संस्कार, संस्कृति र हिंसा

प्रभा कैनी

काठमाडौँ — यौनजन्य हिंसाका धेरैजसो घटना सार्वजनिक हुँदैनन्  । किन ? यस सन्दर्भमा कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरण नमुना बनेको छ  ।

यतिखेर निर्मलाको हत्याकाण्ड सर्वाधिक चासोको विषय बनेको छ । त्यस घटनाले आम नेपालीको संगठित आक्रोश एकातिर छ भने अर्कातिर सरकार त्यति गम्भीर नहुनु उत्तिकै चिन्ताजनक छ । लगभग तीन महिना हुँदा पनि पीडित पक्षले न्याय पाएको छैन । पीडितको पक्षमा सुदूरपश्चिमदेखि उठेको ज्वाला काठमाडौं र देशभरि फैलँदा पनि सरकार अपराधी फेला पार्न सक्दैन वा चाहँदैन ।

यो प्रकरणमा जस्तै हरेक हिंसाका पीडितलाई सरकारले न्याय दिन्छ भन्ने विश्वास छैन । विश्वासै नभएको कुरामा जनसाधारण व्यर्थको टण्टा बेसाउन चाहँदैनन् । निर्मला हत्याकाण्डमा जसरी हरेक दिन घटेका घटनालाई लिएर समाजका हरेक व्यक्ति जुर्मुराइरहन पनि सक्दैनन् ।हरेक कामका लागि जिम्मेवार निकाय हुन्छ । त्यसैद्वारा कार्यसम्पन्न हुनुपर्छ भन्ने अपेक्षा गरिन्छ । तर सिङ्गो नेपाल तात्दा पनि हिंसापीडितले न्याय पाउन सक्दैन भने अरू यस्तै साना ठूला मुद्दामा एक्लो व्यक्तिले न्यायको अपेक्षा कसरी गर्न सक्छ ? न्याय पाउने विश्वास नहुँदा नहुँदै त्यहाँसम्म जाने झमेला किन गर्ने ? पैसाको खर्च, समयको बर्बाद हुँदा पनि न्यायको ग्यारेन्टी नहुँदा हिंसाका अनेक घटना परिवार, छरछिमेकी र नातेदारले मिलाउने कोसिस गर्छन् ।

हाम्रो समाजमा महिला हरेक पक्षबाट प्रताडित बन्ने गरेका छन् । उनीहरूको अवस्था यति निरीह र दुर्बल छ कि हिंसाका घटना प्रकाशमा ल्याउनुभन्दा गुपचुप राख्नु उत्तम ठान्छन् । पहिलो, न्याय पाउन गाह्रो छ, दोस्रो, न्याय मिलिहाले पनि पछि जीउन कठिन छ । इज्जत जाने डर, विवाह नहुने चिन्ता र समाजले उल्टै पीडितलाई पीडा दिइरहने सम्भावना रहन्छ ।

बलात्कारको शिकार हुनुमा पीडितको दोष हुँदैन, शतप्रतिशत दोष पीडकको हो । तर परपीडक सामाजिक प्रवृत्तिले पीडितलाई नै खेद्छ । फलत: शारीरिक हिंसा एकपटक भोगेकी युवती वा महिला जीवनमा बारबार मानसिक यातना भोग्न बाध्य हुन्छे । यस्तै अनेकन सम्भावनाको लेखाजोखा गरेर परिवार र व्यक्ति स्वयंले पनि घटना लुकाउनु उत्तम ठान्छन् । घटना लुकाएपछि पीडकलाई हाइसन्चो हुन्छ ।

अधिकांश हिंसामा नजिकका नातेदार र छिमेकी संलग्न रहने हुँदा पीडक प्रत्यक्ष, परोक्ष रूपमा पीडितलाई उजुरी दिन निरुत्साहित गर्न र आफू अनुकूल वातावरण सिर्जना गर्न उद्यत रहन्छ । समाजमा पीडित पीडाको चक्रमा रुमलिरहन्छ र पीडक भने उन्मुक्तिको अनुभूति गर्दै त्यस्तै घटना दोहोर्‍याइरहन उद्यत रहन्छ । यसमा हाम्रो संस्कार र संस्कृतिप्रति हाम्रा रूढ मान्यता जिम्मेवार छन् ।

एकाथरि मानिस पहिलेको समाज आदर्शमय थियो, अनेक कारणले आजकल महिला हिंसा वृद्धि भएको छ भन्ने गर्छन् । महिलाको शिक्षाको स्तर बढेको छ जसका आधारमा उनीहरू स्वावलम्बी बनेका छन् । आम मानिसको चेतनास्तरमा वृद्धि भएको छ, त्यसैअनुसार नियम कानुन बनेका छन् । यसरी सनैसनै आदिम समाजभन्दा मध्ययुगीन समाज उन्नत भन्न मिल्यो । मध्ययुगीनभन्दा आधुनिक समाज विकसित र सभ्य बन्दै गयो । यो तथ्य महिलाको उन्नति प्रगतिका पक्षमा पनि लागू हुन्छ । आजको सभ्य भनाउँदो समाजको ठूलै हिस्साले साथ दिँदा र अनुकूल कानुन बन्दा त निर्मला प्रकरणले यस्तो जब्बर रूप लिएको छ भने पहिलेको अवस्था महिलाको पक्षमा अनुकूल थियो भन्नु बेतुक मात्र हो ।

हिंसात्मक घटना जीवन्त रहिरहनुमा प्रमुख जिम्मेवार को हो ? यौन हिंसाका अपराधीलाई दण्ड दिन किन यति कठिन भइरहेछ ? यौन हिंसा हुनुमा कोही पुँजीवादलाई दोष दिन्छन्, कोही साइबर संस्कृतिलाई औंल्याउँछन् । अझ कोही त महिलाका फेसन र विज्ञापन जस्ता तथ्यलाई विशाल बनाउन उद्यत देखिन्छन् । यी कारण यदाकदा मिल्लान् तर जड कारण होइनन् । यौन लगायत सम्पूर्ण हिंसाको प्रमुख कारण हाम्रो संस्कार र संस्कृतिभित्र छिपेको छ । धेरै प्रकारका हिंसा हाम्रो संस्कृतिका रूपमा जीवन्त रहँदै आए । हामीले तिनको निराकरणको बाटो पहिल्याउन सकेका छैनांै ।

आज हामी जेलाई हिंसा भन्दैछौं, ती केही पहिलेसम्म हाम्रा संस्कार र संस्कृतिका अभिन्न रूप थिए कि थिएनन् ? सतीप्रथा उन्मूलन हुनुअघि समाजले त्यसलाई सुसंस्कार ठान्थ्यो । पतिब्रता कहलाउन महिला मृत लोग्नेको लाससँगै मृत्युवरण गर्थे । लोग्नेसँग जलेर मर्न नचाहनेलाई बलै गरेर पनि मारिन्थ्यो । त्यो कार्य दण्डनीय मानिँदैन थियो । अहिले सतीप्रथा जघन्य अपराध भएको छ ।

आज हामी वैवाहिक बलात्कारको कुरा उठाउन सक्ने भएका छौं । त्यसका लागि कानुन बनेको छ । तर विवाहपश्चात् महिलालाई आफ्नो अधीनस्थ वस्तुका रूपमा लिएर व्यवहार गर्ने चलन अहिले पनि जस्ताको तस्तै छँदैछ । लाग्छ, नब्बेभन्दा बढ्ता प्रतिशत महिला लोग्नेबाट कुटिन्छन् । तैपनि महिला यसलाई बाहिर ल्याउन सक्दैनन्, चाहँदैनन् । सुसंस्कृत महिलाले घरको कुरा बाहिर ल्याएको राम्रो मान्दैन समाजले । त्यसमा महिलाको आर्थिक परनिर्भरताको कारण पनि केही मात्रामा छ । आमाबाबु, सासू, ससुरालगायत सबै पतिले यस्सो हात लगाउँदा पनि हल्ला मच्चाउँछे भनेर महिलालाई नै उल्लु बनाउन तम्सन्छन् । महिलालाई सहनुपर्ने उपदेश दिनेहरू लोग्ने मानिसको विपक्षमा चुइक्क बोल्दैनन् । समाजले जानेर नजानेर हिंस्रक प्रवृत्तिलाई प्रोत्साहन दिएको छ । लोग्नेबाट महिला पिटिने क्रम घटेको अनुमान लगाउन सकिन्छ । अहिले हामी पिट्नुलाई हिंसा भन्न थालेका छौं तर शताब्दियौंदेखि यसलाई सहज संस्कृतिका रूपमा लिएका थियौं कि थिएनांै ?

हामीमध्ये केही वैवाहिक बलात्कारको वकालत गर्न सक्ने भएका छौं । तर वैवाहिक बलात्कार र वैवाहिक पद्धति सम्बन्धित छन् भन्ने विषयमा कतिले चिन्तन गरेका छन् ? विधिविधान निर्माताले समेत यसको असली कारणबारे यथेष्ट चिन्तन गरेका छन् भनेर विश्वास गर्ने आधार पनि देखिंदैन । विवाहमा ‘दान’ का रूपमा पतिको घर पुगेकी अवलाले सुहागरातमा यौन कर्मका लागि पति तयार हुँदा अहिले मेरो चाहना छैन भनेर तत्क्षण प्रतिकार गर्न कति महिलाले सकेका छन् ? ‘दान’ का रूपमा भित्र्याइएकी पत्नीलाई पुरुषले आफ्नो इच्छा अनुसार भोगे, भोग्दैछन् । यो पनि हाम्रो संस्कारको अंग थियो । पुरुष अनुकूल भइदिनु हाम्रो धर्मले सिकाएको छ, आफ्नो इच्छा र चाहनालाई दबाउन र त्याग गर्न हामीलाई अभ्यस्त बनाइएको छ । यसले पुरुषलाई एकतर्फी रूपमा बलियो र महिलालाई कमजोर बनाउँछ भन्ने बुझ्न आवश्यक छ कि छैन ?

भरखर हामीमध्ये केही आफ्नो चाहना बेगरको कार्य हिंसा हो भन्न सक्ने भएका छौं, तर कतिले यसको स्रोत र असली कारण पत्ता लगाउने प्रयत्न गरेका छन् ? अनि कति महिला पुरुष यो हिंसाको रूप बदल्न वैवाहिक पद्धतिमा परिवर्तन गर्नुपर्छ भन्नेमा सहमत होलान् ? विचारणीय छ । दाइजो र तिलक जस्ता हिंसा निम्याउने प्रथा पनि हाम्रो संस्कृतिका रूपमा जीवन्त छँदैछन् । कुनै कुनै समुदायमा प्रचलित तानी विवाहलाई संस्कृतिको रूपमा स्वीकारिन्छ । बलात्कारमा परेका महिलालाई जसले बलात्कार गरेको हो उसैको शरणमा पुर्‍याउने गरेका घटना छन् । युद्धग्रस्त क्षेत्रमा विजयी पक्षले पराजित पक्षलाई धम्क्याउन र विजयोन्माद प्रदर्शनका लागि पनि पराजित पक्षका महिलालाई आफ्नो अधीनको वस्तु बनाउन प्रयत्न गर्ने र पराजित पुरुषलाई चुनौती दिँदै खुलेआम यौनजन्य हिंसा मच्चाउने गरेका घटना आदिम समाजको मात्र चित्रण होइन । बलात्कार गरेर पनि निर्धक्क डुल्ने पुरुष र जीवनभरि सास फेरेर पनि मरेतुल्य जीवन बाँच्न बाध्य बलात्कार पीडित महिला हाम्रा यस्तै संस्कार र संस्कृतिको उपज हो भन्न हिच्चकिचाउनु पर्दैन । संस्कार र संस्कृति हत्तपत्त परिवर्तन गर्न सकिँदैन । आज हिंसापीडितले न्याय नपाउने कारण पनि यही संस्कारजन्य मानसिकताको परिणाम हो । यस्ता जघन्य अपराधको कानुनी उपचार नै पहिलो प्राथमिकता हो । तर यतिमात्र पर्याप्त होइन । आपराधिक घटना न्यूनीकरणका लागि समाजका परम्परा, संस्कार र संस्कृतिजन्य मान्यतामा पुनर्मूल्यांकन र परिवर्तनको खाँचो छ ।

प्रकाशित : आश्विन २८, २०७५ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्

नमस्कारको संस्कार

प्रभा कैनी

काठमाडौँ — आफन्त, साथीसंगी, परिचित व्यक्तिसँग भेट हुनासाथ हामी ‘नमस्कार’ अथवा ‘नमस्ते’, ‘प्रणाम’, ‘दर्शन’ जस्ता अभिवादन गर्छौं । अंग्रेजी बोल्नेहरू ‘हेलो’ ‘गुड मर्निङ’ ‘गुड आफ्टरनुन’ आदि भनेर कुरा सुरु गर्छन् । हवाईमा जाँदा मैले सिकें त्यहाँका नागरिक एकअर्कोसँग भेट हुनासाथ ‘अलोहा’ भनेर आत्मीयता जाहेर गर्दारहेछन् ।

अजरी भाषामा ‘साग्ओल’ शब्दले हाम्रो ‘नमस्ते’ जस्तो भाव दिन्छ भन्ने उषा हमालको किताबबाट थाहा पाएकी थिएँ । संसारको कुनै यस्तो समाज छैन होला, जहाँ आफन्त र परिचित भेट हुँदा कुनै न कुनै किसिमको अभिवादन नगरी कामकुरो थालनी होस् ।

अभिवादन भाषा, स्थान तथा आआफ्नो सामाजिक मान्यताअनुसार फरकफरक तरिकाले व्यक्त हुन्छन् । जस्तो कि, हामी आफूभन्दा आदरणीयजनसँग भेट हुँदा शिर झुकाएर ‘दर्शन’ भन्छौं भने ठूलाले ‘भाग्यमानी भएस्’, ‘दीर्घायु भएस्’ भनेर हामीलाई आशिष् दिन्छन्, हाम्रो आदरको कदर गर्छन् । कसैसँग भेट हुनासाथ अभिवादन गरिएन भने कस्तो कस्तो असहज परिस्थिति सिर्जना भएजस्तो लाग्छ । अर्थात् कसैले मर्यादाअनुसार कसैलाई अभिवादन गरेन भने हामी कस्तो अशिष्ट, बेसोमती मान्छे होला भन्ने टिप्पणी गर्न पनि भ्याउँछौं । कसैले आफूलाई अभिवादन नगर्दा आफू उपेक्षित भएको पनि महसुस गर्न पुग्छन् ।

वास्तवमा अभिवादनका एकदुई शब्दले मानिसको मिजास, स्वभाव तथा अनुशासनको पनि संकेत दिन्छ । अभिवादनसँगै मुस्कुराउँदा भेट हुने दुवै थरीमा एक प्रकारले सकारात्मक भाव प्रसारित भएर कुरा थालनी गर्न मन खुल्छ । भन्न खोजिएको के भने अभिवादनका साना शब्द र संकेतले निकै ठूलो अर्थ दिन्छ भन्ने जान्दाजान्दै पनि केही विशेष समयमा यसको अवमूल्यन भएको देखिन्छ ।

केही अनुभवबाट थालनी गरौं । केही वर्ष पहिले हाम्रा ससुराको देहान्त हुँदा आशौच बारिएका सबै दिन मैले हरेक आगन्तुकलाई ‘नमस्कार’ भनेर स्वागत गर्ने चेस्टा गरेँ । मलाई लाग्यो, यी आगन्तुक सबै हाम्रा शुभेच्छुक हुन्, हामीलाई दु:खमा साथ दिन आएका । तर मेरो अभिवादन भिन्नभिन्न तरिकाले उत्तरित भयो । कसैले नमस्कार फर्काए, कसैले फर्काएनन् त कसैले यस्तो बेला नमस्कार गर्न हुँदैन भनेर अब नगर्न‘ भनी सुझाए । मेरो अन्त:स्करणले केही बेठिक कुरा गरेझैं मानेन । त्यसैले मैले नमस्कार गर्न छाडिनँ ।

वास्तवमा धेरै पहिलेदेखि मेरो मनमा यो एकदमै जिज्ञासाको विषय रहँदै आएको छ कि कसैको देहान्तमा आफूलाई समवेदना प्रकट गर्न आउने आत्मीयजनलाई स्वागत गर्न‘ के कारणले अन्यथा सोचिन्छ ? अथवा सान्त्वाना दिन आउने आगन्तुकले पनि एक सुखद भाव व्यक्त गर्न‘ के कारणले अवाञ्छित ठहरिन्छ ?

केही समयपछि मेरा दाजु र आमाको निधनमा पनि मैले आगन्तुकलाई अभिवादन जारी राखेँ । अनुभव उस्तै रह्यो– कसैले नमस्कार फर्काए, कसैले फर्काएनन्, कसैले प्रतिक्रिया दिए, ‘नमस्कर गर्न हुँदैन ।’ भरखरै भाइ डा. उपेन्द्र देवकोटाको असामयिक निधन भयो । जब उनको शव अन्तिम श्रद्धाञ्जलीका लागि न्युरो अस्पतालको प्रांगणमा राखियो । हरेक आगन्तुकले उनको पार्थिव शरीरमा फूलमाला चढाउँदै नमस्कार गरे । कसैले त गोडामै ढोगे पनि । उनकी जीवनसंगिनी डा. मधु र तीनै जना छोरीले बडो धैर्यका साथ श्रद्धाञ्जली व्यक्त गर्न आउने हरेकलाई दुई हात जोड्दै नमस्कर गरेर कृतज्ञता जाहेर गरे । आफ्नो प्रियजनको अन्तिम दर्शन गर्न आउने सबै आफ्ना शुभेच्छुक हुन् र तिनको सद्भाव र आदरको प्रत्युत्तरस्वरूप कृतज्ञता व्यक्त गर्न‘ हरेक व्यक्तिको कर्तव्य हुन आउँछ जुन कुरा एक नमस्कार शब्द अथवा दुई हात जोडाइको भावमा अभिव्यक्त भएको देखेर मलाई अत्यन्त खुसी लाग्यो ।

डा. मधु र उनका छोरीले पुरातन मान्यताविपरीत आफैं लास बोकेर लगेको, दागबत्ती दिएको, काजकिरियाका हरेक प्रक्रिया आफैं सम्पन्न गरेको कुरा पत्रपत्रिका र सामाजिक सञ्जालमा धेरै आए । उनीहरू प्रशंसाका पात्र बने । यसलाई अत्यन्त सकारात्मक पाटो मान्नुपर्छ । जब म भोलिपल्टदेखि उनको घरमा पुगें, डा. मधु र उनका छोरीहरू डसनामा सुतेका छन्, अरूले पकाएको खाएका छन्, पहिले नै सिएको लुगा लगाएका, यताउति डुल्दै अरूसँग छोएरै बातचित गरेका छन् । यो पक्ष देखेर धेरै खुसी लाग्यो । तर्कहीन अनावश्यक चालचलन छाडेकामा उनीहरू धन्यवादका पात्र बने । तर मैले विचार गर्दै आएको एक पक्ष फेरि पनि फेल खायो (मैले नदेखेका बेला केही अर्को कुरा भएको भए मलाई थाहा भएन) । कसैले कसैलाई नमस्कार गर्ने कुरा प्राय: बन्द भएको थियो । मैले सोचेँ, हाम्रो पुरातन चलनचल्तीअनुसार चल्न भनियो, अर्थात् यस समयमा अभिवादन गर्न हँ‘दैन भनेर निषेध गरियो होला ।

मलाई खुलदुली लागिरह्यो, हिजो यतिका परिवर्तन गर्ने हिम्मत गर्नेले आगन्तुकलाई नमस्कार किन गर्दैनन् ? हिजो र आजमा यस्तो फरक किन ? हिजो जोडिएका हात आज किन जोडिँदैनन् ? हिजो आगन्तुकका सामु झुकेको शिर आज निहुरिन किन इन्कार्दै छन् ? के हिजोका आगन्तुक र आजका आगन्तुकमा फरक छ ? छैन फरक, हिजो आएका पनि माया, स्नेह र आदरले ओतप्रोत भएर आएका आफन्त हुन् । आजका पनि प्राय: उस्तै हुन् । मैले भने हाम्रो मान्यताअनुसार जसलाई आफूले पहिला अभिवादन गर्न‘पर्ने मानिन्छ उनीहरूलाई नमस्कार गर्ने क्रम जारी राखेँ । फेरि पहिलेझैं कसैकसैले फर्काए, कसैले मलाई उल्लुजस्तै मानेर चुपचाप हेरिरहे भने कसैकसैले ‘गर्न हुन्न नमस्कार’ भन्ने शृंखला चलिरह्यो ।

छैटौं दिन होला सायद, मैले एक आगन्तुकलाई नमस्कार गरें । मेरा नजिक बस्नुभएका दाजु वाचस्पति देवकोटालाई न ती आगन्तुकले नमस्कार गरे न दाजुले नै कुनै किसिमको अभिवादन गर्न‘भयो । मौन वातावरण । मलाई अनौठो लाग्यो । म अरूबेला जस्तो चुप लागेर बस्न सकिनँ । संस्कृतका विद्वान्, हिन्दु धर्मशास्त्रका ज्ञाता, नेकपाका केन्द्रीय सदस्य आदरणीय दाजु वाचस्पति देवकोटासँग सोधेँ, ‘आशौच बारेका बेला किन नमस्कार गरिँदैन ? के धर्मशास्त्रले वर्जित गरेको उल्लेख छ कतै ?’ उहाँले ‘छैन, त्यसै यो चलन चलेको हो’ भन्नुभयो, धेरै छलफल गर्ने परिस्थिति भएन । उहाँलाई आगन्तुकहरूले घेरे, छलफल गरिछाड्ने अठोट अपुरै रह्यो ।

यसै सन्दर्भमा डा. अरुणा उप्रेतीको ‘सामाजिक क्रान्ति’ तथा रामेश्वरी पन्तको ‘मृत्यऽ संस्कारमा परिस्कार’ कान्तिपुरमा पढ्दा समाजमा हँ‘दै गरेका परिवर्तनप्रति धेरैजना सकारात्मक देखिँदै छन् भन्ने बुझिन्छ । सीता गौलीको प्रतिक्रिया देखेर पनि खुसी लाग्यो । कसैका लेखमा पनि मलाई खड्केको अभिवादनबारे केही नदेखेको हुँदा अभिवादनजस्तो सामान्य देखिने तर भाव ठूलो प्रदान गर्ने कार्यको अर्थ खोज्ने जमर्को गरिएको छ यहाँ । रामेश्वरी पन्त त हरेक संस्कारबारे धर्मशास्त्रले कहाँ के भनेको छ भनेर खोज्नुहुँदोरहेछ । यो बानी राम्रो हुँदाहुँदै पनि यस अर्थमा खोज्न आवश्यक ठानिनँ कि हाम्रा धर्मशास्त्रले कुनै पनि अभिवादन गर्न वर्जित गरेकै भए पनि समाजले जसरी अनेक विकृत संस्कारमा परिवर्तन आवश्यक देखेको छ, त्यसैगरी अभिवादन प्रणालीमा पनि परिवर्तन आवश्यक छ ।

हाम्रा धेरै संस्कार अत्यन्त परपीडक देखिन्छन् । दु:खको समयमा दु:खीलाई अरू पीडा दिनेखालका । मृत्यु संस्कारका अनेक विधि यसका ज्वलन्त उदाहरण हुन् । सबैभन्दा परपीडक विधान त गरुण पुराणलाई नै लिन सकिन्छ । यसमा मानिसको देहावसानपछि उसको आत्मा शान्तिका लागि भनेर रचिएका र सुनाइँदै आइएका एकएक वाक्यले भयंकर मानसिक त्रास फैलाउँछ । जोकोही सामान्य मानिस यसको त्रासदी दृश्यबाट उम्कन सक्दैन । मनग्गे दान नगरे, मृतक व्यक्तिको दु:खको मात्रै वर्णन होइन कि बाँच्नेलाई पनि अतृप्त आत्माले दु:ख दिइरहने कपोलकल्पित खिस्साको पहाडै हो यो पुराण । विडम्बनै मान्नुपर्छ, दु:खका बेला प्रतिकार गर्न अक्षमहरूबाट सकेसम्म असुल्ने यो जस्तो अमानवीय र परपीडक कार्य पनि हाम्रो संस्कारको हिस्सा बनेर रजगज गरिरहेछ आजसम्म ।

अभिवादन गर्न निषेधित व्यवहार पनि दु:खका बेला दु:ख मात्रै पछ्याउनुपर्छ भन्ने मान्यताले अभिप्रेरित देखिन्छ । मानौं कि दु:खको सागरबाट उम्कने कुरा गर्न‘ नै अपराध गरेजस्तो । प्रकृतिको अकाट्य यथार्थलाई स्वीकार्दै भविष्यप्रति आशा जगाउन प्रेरित गर्ने, शोकलाई शक्तिमा बदल्न सुझाउने, दु:खलाई सकेसम्म चाँडै भुल्न प्रेरित गर्ने आत्मीयजनले अभिवादनजस्तो आत्मीय भावना जगाउने र सकारात्मकताको सांकेतिक व्यवहारलाई नकार्ने कार्य कत्ति पनि स्वाभाविक लाग्दैन । समवेदना दिन आउने अथवा समवेदना पाउने जोकोहीले सुरु गर्दा पनि हुन्छ । अभिवादन सुखका बेला, उत्सव र हाँस्दा मात्र प्रयोग गरिनुपर्छ भन्ने मान्यता नै गलत छ । दु:खका बेला र हाँस्नका लागि पनि यसले उत्तिकै प्रेरक भूमिका निर्वाह गर्न मद्दत गर्छ भन्ने लाग्छ ।

जवाहरलाल नेहरु विश्वविद्यालयबाट समाजशास्त्रमा विद्यावारिधि कैनी त्रिविस्थित नेपाल तथा एसियाली अध्ययन केन्द्र ‘सिनास’ बाट अवकाश प्राप्त अध्येता हुन् ।

प्रकाशित : असार ३१, २०७५ ०८:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×