कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भनसुनबेगर काम कहिले ?

सरकारी कार्यालयमा कर्मचारीहरू हुँदाहुँदै बिचौलिया र लेखनदासलाई किन काम गर्न दिइन्छ ?
मञ्जु भट्ट

काठमाडौँ — तीन वर्षअघि जग्गा पास गर्न मालपोत कार्यालय भक्तपुर पुग्यौं । त्यहाँ कागजात बनाइदिने र जग्गा पास गरिदिने नाममा लेखन्दासलाई पैसा खुवाउनुपर्‍यो । किन अतिरिक्त पैसा असुलेको भनेर सोध्दा त्यसो नगरे ‘हाकिम साबहरूले फाइलमा हस्ताक्षर नै गर्नुहुन्न’ भन्ने जवाफ पाइयो ।

पुलिसलाई खबर गर्नुपर्‍यो या अख्तियारलाई भन्नुपर्‍यो भनेर सरसल्लाह गर्‍यौँ । बुझ्दै जाँदा यस्तो काम गर्ने मान्छेका नाइके कैयौंपल्ट पक्राउ परेका रहेछन् र एक–दुई दिनमै छुटिहाल्दा रहेछन् । ‘उजुरीले के हुन्छ, कारबाही गर्न सक्नुपर्‍यो नि !’ एक जनाले प्याच्च भने ।


फाइल तयार पारेर अन्तिम हस्ताक्षरका लागि सम्बन्धित कर्मचारीकहाँ गयौं । एउटा हाकिमको पछाडि तीन, चारजना आसेपासे हुँदारहेछन् । हाम्रो फाइल हेरेर सिधै ‘आज ढिलो भइसक्यो, भोलि आउनुस्’ भनियो । हामी खिस्रिक्क पर्‍यौं । अर्को दिन आउन गाह्रो थियो । किन्ने र बेच्ने दुवै उपस्थित हुनुपथ्र्यो । सबैजना अलमल्ल उभिएका थियौं । त्यही बेला एकजना कर्मचारीले हाम्रै गाउँले बोली बोलिरहेको सुनेँ । हत्त न पत्त फाइल बोकेर उनको टेबुलमा गएँ र गाउँकै भाषामा हस्ताक्षर गरिदिन याचना गरेँ । नभन्दै तीन मिनेटमा हाम्रो काम सकियो ।


मालपोत लगायत धेरै सरकारी कार्यालयमा लोकसेवा पास गरी आएका सरकारी तलब बुझ्ने कर्मचारीहरू हुँदाहुँदै बिचौलिया र लेखनदासलाई किन र कसको आदेशमा काम गर्न दिइन्छ ?

मेरो एकजना भाइ नेपाल आर्मीको सेकेन्ड लेफ्टिनेन्टको परीक्षा दिन काठमाडौं आयो । राम्रोसँग तयारी गर्‍यो । शारीरिक क्षमता, लिखित जाँच सजिलै पास गर्‍यो । अन्तर्वार्तामा अनुत्तीर्ण भयो । त्यही क्रम तीन चोटीसम्म चल्यो । उसले कसैलाई भनसुन गराएको थिएन ।


ठगी, भ्रष्टाचारका घटना प्राय: सबैतिर छ । भनसुन, चिनजान बिना काम हुँदैन । यातायात कार्यालयमा नियमानुसार शुल्क तिरेर लाइसेन्स बनाउन खोज्नेहरू घन्टौं लाइनमा उभिन बाध्य हुन्छन् । अतिरिक्त पैसा बुझाएर चोर बाटोबाट लाइसेन्स बनाउनेहरू लाइनमा बस्नै पर्दैन । भाडाका गाडी एक, दुई रुपैयाँ सजिलै फिर्ता गर्न मान्दैनन् । एउटै स्टपमा उत्रिँदा पनि भाडादर समान छैन । कसैले अलि ठूलो देखिने बच्चालाई काखमा बोक्दा भाडा लिँदैन भने कसैले जता राखे पनि भाडा लाग्छ भन्छन् ।


आर्मी, पुलिसका ठूला पोष्टमा हुनेहरूका श्रीमान, श्रीमतीका छुट्टै सरकारी गाडीसहित गाडी चालक हुन्छन् । घरमा काम गर्न कम्तीमा एकजना पुलिस या आर्मी खटिएका हुन्छन् ।


भनिन्छ, मान्छेका तीनवटा शत्रु रोग, ऋण र मुद्दा हुन् रे । रोग लाग्यो भने निको हुनसक्छ, ऋण लाग्यो भने तिर्न सकिएला, तर मुद्दा लाग्यो भने कसैले भन्न सक्दैन । न्याय पाउन वकिल राखेर मुद्दा लड्दा मुद्दा लड्ने मान्छे नै उठ्न नसक्नेगरी लडिसकेको हुन्छ ।


त्यसैले जघन्य अपराधका घटना पनि मिलेमतोमै टुङ्ग्याउने प्रवृत्ति छ । शिक्षण संस्थाहरूमा राजनीतिक कार्यकर्ता भर्ती गर्ने होडबाजी चल्छ । प्राध्यापक जस्तो मर्यादित पदमा पनि दलीय भागबन्डा हुन्छ । योग्य र सक्षम जनशक्ति विदेश पलायन हुने क्रम निरन्तर छ ।


राजनीतिक परिवर्तनसँगै सरकारी निकायहरू सुध्रिनुको साटो झन् विकृत बन्दैछन् । सरकार समृद्धिको सपना बाँडिरहेको छ । कार्यशैलीले भने नागरिकलाई निराश बनाउने खालका छन् । आखिर मूल नै धमिलो छ त सङ्लो पानीको आशा कसरी गर्ने ? सरकारले कमजोरी बेलैमा मनन गरोस्, सुखद परिवर्तनको सुरुवात तत्काल थालोस् । प्रकाशित : मंसिर ७, २०७५ ०८:०१

प्रतिक्रिया
पठाउनुहोस्

दसैंमा छाउघर

सन्दर्भ
दसैंको माहोल एकदमै हर्षविभोर पार्ने खालको थियो । तर, त्यही बेला गाउँघरका केही महिला चिनाजानी, आफन्त युवतीहरू भने महिनावारी बार्नैपर्ने (छाउप्रथा) को घेराबन्दीमा थिए ।
मञ्जु भट्ट

काठमाडौँ — २०७२ सालको भुइँचालोले सातो लिएपछि दसैं–तिहार उत्सवमा घर/माइत जान सकेकै थिइनँ । यसपटक आँट जुराएर बेलैमा बाटा लागें । बाटो निकै लामो थियो । काठमाडौंदेखि लम्की र लम्कीदेखि साँफेबगर, मंगलसेन हुँदै अछामको कमलबजार अनि त्यहाँबाट गैरीटाँड, सेरा पुग्दा बाटैमा ४ दिन बितेको थियो । 

जामा, फलटाँडे घर पुगेपछि भएभरको हैरानी र सास्ती भुलेझैं भयो । भैंसीको दूध हालेर बनाएको बाक्लो चियासँगै सुरु भयो बिहानी । बारीमा अम्बा र केरा पाकिरहेका थिए । आफ्नै बारीमा फलेको काक्रोमा दही हालेर बनाएको राइतोको अचार छँदै थियो ।

आफ्नै बारीको मुला, रायो, तोरीको साग, गिठा (रूखको बोक्रा) सुकाएर बनाएको धूलोको दाउन हालेर पकाएको सेलरोटी, खीर, मासु र आफ्नै ओखलमा कुटेको धानबाट पकाएको मगमग बास्ना आउने ताजा चामलको भात खाँदा मनभरि चैन छाएको थियो, बेचैनी बेपत्ता थियो । आफ्नै घरमा फलेको गहुँ, मकै, कोदो, फापर जे खाए पनि अति नै स्वादिष्ट थियो ।

मूलको पानी जति खाए पनि अघाइन्नथ्यो । चार जना दाजुभाइको परिवार, एउटा बहिनी, भान्जा–भान्जी, आमाबुवा र पण्डित बाजे गरेर जम्मा २८ जना भएका थियौं । दुई जना भाइ नवरथा बस्नुभएको थियो । घरमा चण्डी पाठ लगाएकाले बेलुकी पण्डित बाजे पनि हाम्रै घरमा सुत्नुहुन्थ्यो । अझै सात जना बहिनीहरू बिहे भइसकेकाले आउन पाएका थिएनन् ।
दसैंको माहोल एकदमै हर्षविभोर पार्ने खालको थियो । घर, परिवार, आफन्त र चाडपर्व, उत्सवको अर्थ गाउँघर पुगेपछि मात्रै बुझ्न सकिन्छ भन्ने लागेको थियो । तर, त्यही बेला गाउँघरका केही महिला चिनाजानी, आफन्त युवतीहरू भने महिनावारी बार्नैपर्ने (छाउप्रथा) को घेराबन्दीमा थिए ।

त्यो थाहा पाएपछि मनमा बढेको बेचैनी र सकस भने असाध्यको रहयो । अझ दसैंमा महिनावारी भएका महिलालाई सात दिनसम्म घरमा बस्न निषेध गरिएको थियो । उनीहरू छाउघरमा बस्न बाध्य थिए ।

प्रकाशित : मंसिर १, २०७५ ०९:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×