेखि ४८ घण्टासम्म बाँच्छन् । त्यसबीचमा प्रजनन गरिसकेका हुन्छन् । एउटा टुकडीमा सातै घण्टामा सन्तान बढेर २० लाख ९७ हजार पुग्छन् ।

स्वास्थ्यका क्षेत्रमा काम गर्ने विविध संस्थाहरूको अनुसन्धानले भनेको छ— हातमा सात जातिका १५० प्रजाति ब्याक्टेरिया, छ जातिका फन्जाई, दुई जातिका यिस्ट प्रायश: स्थायी बासिन्दाका रूपमा रहन्छन् । कुनै कामका लागि मुख, नाक, आँखा वा जनेन्द्रियमा हात पुर्‍याएको खण्डमा ती उतै पनि विस्तार हुन्छन् र उताका पनि हातमा टाँसिएर आउँछन् ।

अमेरिकाको रोग रोकथाम तथा नियन्त्रण केन्द्रले एक प्रतिवेदन सार्वजनिक गर्दै भनेको छ— ८० प्रतिशत संक्रमण फोहोरी हातका कारण हुने गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक साल ३५ लाख बालबालिका झाडापखालालगायत श्वासप्रश्वाससम्बन्धी संक्रमणबाट मर्ने गरेका छन् । यस्ता संक्रमण हातकै माध्यमबाट हुने उसले भनेको छ । अविकसित देशका २० प्रतिशत बालबालिका हातबाट हुने संक्रमणबाट पीडित हुने गरेको तथ्यांक छ ।

हातमा बस्ने अनि पैसा (नोट), मोबाइल फोन, क्रेडिट कार्डलगायतका हातहातै चल्ने सामग्रीमार्फत फैलिएर कीटाणुले अरूलाई पनि असर गर्ने समस्या प्रशस्त छ । बेलायतको मेट्रो नामक संस्थाको अध्ययन प्रतिवेदन भन्छ, १० प्रतिशत क्रेडिट कार्ड र १६प्रतिशत मोबाइल फोनमा दिसाको अंश र दिसामै पाइने सूक्ष्म हानिकारक जीव पाइए । सन् २००२ मा छापिएको साउथन मेडिकल विज्ञान पत्रिकाका अनुसार चलिरहेका ९४ प्रतिशत पैसामा दिसाको अंश पाइन्छ ।

यी दृष्टान्तबाट भन्न सकिन्छ, हाम्रा हातजत्तिकै मोबाइल, पैसा, क्रेडिट कार्डलगायतका हाते सामग्री पनि फोहोर छन् । धेरैका हात परिरहने अफिसमा कम्प्युुटरको किबोर्ड, दराज र ढोकाका हेन्डल कीटाणुका खानी हुन् । बीबीसीले सन् २००४ को एउटा लेखमा लेखेको छ— निकै व्यवस्थित र सफा मानिएको अफिसका सामग्रीमा प्रतिवर्ग इन्चमा २० हजार ९६१ वटा कीटाणु हुन्छन् । हातबाटै सबै खालका हेपाटाइटिसका भाइरस, धेरै किसिमका जुका र जुम्राका लिखासमेत सर्न सक्छन् ।

ग्लोबल हाइजिन काउन्सिल भन्ने संस्थाले गरेको एक सर्वेक्षणका अनुसार ५३ प्रतिशत मानिस दिसा गरेपछि हात धुन्छन् तर पिसाबपछि हात धुनेको संख्या साह्रै न्यून छ । सादा पानीले मात्र हात धुँदा खास प्रभाव पर्दैन, साबुन वा अन्य अन्य एन्टिब्याक्टेरियल रसायनमिश्रित वस्तु (एन्टिसेप्टिक) ले धुनुपर्छ । फेरि कति बेरसम्म मिच्ने र कसरी पूरा हात सफा हुने गरी धुने भन्ने कुराको पनि हेक्का राख्नुपर्छ ।

साधारणतया आँखाले देखिने गरिको फोहोर नटाँसिएको हात २० सेकेन्डसम्म मिचेर मात्र पखाल्नुपर्ने सम्बन्धित क्षेत्रका जानकारहरू बताउँछन् । फोहोरी हात र हातमा कीटाणु अनि तिनीहरूबाट हुने संक्रमणबाट सर्वसाधारण मात्र होइन, भीआईपीहरूसमेत पीडित छन् । हात मिलाएर अभिवादन गर्नेहरूले हातका फोहोर र रोगजन्य कीटाणु साटासाट गरिरहेका हुन्छन् ।

मानिसको शरीरका मुख्य फोहोरी अंगहरू मुख, हात, मलद्वार, नाक, छाला आदि हुन् । सबैभन्दा चलायमान अंग हात भएकाले यसले कीटाणुलाई आश्रय मात्र दिदैन अरू भागमा र अरूका शरीरतिर विस्तार पनि गरिदिन्छ । हात मात्र सफा राख्ने हो भने यस्ता संक्रमणमा २० प्रतिशतले गिरावट ल्याउन सकिन्छ । सफा मोबाइल र सफा पैसा कसरी बनाउने भन्ने ठूलो चुनौतीको विषय हो ।

तथापि सावधानी भने अपनाउन सकिन्छ । जस्तै– बच्चालाई मोबाइल र पैसा खेलाउन वा टोक्न नदिने, पैसा गन्ने व्यवसायी र कर्मचारी बाहेककाहरूले पैसा चलाएपछि हात धुने, हात मिलाएर अभिवादन व्यक्त गर्नुको विकल्परोज्ने, अफिसमा हात पुछ्न एन्टिमाइक्रोब्स कागजको प्रयोग गर्ने उपाय अपनाउन सकिन्छ ।
लेखक त्रिवि स्नातकोत्तर क्याम्पस विराटनगरका उपप्राध्यापक हुन् ।

प्रकाशित : मंसिर २४, २०७५ ०८:०४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कुनाथरीमा बलेको कृषिको दियो

कृषि विकासले मात्र हाम्रो समृद्धिको दूरदृष्टि पूरा हुन्छ भन्नेमा कुनाथरीका विद्यार्थी, अभिभावक र शिक्षक सबै स्पष्ट छन् ।
कृष्णप्रसाद पौडेल

काठमाडौँ — भारतीय प्रसिद्ध कवि रवीन्द्रनाथ टेगोरले अस्ताउँदै गरेको सूर्य र उज्यालो छर्ने दियोबारे मार्मिक कविता लेखेका छन् :

डुबते सुरज ने कहा.
मेरा काम सम्हालेगा कौन ?
सम्पूर्ण जगथानिर उत्तर मौन ।
एक मिट्टी के दिये ने कहा झुकाकर माथ
हमे दिजिए
जितना बनेगा करुंगा नाथ ।

अस्ताउँदो सूर्यले जगलाई सोध्यो म त अस्ताउँदै छु तिमीलाई उज्यालो कसले देला ? यस्तो प्रश्न सुनेर जग मौन थियो । एउटा माटाको दियोले झुकेर भन्यो— मलाई जिम्मा दिनुस् जति सक्छु, गर्छु । सुर्खेतको बड्डीचौर, कुनाथरीका कुनाकुना चहार्दा यो कविता सम्झिँदै उद्वेलित भइरहें ।

बराहताल गाउँपालिकाको कुनाथरी गाउँमा रहेको जनज्योति माविका प्रध्यानाध्यापक नारायण सिग्देलले माटाको दियोले जस्तै काम गरेर गरे के हुँदैन भन्ने बलियोप्रमाण पस्केका छन् । २९ वर्षदेखि अध्यापन गरिरहेकासिग्देल सरले रोजगारी र शिक्षालाई सँगसँगै जोडेका छन् । भविष्यका स्वाभिमानी र आत्मनिर्भर किसान तयार पार्नेे अभियानमा जुटेका छन् ।

विद्यार्थीलाई केन्द्रमा राखेर शिक्षक र अभिभावकलाई १२ बजेको घडीको सुई एकै ठाउँ भएजस्तै गरेर राख्न सक्नु उनको सफलताको कडी हो । यस विद्यालयमा कृषि पढ्ने ३ सयभन्दा बढी विद्यार्थीबाट सिक्न सकिने मुख्य कुरा भनेकै किसान हुनु ग्लानि हैन गर्वको विषय यो ।

आफ्ना बाआमाले कस्तो दु:खले आफूलाई पढ्न पठाउँदा रहेछन् भन्ने कुरा खेतीको काम गर्न थालेपछि मात्र थाहा भएको नुवाकोटका सृजना श्रेष्ठ र गोरखाका विनिता भण्डारीले यहीँ पढ्दा बुझे । कृषिकर्ममै फर्किनेमा पक्का छन् उनीहरू । योभन्दा ठूलो अनुभव जन्य सिकाइको मर्म के होला ?

‘पातमा पानी हालेर हँुदैन जरामा हाल्नुपर्छ,’ नारायण गुरुले साना कक्षाका विद्यार्थीको सिकाइमा पनि जोड दिए । यो विद्यालयमा पढ्ने सबै विद्यार्थी खेतीपाती गर्न रमाएका छन् । एक कक्षामा पढ्ने गाउँका नानीहरूले घरमा लगाएको तरकारीका नामहरू फरर भनेको सुन्दा होस् या चार–पाँच कक्षा पढ्ने भाइबहिनीले आफूले लगाएको काउलीमा पानी हाल्दै गरेको हेर्दा होस् यसको मर्म देखिन्छ ।

यो देख्दा पोहोर काठमाडौंको एउटा बोर्डिङ स्कुलमा पढ्ने सानो विद्यार्थीले शैक्षिक भ्रमणका क्रममा उपत्याकाबाहिर जाँदा बोटमा केरा फलेको देखेर त्यो रूखमा केरा किन राखेको हो भनेर आफ्नै शिक्षकलाई सोधेको प्रसंग याद आइरह्यो ।

यी गुरु कृषि सपार्न मात्र हैन सामाजिक विभेद हटाउनसमेत लागेका छन् । उनी यस विद्यालयमा पहिलो पटक आउँदा विद्यालयमा छोइछिटो गर्ने चलन थियो । ‘विद्यालय आएको केही दिनमै जनै लगाएको म
बाहुनले दलित विद्यार्थीसँग बसेर खाजा खाएपछि यो विभेद अन्त्य भयो,’ उनले सुनाए ।

विद्यालयमा पठनपाठनका लागि उनले सबै पक्षमा ध्यान पुर्‍याएका छन् । महिनावारी हुने नानीहरूका लागि विद्यालयमै प्याड राखिएको छ । उनीहरूका लागि छुट्टै शौचालयको व्यवस्थासमेत छ । शौचालयका पिसाब संकलन गरी खेतीपातीमा मलको रूपमा प्रयोग गरिएको छ ।

कृषि विकासले मात्र हाम्रो समृद्धिको दूरदृष्टि पूरा हुन्छ भन्नेमा कुनाथरीका विद्यार्थी, अभिभावक र शिक्षक सबै स्पष्ट छन् । नेपालको समृद्धिको मुख्य आधार कृषि विकास हो । पुनरुत्पादन क्षमतामा वृद्धि गरी यसलाई उन्नत बनाउन नसक्ने हो भने हाम्रो जीविका सुरक्षित छैन ।

कुनाथरीका खेतबारीमा आफैं खेतीपाती, बस्तुभाउ, माछा र मौरीपालन गरेर यो कुराको पुष्टि गर्ने प्रयत्न गरिरहेका छन् उनीहरू । नेपालको ग्रामीण अर्थतन्त्रमा एटीएम कार्ड भनेर चिनिने बाख्रा, कुखुरा या तरकारी खेतीलाई प्राथमिकतामा राखेर यहाँ विद्यार्थीका पचासौं परियोजना सञ्चालनमा छन् । यसले खानेकुराका साथै आम्दानी र रोजगारीका लागि कृषि भन्ने मर्म आत्मसात् गरिएको देखिन्छ ।

‘गर्नेलाई चाहना भए पुग्छ, बहाना त नगर्नेले बनाउँछ,’ नारायण गुरु विद्यालय र आफूले गरेको खेतीपातीप्रति गर्व गर्छन्, ‘अरूले पढ्न पैसा तिर्छन् । यहाँ पढ्ने विद्यार्थीहरू पैसा कमाएर घर पठाउँछन् ।’ यस अभियानबाट उत्साहित नवलपुरका उमाकान्त भुसालले सुनाए, यस्तो गर्न सके पो । देश नेताका गफले मात्र के बन्ला र ?

परिसरभित्रै बैंकिङ सेवा राखेर विद्यालयले विद्यार्थीले कमाएका पैसा घर पठाउन थप सहज बनाएको छ । गाउँलेहरूले विप्रेषणको रकम लिने र बचेका पैसा राख्ने त छँदैछ । सानाकिसानले सामान्य ऋण सहुलियत नपाएर खेती गर्न नसकेको अवस्थामा, एउटा विद्यालयलेआफ्ना विद्यार्थीलाई ऋण दिएर कृषिप्रति उत्साहित बनाउने यो कदम प्रशंसनीय छ । अहिलेसम्म विद्यालयले १० लाख लगानी गरेको छ ।
विद्यालयको पढाइ व्यवस्थित गर्न टोल शिक्षा समिति बनाइएका छन् । गाउँमा गल्ने तथा नगल्ने फोहोर खासगरी प्लास्टिकको व्यवस्थापन गरिएको छ । गाउँको सालघारी र सुनद्धारी टोलमा पाहुनाघर सञ्चालनमा आएको छ । पाहुनाघर सञ्चालन गर्नेे गाउँलेका सरल व्यवहारले कुनाथरीको सामाजिक, सांस्कृतिक परिदृश्य झल्काउँछ ।

हाम्रो कृषि अहिले इतिहासमै सबैभन्दा बढी कमजोर छ । किसानले एक्लै थेग्न नसकेर खेतीपाती कमजोर हुँदै गएको हो । राज्यले कृषिलाई हेर्ने दृष्टिकोण अहिलेभन्दा फराकिलो नबनाई यसको विकास सम्भव छैन । यस्तो अवस्थामा सम्भावनाको खोजी गर्न सफल देखिन्छन् नारायण गुरु । गरे के हुँदैन भन्ने उदाहरण हुन् उनी ।

हाम्रो परम्परागत खेती प्रणालीलाई उन्नत बनाउँदै लैजाने, खानेकुरामा आत्मनिर्भर हुने र तुलनात्मक लाभका कृषिउपजको व्यावसायिक प्रवद्र्धन गर्ने कुराको विकल्प छैन । यो कुरा आत्मसात् गरेर हाम्रो कृषि दोस्रो पुस्तामा बुझाउने बलियो विकल्प प्रस्तुत गर्ने कुनाथरीको जनज्योति विद्यालय बधाइको पात्र हो ।

केही पहिले नेपालकै सबैभन्दा ठूलो कृषि क्याम्पस रामपुरको फेरो मारेको थिएँ । परिसरभित्रका वनमारा झारले आफैंलाई गिज्याएझैं लागिरह्यो । योसँगै केही वर्षअघि स्थापना भएको कृषि वन विश्वविद्यालय र त्रिविविअन्तर्गतका कृषि तथा पशु विज्ञान अध्ययन संस्थानहरूले जनज्योति विद्यालयले गरे जति मात्र पनि कृषिकर्म गर्न विद्यार्थीलाई उत्प्रेरित गरेको भए यो देशको कृषिको कायापलट भइसकेको हुने थियो ।
परदेसिन बाध्य युवालाई नेपालमै रोजगारी र आम्दानीका अवसर जुटाउन कृषिको रूपान्तरण एउटा बलियो विकल्प बन्न सक्छ । यसका लागि कुनाथरीको सफलताबाट सिक्न सकिन्छ ।

प्रकाशित : मंसिर २४, २०७५ ०८:०३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT