प्रधानमन्त्रीलाई प्रतिपक्षी प्रेमपत्र

कांग्रेसका पालामा धरहरासम्म मात्रै उक्लिएको बजार मूल्य कम्युनिष्टका पालामा किन सगरमाथा चढ्यो ?
विश्वप्रकाश शर्मा

काठमाडौँ — प्रधानमन्त्रीज्यू, ‘मेरो देश डुब्न लाग्यो’ मार्मिक गीतको पंक्ति उद्धृत गरेर तपाईंकै पार्टी नेता माधवकुमार नेपालले संसदमा बोल्नुभएपछि त्यसले आजको देश बयान गरिसकेकै छ  । तर उहाँको कोणबाट देखिएझैं निराश, आक्रोश र ‘सबै सकिन लाग्यो’ भन्ने ढंगको टिप्पणी म गर्न चाहन्न  ।

यद्यपि ‘सबै ठिकै छ’ भन्ने प्रकृतिको तपाईको जवाफ पनि भुइँतलामा आगो लाग्या हो, छानामा खोइ कहाँ छ भन्ने लापरबाहीको जगमा उभिएको छ । सत्य हो, सात महिनामा कुनै पनि सरकारले चमत्कार गर्न सक्दैन र यति छोटो अवधिमा यी–यी काम किन भएनन् भनी प्रश्न थुपार्नुको अर्थ छैन । पाँच वर्षमै हो, पुरै परिणाम हेर्ने र अन्तिम समीक्षा गर्ने । तर यी–यी काम किन बिग्रिए भनेर सोध्न पाँच वर्ष कुर्ने कुरा हुन्न ।


विसंगति किन बढेर गयो ? शान्ति सुरक्षाको यस्तो कारुणिक अवस्था किन ? कांग्रेसका पालामा धरहरासम्म मात्रै उक्लिएको बजार मूल्य आज कम्युनिष्टका पालामा किन चढ्यो, सगरमाथा ? किन अपारदर्शी र विवादास्पद चरित्र प्रस्तुत भइरहेको छ, विकास निर्माणका कतिपय परियोजनामा ? यस्ता प्रश्न उठ्नु स्वाभाविक र जरुरी छ । प्रश्न उठाउँदा माधवकुमार नेपालले पुरै अँध्यारो देख्नुभयो, गलत गर्नुभयो । जवाफ दिंँदा तपाईले पुरै उज्यालो देख्नुभयो, त्यो पनि गलत गर्नुभयो । जरुरी छ, वस्तुगत भएर विषयलाई हेर्न, बुझ्न, समीक्षा गर्न र सच्चिएर अघि बढ्न ।


इतिहासमै शक्तिशालीको संज्ञा धेरैले दिएका छन्, तपाई नेतृत्वको सरकारलाई । शक्तिको मापन गर्ने यन्त्र अमूर्त हुन्छ, त्यता नजाऊँ, बरु इतिहासमै सहज वातावरण प्राप्त सरकार भन्नु उचित ठान्छु । न शान्ति स्थापना गर्ने ज्वालामुखी झेल्नुछ, न संविधान निर्माण गर्ने जटिलता चिर्नुछ, न संविधानसँग अहसमतलाई संयोजन गरेर चुनाव गराउनुछ । यी सबै ‘सेटल’ भइसकेपछिको सरकार समृद्धिको यात्रामा हिँड्न होइन, दौडन सक्नुपर्ने हो, तर किन घिस्रिन पनि मुस्किल परिरहेको छ, प्रधानमन्त्रीज्यू ? अनि किन एकपछि अर्को विवाद र प्रतिकूलतामा पँmस्दै गएको छ, सरकार ?


प्रधानमन्त्रीज्यू, यो प्रेमपत्र कांग्रेस केन्द्रीय समितिले यही साता पारित गरेको केही समसामयिक अभिमतको जगमा लेखिरहेको छु । यसलाई मेरो व्यक्तिगत या मेरो पदीय जिम्मेवारी अन्तर्गतको जे बुझे पनि हुन्छ ।

कुन ग्रेडको शान्ति सुरक्षा ?
झापामा तपाईकै चुनाव क्षेत्रमा गतमहिना एक कपडा व्यापारी मारिए । उपत्यकामा तपाईकै घर नजिक काँडाघारीमा अपहरणपछि बालकको हत्या भयो । पोखरामा एक युवति मृत भेटिइन् । रोल्पामा तरुण दलका कार्यकर्ताको हत्या तपाईंको पार्टीका एक युवकबाट भयो । काठमाडौंमा निर्मम ढंगले मारिए, पूर्व राजदूत । एसिड आक्रमणको शृङखला बढ्यो । निर्मला पन्तको प्रकरण बाहिर आयो, संसदमा गृहमन्त्रीको वक्तव्य आयो– देशमा शान्ति सुरक्षा स्थिति अत्यन्तै राम्रो छ । ज्ञान बढाउन जान्न चाहन्छु, यो कुन ग्रेडको शान्ति सुरक्षा हो, प्रधानमन्त्रीज्यू ?


निर्मला प्रकरणमा दोषी जोगाउने षडयन्त्र । निर्दोषलाई दोषी किटान गरेर सार्वजनिक । न्याय माग्दा गोली र एक अबोध बालकको बलि । देशको १९ स्थानमा प्रदर्शन भएकै दिन तपाईको अरिंगाल अभिव्यक्ति । अनुसन्धानलाई प्रभावित गर्ने ढंगले टिभीमा विवादास्पद बोली । सरकार र नेकपालाई बदनाम गर्ने षड्यन्त्रले यस्तो भइरहेको ‘बौद्धिक’ दाबी अर्का वरिष्ठ नेताको । गृहमन्त्रीको ठहर— बलात्कार पुँजीवादका कारण भएको रहेछ । सम्माननीय प्रधानमन्त्रीज्यू, यो समग्र घटनाक्रम, सोच, शैली र बोलीलाई जिम्मेवार व्यवहार दाबी गर्नसक्ने अवस्थामा कोही छन्, तपाई निकट बुद्धिजीवी सिंहदरबारमा ?

विमानस्थल बनाऊँ, सहर होइन
हाम्रो सपना र संकल्पको राष्ट्रिय गौरवको प्रस्तावित निजगढको अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ । आवश्यक जग्गा सरकारले उपलब्ध गराउनुपर्छ । त्यसका लागि रुख काट्नैपर्छ । तर ईआईए प्रतिवेदनले २४ लाख ५० हजार ३ सय १९ वटा रुख काट्नुपर्ने आवश्यकता ठहर्‍याएको विषय विवादास्पद छ । केवल १२२७ हेक्टरमा बनेको छ, लन्डनको हिथ्रो विमानस्थल ।


त्योभन्दा दोब्बर फैलावटमा बनाउने पक्कै होइन भने किन चाहियो २५५६ हेक्टर ? अनि २४ लाख रुख काटिँदा त्यसको २५ गुणा बिरुवा रोप्ने जुन विकल्प छ, त्यसका लागि ३८ हजार २ सय ८२ हेक्टर आवश्यक पर्ने जग्गाको उपलब्धता, वृक्षरोपण अनि जंगलको विकास कागजमा अर्को धर्का कोरेजस्तो निमेषभरमा गर्न सकिने कुरा होइन । अत: प्रधानमन्त्रीज्यू, निजगढमा केवल एयरपोर्ट बनाऊँ, एयरपोर्ट सिटी होइन । एकमात्र पनि रुख बढी काटे सिंगो देशको विमति रहनेछ ।

बूढीगण्डकी : किन त्वं शरणम् ?
बूढीगण्डकीको जलविद्युत परियोजना हामी आफै बनाउन सक्छौं भन्ने ठहर कांग्रेस नेतृत्वको सरकारले गठन गरेको अध्ययन समितिले गरेको थियो । नेपाली उपभोक्ताले प्रतिलिटर पेट्रोलमा पाँच रुपैयाँ तिर्न थालेको रकम गत भदौ मसान्तसम्ममा २३ अर्बभन्दा बढी उठिसकेको छ । आम नागरिकको सहभागिता गाँसिएको यस्तो परियोजनालाई विना प्रतिस्पर्धा गेजुवालाई सुम्पिएर त्वं शरणम् किन गर्नुभएको प्रधानमन्त्रीज्यू ? कांग्रेसले गरे राष्ट्रघात, कम्युनिष्टले गर्दा क्रान्तिकारी राष्ट्रवाद ?

वाइड बडी कि वाइड भुँडी
नेपाल वायुसेवा निगमका दुइटा वाइड बडी विमान खरिद प्रक्रिया अपारदर्शी रहेको टिप्पणी महालेखा परीक्षकबाट सार्वजनिक भएको छ । अख्तियारले प्रवेश गरिसकेको छ । यसको छानबिनमा सत्ताको कस्तै छायाको प्रभाव पर्नु हुन्न । भ्रष्टाचारमा शून्य सहनशीलताको व्यावहारिक पुष्टिको अवसर छ, तपार्इंलाई । सिंगो देश यो प्रकरणको निष्पक्ष तथ्यको प्रतीक्षामा छ ।

हम्बनटोटा नबनोस् रेल
रेल हावादारी सपना होइन । कांग्रेसको घोषणापत्रमा हामीले पनि रेल सपना उल्लेख गरेका छौं । तर रेलको सपना पुरा गर्न सपनाको शिरमा रातो रिबन बाँधेर पुग्दैन । सपनाले संकल्प खोज्छ, संकल्पले योजना, योजनाले सर्वेमा पुर्‍याउँछ र सर्वेले डीपीआरमा अनि डीपीआरले लगानी र लगानीले वातावरण माग्छ ।


दुई–अढाई वर्षमै रेल केरुङबाट काठमाडौं पुग्नेछ र रक्सौलबाट काठमाडौं जोडिनेछ भनेर प्रधानमन्त्रीज्यू तपाईंकै तहबाट व्यक्त भाषण माफ गर्नुहोला, सम्भव सपनाको हावादारी बयानबाजी हो । विरोध गर्नेलाई सित्तैमा रेल चढाउने भाषणको मजा लिइरहन हामी तपाईंलाई अवरोध गर्दैनौं । काठमाडौं आइपुग्ने उत्तर र दक्षिणको रेलमा बाह्य अनुदानलाई हाम्रो स्वागत हुनेछ । तर महाऋणको भार मुलुकलाई बोकाउने सम्भावना हो भने त्यसको खुलेरै अवरोध गर्ने चेतावनी जारी गर्छौं ।


प्रश्न भारत या चीनको होइन, ऋणको हो, प्रधानमन्त्रीज्यू । एयरपोर्ट, बन्दरगाह र सडक बनाउन लिइएको खर्बौं ऋणको भारले थिचिएपछि श्रीलंकाले अन्तत: ‘डेट ट्र्याप’मा परेर हम्बनटोटा बन्दरगाह र १४ हजार एकड जमिन चीनलाई ९९ वर्षका लागि सुम्पिएको छ । उत्तरको चीन दक्षिणमा विस्तारित भएको छ । ‘हम्बनटोटा दुई’ पाकिस्तानमा बन्न नदिन इमरान खान प्रधानमन्त्री बनेपछिको सरकारले कराँचीदेखि पेसावर जोड्ने रेलमार्गका लागि पूर्ववर्ती सरकारले लिने तयारी गरेको आठ अर्ब अमेरिकी डलर ऋणको आकारमाथि पुनर्विचार सुरु गरेको छ ।


मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले चिनियाँ ऋणमा बनाउने प्रक्रिया अघि बढिरहेको पूर्वी तटीय रेल लिंक र दुइटा ग्यास पाइप लाइन परियोजना रद्धको घोषणा गरेका छन् । उनीहरूले श्रीलंकाको निकट अतितबाट पाठ सिके । सिके, बाह्य ऋणको खोलो बगाएर लोकप्रिय हुन सकिन्छ, तर अन्तत: त्यही खोलाले डुबाउँछ ‘लोक’ र लोकप्रियता दुवैलाई ।


बोली होइन, कर्म लेखिन्छ इतिहासमा सुत्नुभएको छैन, प्रधानमन्त्रीज्यू, हामी देखिरहेका छौं, तपाईंले पसिना बगाइरहनुभएको छ । तर पसिना बालीमा होइन, नालीमा बग्यो भने परिणाम प्राप्त भएन भनेर दु:ख मनाउनुको भोलि अर्थ हुने छैन । त्यसमा पनि पसिना बग्नुलाई होइन, विज्ञानको परिभाषामा दूरी पार गर्नुलाई भनिन्छ काम । संविधान निर्माणकालमा पसिना अरु प्रधानमन्त्रीले पनि बगाएकै थिए तर दूरी पार त सुशील कोइरालाले गर्नुभयो ।


दुनियाँ जादन्छ, भाषण गर्न योग्य हुनु र शासन गर्न सफल हुनुबीच पहाड र समुद्र जतिकै फरक हुन्छ । जिब्रोमा क्यान्सरका कारण सुशील कोइरालाको बोली राम्रोसँग बुझिएन, तर कर्म प्रस्टसँग बुझियो । उहाँको नेतृत्वमा देशले संविधान पायो । इतिहासमा उहाँको त्यही कर्म लेखियो । प्रधानमन्त्रीज्यू, तपार्इंको बोली प्रस्ट बुझिन्छ, बुझिएको छ, तर कर्म बुझ्न नसकेर मानिस हैरान हुँदै गएका छन् ।


शान्ति, संविधान र चुनावपछिको इतिहासकै यी उर्वर र सुन्दर दिनहरूलाई ‘बन्जर’ बनाउन नलाग्नुस् । सुन्नुस् डा. गोविन्द केसीलाई जसले पुन: अनशनको चेतावनी दिइसकेका छन् । अनि आफ्नै अन्तरआत्माको आवाज सुन्नुस् प्रधानमन्त्रीज्यू, अनेक आँधी थामिएको देशमा तपाईंको नौका किन डुब्न लाग्दैछ, के असफल माझीको नियति तपाईको ललाटमा लेखिएको छ ?


लेखक कांग्रेस प्रवक्ता हुन्।

twitter: @bishwaprakash77 प्रकाशित : आश्विन २५, २०७५ ०८:०६

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

दम्भको श्रीपेच

विश्वप्रकाश शर्मा

काठमाडौँ — जुम्लाको अस्पतालमा गोली चलेको साँझ बुद्ध र जंगबहादुरको ‘फ्युजन’को अलि अघिको प्रसंग सम्झिएँ । प्रधानमन्त्री केपी ओलीले केही अघिमात्रै डा. गोविन्द केसीलाई राजनीतिमा आउन चुनौती दिएको सन्दर्भ पनि सम्झिएँ । त्यसपछि सम्झिएँ, श्रद्धेय मदन भण्डारीलाई । ‘महाराज, आँखा नचम्काई बक्स्योस्, राजनीति गर्न मन भए श्रीपेच खोलेर मैदानमा आए हुन्छ ।’

मदन कमरेडले उसबेला यसरी चुनौती दिएको राजाको शिरमा रंगीन श्रीपेच थियो, केपी कमरेडले यो बेला चुनौती दिएका ‘प्रजा’को शिरमा रंगरहित ‘स्लाइन’ छ । मदनले त्यो चुनौती सडकको चिसो भुइँबाट दिनुभयो, केपीले यो चुनौती सत्ताको न्यानो कौशीबाट ।

कमरेड मदन हिजोका आदर्श, हिजोका सिद्धान्त । कमरेड केपी आजको यथार्थ, आजको सत्ता । हिजोको सिद्धान्तसंँग क्रान्तिकारी भावको पवित्र घनिष्ठता थियो । आजको सत्तासँंग दम्भको अपवित्र लसपस छ । एक्काइसांै शताब्दीको पुस्ता जान्दछ– लोकतान्त्रिक प्रक्रियाबाट विजयी हुनु र लोकतान्त्रिक चरित्रको हुनुका बीच फरक हुन्छ । अनि जब ‘जबज’लाई गोपिक्याँच बनाएर ‘माओवाद’संँग ‘फ्युजन’को ‘कन्फ्युजन’ चलिरहन्छ, तब स्वीट्जरल्यान्ड कि उत्तर कोरिया भन्ने विरोधाभाष पनि तन्किइरहन्छ । परिणाममा ‘जरा गाडेको लोकतन्त्रको पखेटा काट्ने अभ्यास’ राम्रैसंँग भएको छ, बितेका पाँच महिनामा । जुम्ला ज्यादती त्यसकै एउटा दृष्टान्त हो ।

मदन रोड र मदन विचार
कमरेड केपी संघर्षको जमिनबाटै आउनुभएको नेता हो र चुनाव जितेरै प्रधानमन्त्री बन्नुभएको हो । उहाँको शैली र व्यवहारले के आशंकालाई निरन्तर बल पुर्‍याएको छ भने उहाँ एकातर्फ शास्त्रीय चिन्तनको र अर्कोतर्फ लोकतान्त्रिक मूल्य–मान्यताको दबाबमा हुनुहुन्छ । कम्युनिस्ट मेनिफेस्टो पढेर, बढेर हुर्किएको एकातर्फको पृष्ठभूमि अनि अर्कातर्फ लोकतान्त्रिक संविधान निर्माणमा सहभागिता र पाना–पानामा हस्ताक्षर ।

संसदीय व्यवस्थाको पार्थिव शरीरमाथि सर्वहाराको अधिनायकवाद स्थापना गर्ने जीवनको पूर्वाद्धमा लिएको सपथ एकातर्फ अनि जीवनको उत्तरा्द्र्धमा त्यही संसदीय व्यवस्थामा प्रधानमन्त्री पदको सपथ ग्रहण । अब उहाँ सुस्पष्ट ढंगले कहाँनिर उभिन चाहनुहुन्छ, त्यसले निधो गर्नेछ, अब नेपालको समृद्धिले गति लिन्छ या नवीन राजनीतिक टकराव प्रारम्भ हुन्छ । ‘जनवादी क्रान्ति’को कार्यभार पूरा भएको छ कि छैन ? छैन भन्ने निष्कर्ष हो भने त्यसले नेकपाभित्र ‘सरकारमार्फत सत्ताकब्जा’को मनोविज्ञान बढाउनेछ र टकराव हुनेछ । पूरा भएको छ भन्ने ठहरमा पुग्दा त्यसले सहज राजनीतिक यात्रामार्फत समृद्धिको मिसनलाई सहज बनाउँछ र लोकतान्त्रिक संस्कृति कति प्रस्तुत हुन्छ भन्नेमात्रै परीक्षा बाँकी रहन्छ ।

‘जनताको बहुदलीय जनवाद’को प्रतिपादन मदन भण्डारीले सम्भवत: आजको दिनको यस्तै जटिलता हल गर्ने दूरदर्शी परिकल्पनाका साथ गर्नुभएको थियो । तर उहाँको भौतिक विदाइको ठिक पच्चीस वर्षपछि जेठ ३ गते नै मदन भण्डारीको वैचारिक विदाइ सम्पन्न गरियो । दुई पार्टी एकीकृत भए, तर माओवादी पार्टीसमेत सहभागी हुन आइपुगेको बहुदलीय जनवादको बाटोलाई इतिहासको सन्दुकमा थन्क्याइयो । त्यस दिनबाट जबज ‘पेन्डिङ’मा छ ।

एकीकृत पार्टीमा आफ्नो स्थान सुरक्षित गर्नलाग्दा मदन भण्डारीकै स्थान असुरक्षित भइसकेको धेरैले गहिरो हेक्का राखेनन् । ठिक त्यही समय ‘मदन भण्डारी लोकमार्ग’को चर्चा बाहिर ल्याइयो । जसरी नेहरू कालमा भारतका कैंयन सडकले एमजी रोड अर्थात महात्मा गान्धी मार्गको नाम पाएका थिए । त्यसबेला चर्चित लेखक/पत्रकार खुशवन्त सिंले सटिक व्यंग्य लेखेका थिए, ‘कोलकातामा रहेको ह्यारिसन रोडलाई सरकारले नाम फेरेर महात्मा गान्धी मार्ग बनाएको छ, कानपुरको मालरोड पनि गान्धी रोड भएको छ । तिमी यो रोडमा हिँंड या त्यो रोडमा तर गान्धी रोडमै हिँंडिरहेको हुनेछौ, अनि कसरी नेहरू सरकारले छाड्यो, गान्धी मार्ग ? अरे को भन्दैछ, नेहरू सरकार गान्धी मार्गमा हिँडिरहेको छैन भनेर ?’

केही वर्षअघि ग्राभेल गर्न सुरु गरिएका चुरेमार्ग लगायतका बाटालाई ‘लिंक’ गरेर ओली सरकारले मदन भण्डारीका नाममा लोकमार्गको न्वारन गरेको छ । तर मदनको जबजलाई भने खोपाको भीमसेन बनाइएको छ । मदनका नाममा सडक बाटो बन्नुपर्छ, तर उहाँले विकसित गरेको जबजलाई भीमसेन बनाएर सिर्जनात्मक प्रयोग र विकास अघिको ‘उही माक्र्सवाद’मा फर्किएर कस्तो लोकतन्त्र ? कस्तो समृद्धि ? पूर्व एमाले कार्यकर्ताले निकट भविष्यमै गर्नेछन्, यस्ता प्रश्न । तिनले सोध्नेछन्, जबजको मार्ग हिँडेर कम्युनिस्ट पार्टी सरकारमा पुग्यो, तर सरकारमा पुगेपछि जबजको लौरोचाहिँं खोलापारि नै बिर्सने ?

दुई भिन्न कम्युनिस्ट मत
कम्युनिस्ट पार्टीको बहुमतको सरकार बनाउन रगत–पसिना लगानी गरेका कार्यकर्ता आफ्नो सरकारको अनिवार्य सफलता चाहन्छन् । तर सरकार बनेको पाँच महिना पुग्दा–नपुग्दै ती कार्यकर्ताको हृदय दुई भिन्न मनोविज्ञानमा विभक्त भइसकेको छ । एकथरीलाई लागेको छ– बहुमतको सरकार हो, त्यसैले यसले जे–जे गर्ला खुट्टा बजारेर समर्थन ठोक्ने हो, ठोक्नुपर्छ । बितेको पच्चीस वर्षमा हामी कैयौं कांग्रेसजनले कैयौंपटक त्यसरी नै समर्थन ठोक्यौं र अन्त्यमा परिणाम भोग्यौं । अर्काथरी कम्युनिस्ट कार्यकर्ता ठान्छन्– समयमै सच्चिन नसक्दा भोगिएको परिणामबाट शिक्षा लिन जरुरी हुन्छ । वस्तुगत भएर सोच्ने कम्युनिस्ट कार्यकर्ताको पंक्ति ठूलो छ । तर निर्णायक दबाब राख्न सक्ने पहँुचबाट भने ती टाढा छन् ।

‘म सानो छँदा नब्बे रुपैयाँ तोला सुन पाइन्थ्यो, अहिले त्यो खोजेर हुन्छ ?’ मूल्य वृद्धिबारे संसद्लाई दिएको यो जवाफलाई जिम्मेवार प्रधानमन्त्रीको जिम्मेवार जवाफका रूपमा इमानदार कार्यकर्ताले पक्कै लिएनन् । लोकतन्त्रका लागि लाठी खाएर उभिएको सडकमा आज आफ्नै सरकारले निषेधाज्ञाको लाठी प्रहार गरिरहँदा त्यसलाई समर्थन गर्न तिनको मनले मानेको छैन । प्रश्न गरेकै कारण सरकारी टिभीको एक कार्यक्रम बन्द अनि अर्का निजी क्षेत्रका प्रस्तोतामाथिको व्यवहारलाई तिनले रुचाएका छैनन् ।

‘सरकारको आलोचना बढ्यो, प्रतिवाद गर्नुस्,’ प्रधानमन्त्रीका शब्द चुपचाप सुन्न सक्छन् कार्यकर्ता, तर विश्वविद्यालयका उपकुलपतिलाई अपहरण शैलीमा पक्रिएर प्रधानमन्त्री निवासलाई पुलिस चौकीजस्तो बनाइँदा तिनले स्यावास कसरी भन्न सक्छन् ? गणतन्त्र दिवसको बिहानै बालकृष्ण ढुंगेलका लागि फूलको माला कसरी उन्न सक्छन् ? कांग्रेस या डा. केसीका कारण होइन, दम्भको श्रीपेच लगाएर आवेगसाथ अघि बढ्न खोज्दा सरकार आफै क्रमश: रक्षात्मक बन्दै गएको छ ।

डा. केसी प्रकरण र कांग्रेस
हिजो सरकारमा छँदा डा. गोविन्द केसीका माग पूरा नगर्ने आज विपक्षमा हुँदा मुद्दा बनाउने ? नेपाली कांग्रेसले समयमै प्रस्ट्याउन नसक्दा यस्ता प्रश्न उठ्नु स्वाभाविक छ । पञ्चायतको तीस वर्ष नेपालको समग्र स्वास्थ्य क्षेत्रको आकार अत्यन्तै सानो थियो । २०४६ को परिवर्तनपछि कांग्रेस सरकारको कार्यक्रम अनुरूप एकातर्फ स्वास्थ्य चौकी विस्तार भए । अर्कातर्फ कांग्रेसले लिएको उदारीकरणको नीतिका कारण दुईबाट दुई दर्जनको संख्यामा मेडिकल कलेज विस्तारित हुनपुगे । संख्या बढेसँंगै समस्या बढ्दै गयो । खासगरी चिकित्सा शिक्षामा कैयौं बेथिति देखिए । त्यसको अन्त्यका लागि आवाज उठ्नुु स्वाभाविक थियो र समयले डा. केसीलाई जन्म दियो ।

चिकित्सा शिक्षामा सुधारका लागि उहाँको माग र अनशनलाई सम्बोधन गर्दै कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको सरकारले नै हो, केदारभक्त माथेमाको नेतृत्वमा उच्चस्तरीय कार्यदल निर्माण गरेको । त्यही कार्यदलको प्रतिवेदनका आधारमा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारकै पालामा उहाँको माग पूरा गरेर अध्यादेश जारी गरिएको थियो । सरकारमा छँदा आफैले पूरा गरेको मागलाई विधेयकका रूपमा ल्याऊ भनेर संसद् र सडकमा दबाब दिनु कांग्रेसको कर्तव्य हो । डा. केसीको अहिलेको अनशनको मुख्य माग त्यही अध्यादेशजस्तै विधेयक हो ।

कांग्रेसका पालामा जारी अध्यादेश र कम्युनिस्ट सरकारले ल्याउन खोजेको विधेयकमध्ये ‘सर्वहारा’को पक्षमा कुन छ ? पूर्वाग्रहरहित भएर इमानदार छलफल गर्ने हो भने सहजै निष्कर्ष निक्लिन्छ । निजी क्षेत्रलाई बढावाका नाममा राज्यको भूमिका हामीले पक्कै खुम्च्यायौं । अध्यादेश नै कानुन बन्दा निजी क्षेत्रलाई निश्चित साइजमा राख्छ, राज्यको दायित्व विस्तारित गर्छ र समाजवाद उन्मुख संविधानको मर्म पक्षपोषण हुन्छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा ‘कोर्स करेक्सन’का लागि मनोवैज्ञानिक वातावरण विकसित भइरहेका बेला प्रधानमन्त्री भने उल्टी गंगा हिँडेर गीतचाहिंँ सर्वहाराकै गाइरहनुभएको छ ।

समयमै सच्चिनुस् कमरेड
न शान्ति स्थापना गर्नुछ, न संविधान लेख्नुछ, न चुनाव गराएर संविधान कार्यान्वयन गर्नुछ । यति सहज राजनीतिक अवस्था र शक्ति बितेको सत्तरी वर्षमा कुनै प्रधानमन्त्रीलाई प्राप्त थिएन । बीपीसँंग दुई तिहाइ थियो, तर यति सहज अवस्था थिएन । तर प्रधानमन्त्रीले आफ्नै बोली, प्रवृत्ति र नियतका कारण देशको उर्वर कालखण्ड व्यर्थमा क्षय गर्नलागेको देखिन्छ । म आफ्नै जिल्लावासी प्रधानमन्त्रीलाई गम्भीर बन्न अपिल गर्दै यतिमात्र भन्न चाहन्छु, प्रधानमन्त्रीज्यू, लोकतन्त्रमा बहुमतको शासन हुन्छ, तर जब बहुमत र विवेकको कुरा आउँछ, तब प्रधान विवेक हुन्छ । बहुमत छँदैछ, अब विवेकलाई अघि लगाउनुस्, हामी सबै पछि लाग्न तयार छौं । दम्भको श्रीपेच फुकाल्नुहोस् ।

शर्मा नेपाली कांग्रेसका प्रवक्ता हुन्।
ट्विटर : @bishwaprakash77

प्रकाशित : श्रावण ७, २०७५ ०७:४२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×