कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुलियोले भुलाउला है !

प्रकाश बुढाथोकी

काठमाडौँ — केही दिनअघि मध्य बानेश्वर, काठमाडौंकी अस्मिता मैनाली बजारमा सेल किनेर खानासाथ बिरामी परिन् । लगातारको पेटको दुखाइ र बान्ताका कारण उनी वीर अस्पतालको आकस्मिक कक्ष पुग्नुपर्‍यो । ११ वर्षअघि काठमाडाैं स्युचाटारका सीताराम बुढाथोकीको खरबुजा खाँदा मृत्यु भयो ।

गुलियोले भुलाउला है !

खरबुजामा विषालु औषधि प्रयोग गरिएको रहेछ । यी दृष्टान्तले बजारमा पाइने मिठाई र फलफूल खाँदा सजग रहनुपर्छ भन्ने सन्देश दिन्छन् ।


ठूला चाडपर्वमा मिठाई र फलफूलको खपत अत्यधिक हुन्छ । यही मौकामा खाद्यपदार्थमा अखाद्य वस्तु मिसाउने प्रवृत्ति मौलाउँछ । चाडपर्व दशा बन्न सक्छ । दसैंतिहारजस्ता ठूला चाडपर्वमा उच्च रक्तचाप, मुटु र पेटसम्बन्धी समस्याका बिरामी ह्वात्तै बढेको देखिन्छ । चाडबाडमा खाइने मासु, चिल्लो, मसला, मिठाई, धूमपान र मद्यपान मानव स्वास्थ्यमैत्री छैनन् । यसले स्वास्थ्य समस्या भने निम्त्याइरहेको हुन्छ ।


परिकारलाई पहिले आँखाले देख्छ । राम्रो लागे जिब्रो रसाउँछ । यो कुरा रंगीबिरंगी मिठाईमा झनै लागू हुन्छ । आँखालाई उपयुक्त छ कि छैन थाहा हुँदैन । खाएको कुरा शुद्ध छ छैन, पछि शरीरले थाहा पाउँछ । रातो राम्रो गुलियो मीठो नेपाली समाजको लोकप्रिय उक्ति हो ।


आकर्षक देखिने सबै स्वस्थकर हुँदैनन् । खुला र प्याक गरिएका सामानका भिन्नता जान्नैपर्छ । बजारमा भएका रंगीन, आकर्षक मिठाई देखेर मन लोभ्याउँदा सेकेन्डका लागि स्वादिलो होला, मिनेट, घण्टा र दीर्घकालीन बेफाइदा हुन सक्छ ।


मिठाई मन पर्दैन भन्ने मानिस फेला पार्न मुस्किल छ । चाडपर्व नजिएपछि मिठाई पसल लालमोहन, गुलाब जामुन, जेरी, बर्फी, रसवरी, खजुरी, पेडाजस्ता रंगीन मिठाईले रंगिन्छन् । रंगीन मिठाईले स्वास्थ्यलाई राम्रो गर्दैन । जेरीलाई छिटो पकाउन र फुलाएर ठूलो बनाउन फर्निचरमा रंगाउन प्रयोग गरिने रसायन हालिएको हुन्छ जसले श्वासप्रश्वास, मिर्गाैलामा असर गर्छ र क्यान्सरसम्म हुन्छ । रङमा सिसा, पारो, तामाजस्ता तत्त्व पाइन्छन् । तामाको आयनले श्वासप्रश्वास प्रणालीमा प्रत्यक्ष असर गर्छ, मांसपेशीलाई क्षतविक्षत पार्छ । त्यसैमा पारो थपिए विषाक्तता २ गुणा बढ्छ ।


पारोयुक्त लवणले शरीरका म्युकसलाई जमाई घाँटी खसखसाउने, आन्तरिक सुजनजस्ता समस्या उत्पन्न गराउँछ । पारोले मुख्यत: निष्कासन प्रणाली र मिर्गाैलामा असर गर्छ । यसले तामाजन्य विषादीको संग्रहमा मद्दत पुर्‍याउँछ । सिसाले कोषको वंषाणु डीएनए र आरएनएसँग अन्तक्र्रिया गरी क्षतविक्षत बनाउँछ । शरीरबाट सजिलै बाहिर नआउने र भित्र पनि नष्ट नहुने यस्ता तत्त्वले मन्द विषको काम गर्छन् ।


अत्यधिक चिनी र चिनीयुक्त सिरपले रगतमा चिनी, बोसोको मात्रा बढाउँछ, पेट बढ्छ, मधुमेह हुन सक्छ । दाँतको समस्या हुन्छ । स्याक्रिनले ब्रेन ट्युमर, क्यान्सर ल्याउँछ । खाने सोडाको अधिक प्रयोगले पाचन प्रणालीमा नकारात्मक असर पार्छ । पिठोको अमिलोपना कम गर्न प्रयोग गरिने एमोनियम कार्बाेनेटयुक्त पदार्थ पनि स्वास्थ्यका लागि हानिकारक छ । पसलेले मिठाई खुला राखेर बेच्दा धूवाँ, धूलोले प्रदूषित बन्छ । अर्कोतिर झिंगालगायतले संक्रमित बनाउँछन् ।


खाद्यवस्तुमा एडिटिभले स्वाद र सुगन्ध बढाउँछ । पिजर्भेटिबमा लामो समय सुरक्षित राख्नेबाहेक कुनै पोषण र खाद्य महत्त्व हुँदैन । एडिटिबका कारण कैयौं किसिमका एलर्जी र विकार हुन सक्छन् । छाला चिलाउने, पसिना बढी आउने, अनुहारको रङ उडने, आन्द्रामा पीडा हुने, वाकवाकी हुने, झाडापखाला लाग्नेलगायत समस्या आउँछन् । अखाद्य प्रिजर्भेटिब बीएचएले बालकलाई चन्चले बनाउँछ । इडीटीएले दम, दाग, पखाला, उल्टी, नसासम्बन्धी समस्या ल्याउँछ । पेटको क्यान्सरसमेत बनाउन सक्छ ।


रङ मिश्रित तथा दूषित घिउतेल प्रयोग गरी बनेका खाद्यपदार्थले रक्तकोषिकालाई विषाक्त बनाउँछ । त्यसबाट शरीरमा रगत कम हुने एनिमियाँ हुन सक्छ । अण्डकोषमा असर परी पुरुषको वीजकोष मर्दै जान्छ । मिर्गौला तथा कलेजोमा घाउ हुने, फोक्सोमा र छालामा दीर्घरोग लाग्ने समस्या देखिन सक्छन् । गर्भपतन हुन सक्छ । गुलियो मिठाई मधुमेहीका लागि विष हो । सेकरिन, एस्पारटिनजस्ता कृत्रिम गुलियो तत्त्वका पनि नकारात्मक असर छन् । मिठाई वा खानामा प्रयोग गर्न सकिने भनी सरकारले ८ वटा प्राकृतिक तथा ११ वटा कृत्रिम रङ स्वीकृत गरेको छ । तर यी रङ जताततै पाइँदैनन्, महँगा छन् । तसर्थ रङ प्रयोग नगरिएका खाद्यपदार्थ खानुपर्छ ।


न्याम्स वीर अस्पतालमा कार्यरत लेखक नेपाल चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुन् ।

प्रकाशित : कार्तिक १८, २०७५ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?