भूकम्पले भद्रगोल

भूकम्पपीडित परिचयपत्र भए पनि आफ्नो नाममा जमिन नभएर घर बनाउन नपाएका थुप्रै छन् ।
विश्वास नेपाली

काठमाडौँ — रसुवाको कालिका–५, जिवजिवेका लले दमाई भूमिहीन हुन् । अर्काको जमिनमा बनाएको उनको घर तीन वर्ष अघिको भूकम्पमा लड्यो । उनीसँग भूकम्प पीडित परिचयपत्र छ । उनी निजी आवास पुनर्निर्माणका लागि राज्यबाट पाउने ३ लाख रुपियाँ पाउनयोग्य छन् । तर घर कहाँ बनाउने ? उनीसँग जग्गा छैन ।

उनी भन्छन्, सरकारले भूमिहीनलाई घडेरी किन्न २ लाख रुपियाँ सहयोग गर्छ भन्ने सुनेर निवेदन दिएको उनले सुनाए । ‘निवेदन दिएको १८ महिना भयो, केही सहयोग आएको छैन,’ उनले भने ।


कालिका–५, ज्याङलाङकी विष्णुमाया विकले अर्कैको जमिनमा बनाएको झुपडी भूकम्पले तहस–नहस बनायो । भूकम्प प्रतिरोधी घर बनाउन सरकारले ३ लाख रुपियाँ अनुदान दिने थाहा पाइन् । वडा कार्यालयमा सम्झौता गर्न गइन्, सम्झौता भएन । कारण थियो, उनको स्वामित्वमा लालपुर्जा थिएन ।


उनले छिमेकीको लालपुर्जा राखी सम्झौता गरिन् र पहिलो किस्ताबापत ५० हजार रुपियाँ लिइन् । तर जग्गाधनीले घरको जग हाल्नुअघि २ लाख रुपैयाँ मागे । विष्णुमायासँग पैसा थिएन । घर बनेन ।

आफ्नो नाममा जमिन नभएर घर बनाउन नपाएका भूकम्प पीडित थुप्रै छन् ।


पुस्तौंदेखि सार्वजनिक र ऐलानी जमिनमा बसोबास गर्दै आएकाले पनि घरबासको प्रमाण नहुँदा अनुदान लिन पाएका छैनन् । यस्तो समस्या सिन्धुली, मकवानपुर, चितवन, धादिङ, सिन्धुपाल्चोक, काभ्रे लगायतका जिल्लामा बढी देखिन्छ । भूकम्पले सबैलाई उत्तिकै प्रभाव पार्‍यो । तर यसको असर भने व्यक्ति र समाजपच्छिे फरक छ ।


विस्थापित परिवारको दु:ख सुनिसाध्य छैन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार भूकम्पको कारण ३ हजार ८ सय ९६ घरधुरी जोखिमयुक्त क्षेत्रमा परेका छन् । विभिन्न ठाउँमा भौगर्भिक अध्ययन भइरहेकाले यो सङ्ख्या बढ्न सक्छ ।


रसुवाको उत्तरगया गाउँपालिका वडा नं. ५ को खाल्टे बगरमा २ सय ५० भन्दा बढी घरधुरी अस्थायी टहरामा बसोबास गरिरहेका छन् । प्राधिकरणले उनीहरूलाई अन्यत्र स्थानान्तरण गर्न खोजेको छ । तर आर्थिक तथा जीविकोपार्जनका कारण उनीहरू त्यहीं बसोबास गर्न खोजेका छन् । त्यो ठाउँ बसोबासका लागि योग्य नभएको प्राधिकरणले बताएको छ ।


उक्त क्षेत्र काठमाडौंदेखि गल्छी त्रिशूली हुँदै रसुवागढी केरुङ जाने राजमार्गसँग जोडिएकाले विस्थापितहरूले अन्यत्र जान नमानेका हुन् । विस्थापित परिवारलाई आकर्षक र सुरक्षित स्थानमा स्थानान्तरण गराउने सरकारी कार्यक्रम देखिँदैन ।


सरकारले स्थानान्तरण गराउने प्रक्रियामा सुरक्षित स्थानमा घडेरी खरिदका लागि प्रतिपरिवार थप अनुदान २ लाख रुपैयाँ दिने भनेको छ । त्यति रकमले घडेरी पाउनै गाह्रो भएको कतिपयको दुखेसो छ । विस्थापितहरू घडेरी खरिदका लागि भौँतारिरहनु परिरहेको छ ।


सबै परिवारको आर्थिक अवस्था उही प्रकृतिको छैन । भूकम्पमा आफन्त गुमाएका, अङ्गभङ्ग भएका, शारीरिक रूपमा कमजोर भएका परिवार, एकल महिला र ज्येष्ठ नागरिक उमेर समूहका सदस्यमात्र रहेको परिवारमा राज्यबाट दिइने सहयोगले घर बन्न सक्दैन । जीविकोपार्जनका लागि समस्या छन् । यस्ता समस्यामा परेका परिवारलाई आवास निर्माणमा सहयोग गर्ने संस्था पनि कमी छन् ।


कतिपय भूकम्पपछि रोजगारीका लागि विदेश गएका छन् । लाभग्राही सूचीमा उनीहरूको नाम निस्किएको छ । घरमा हुने श्रीमती तथा आफन्तजनलाई सरकारी राहत लिएर घर बनाउन अप्ठेरो परेको छ ।


भूकम्पले समाज र परिवारमा धेरै खाले समस्या थपिदिएको छ । तर राज्यको ध्यान निजी आवास निर्माणमा सहयोग गर्नेमात्र देखिएको छ । राज्यकै कारण जनआक्रोश बढेको छ । पुनर्निर्माण कुनै सीमित घेराबाट मात्र सम्भव छैन । यसमा स्थानीय सरकारलाई पनि जिम्मेवार बनाउनुपर्छ ।


लेखक सामाजिक अभियन्ता हुन् ।

प्रकाशित : मंसिर ७, २०७५ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्

कुकुरलाई चर्पी 

कुकुरको दिसा तत्कालै कुहिँदैन । यो खेतबारीमा हाल्नु हुँदैन । यसबाट औषधि प्रतिरोधी अनेकन सूक्ष्म जीवाणु र रोगका कारक जीव फैलिन्छन् ।
रामचन्द्र अधिकारी

काठमाडौँ — सिंगो देशलाई खुला दिसामुक्त क्षेत्र घोषणाको  तयारी गरिँदै छ । टोल, गाउँ, स्थानीय तहलाई खुला दिसामुक्त बनाउने अभियान दुई दशकदेखि चल्दैछ । कुकुरको दिसालाई व्यवस्थापन गर्न सकिएन भने मानवको मलमूत्र व्यवस्थापन हुँदैमा खुला दिसामुक्त क्षेत्र बन्न कसरी सक्छ ?

कुकुर पालकहरूले आफूले पालेका कुकुरलाई कहाँ दिसा गराउने गर्नुभएको छ ? चर्पीमा गराउने गर्नुभएको भए अरूलाई पनि सिकाउनुहोला । होइन भने सचेत हुन जरुरी छ ।

ठूला घरमा पालिएका कुकुरलाई दिसा गराउन सडकमा ओरालिन्छ । अरूका गेटमा दिसा गराएका कारण झगडा भएका दृष्टान्त छन् । घरमा साङ्लामा बाँधेर पालिएका कुकुरलाई खुला र सार्वजनिक स्थानमा दिसा गराइन्छ, घरबास सडकमा हुने कुकुर दिसा गर्न अन्त जाने कुरा भएन । मानवको मात्र मलमूत्रलाई लक्षित गरेर खुला दिसामुक्त क्षेत्रको लक्ष्य पूरा हुन सक्दैन । भलै मानव सभ्य बन्लान् ।

प्राकृतिक खान्कीमा रहेको कुकुरको दिसामा अलि कम हानिकारक वस्तु हुन्छ । मानव समानको भोजनमा बाँचेकाहरूको दिसा मानवको भन्दा खास भिन्न हुँदैन । कतिपय परजीवीको लागि कुकुरको दिसा साह्रै रुचाइएको खाना र सुरक्षित बासस्थान हो ।

कोर्नेल विश्वविद्यालय, भेटेरिनरी मेडिसिन कलेजको अध्ययन टोलीको विवरण अनुसार अंकुशे जुकाको खानी कुकुरको जीउ र दिसा हो । अर्को तथ्यांक छ– एक ग्राम दिसामा दुई करोड ३० लाखवटा कोलिफर्म ब्याक्टेरिया हुन्छन्, जसले मानव जगतमा झाडापखाला, आन्द्रामा समस्या, मृगौलाको रोग निम्त्याउँछन् ।

कुकुरको दिसाबाट जार्डिया, गालोजुका, सालमोनेला, इकोली, कोरोना भाइरस, कोम्पिलोब्याक्टर, क्रिप्टोसोरिडियम, स्ट्राफाइलोकोकोस लगायत औषधी प्रतिरोधी अनेकन सूक्ष्म जीवाणु र अन्य रोगका कारक जीव फैलिन्छन् । मानिस र कुकुरमा आलोपालो गर्दै सरी–सरी जीवन चक्र पूरा गर्ने थुप्रै दोजीव आश्रित (डाइजेनेटिक) जुका र किरा वर्गका परजीवी छन् ।

मानिसले कुकुरलाई काखी च्याप्ने, सँगै सुताउने, बेड र भान्साघरसम्म पुर्‍याउने, ऊसँग खेल्ने, जिस्किने क्रियाकलाप कति हदसम्म ठिक होला, यो पालक आफैले सोच्ने र बुझ्ने कुरा हो । तर सार्वजनिक स्थानमा अरूलाई र वातावरणलाई प्रभाव पर्नेगरी दिसा गराइदिनु गलत हो । एकातिर स्वतन्त्र घुमिहिँड्ने सामुदायिक कुकुरलाई नियन्त्रण प्रयास असफल भइरहेको छ, घरभित्र रहेकाहरूको पनि फोहोर सार्वजनिक ठाउँमा आएपछि स्वच्छ वातावरण र सभ्य सहरको परिकल्पना गर्न सकिन्न ।

काठमाडौंमा मात्र करिब २२ हजार ५ सय सामुदायिक कुकुर रहेको काठमाडौं एनिमल ट्रिटमेन्ट सेन्टर भन्ने संस्थाले उल्लेख गरेको छ । सोही संस्थाका अनुसार प्रत्येक वर्ष कुकुरको टोकाइबाट दुई सय मानिसको रेबिज रोग लागी मृत्यु हुने गरेको छ र ३५ हजार मानिस कुकुरको टोकाइको सिकार बन्छन् ।

मोहन आचार्य लगायतका अनुसन्धाताले गरेको अनुसन्धान अनुसार सन् २०१५ मा पोखरामा १ हजार ७ सय ६७ वटा सामुदायिक कुकुर थिए । सहरी फोहोरको बढ्दो मात्रा र वैज्ञानिक वधशालाको अभावसँगै यस किसिमका कुकुरको संख्या वृद्धि भइरहेको छ । यति धेरै कुकुरले उत्सर्जन गर्ने दिसाले नजानिँदो किसिमबाट मानव जीवनलाई जोखिममा राखेको छ ।

ईपीएकै अनुसार कुकुरको दिसा मानव लगायत गाईवस्तुको मलजस्तो तत्कालै कुहिँदैन । यो झारनाशक रसायन, कीटनाशक विषादी र ग्रिजजस्तो रसायन हो । यसमा रहेका सूक्ष्म हानिकारक जीवलाई नष्ट गर्न धेरै तापशक्ति चाहिन्छ । कुकुरको दिसा खेतबारीमा हाल्न नहुने कृषिविज्ञहरू सुझाउँछन् ।

अमेरिकाको इन्भाइरोमेन्ट प्रोटेक्सन एजेन्सीका अनुसार पानी र माटोमा मात्र होइन, कुकुरको दिसाका हानिकारक जीवले हावामा प्रदूषण गराइरहेका छन् । हावामा रहेका ३० देखि ५० प्रतिशत ब्याक्टेरिया कुकुरकै दिसाबाट आएको अनुसन्धानका क्रममा पाइएको थियो ।

कुकुर र मानिसको सम्बन्ध नौ हजार वर्ष पहिले स्थापित भएको हो । बायोलोजी लेटर्स भन्ने विज्ञान पत्रिकाका अनुसार ब्वाँसोको परिवारबाट कुकुर मानवको परिवारसँग आएको हो भन्ने डीएनए परीक्षणबाट थाहा भएको हो । त्यस अघि मानिसले भेडा, गाई र सुँगुरलाई घरपालुवा जनावर बनाइसकेका थिए । यिनैको गोठालोमा प्रयोग गर्दै आउँदा कुकुर घरपालुवा जनावर बन्यो । आजकाल कतिपय मानिसको अभिन्न मित्रसमेत भएको छ, अनि अपराध अनुसन्धानमा राज्यको सारथी पनि ।

विकसित देशहरूले सहरी सामुदायिक कुकुरको संख्या नियन्त्रण गर्न प्रभावकारी योजना ल्याइसकेका छन् । घरमा पालेको कुकुरलाई जताततै दिसा–पिसाब गराउन कानुनी बन्देज लगाइएको छ । आफूसँगै लगिएको कुकुरको दिसा स्वयम् मालिकले संकलन गर्नुुपर्ने नियम छ । युरोपेली र अमेरिकी मुलुकमा कुकुरले गरेको दिसा ६० प्रतिशतभन्दा माथि स्वयम् मालिकले उठाउने गरेका छन् ।

नेपालमा पनि यस सन्दर्भमा कदम चाल्न जरुरी छ । प्रारम्भिक चरणमा आफूले पालेका कुकुरलाई आफ्नै घरपरिसरमा दिसा गराई त्यसको व्यवस्थापन गर्न–गराउन जोड दिनुपर्छ । क्रमश: कुकुरलाई चर्पी प्रयोग
गर्न सिकाउनुपर्छ । धेरै अनुसन्धानले यो गर्न सकिने भनेर पुष्टि गरिसकेका छन् । कुकुरलाई साङ्लोमा बाँधौं र चर्पी प्रयोग गर्न सिकाऔँ । गाउँ–सहरमा देखिएका सामुदायिक कुकुरको संख्या नियन्त्रण गर्न प्रभावकारी वैज्ञानिक विधि अपनाउन आवश्यक छ । होइन भने सहर सधैं फोहोरी भइरहन्छ ।

लेखक त्रिवि स्नातकोत्तर क्याम्पस विराटनगरका उपप्राध्यापक हुन् ।
ramchandra.adhikari@gmail.com

प्रकाशित : मंसिर ७, २०७५ ०८:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×