आमसञ्चारमा अल्पसंख्यक भाषा

दानराज रेग्मी

काठमाडौँ — नेपालमा भाषा धेरै भए पनि तिनीहरूका वक्ता ज्यादै कम छन् । नेपालीबाहेक दस हजारभन्दा माथि वक्ता संख्या भएका भाषा सत्र ओटा छन् । यी भाषामा मैथिली, भोजपुरी, थारू, तामाङ, नेवार, मगर, अवधी, बान्तवा, गुरुङ, लिम्बु, बज्जिका, उर्दू, राजवंशी, शेर्पा, आछामी, बैतडेली र डोटेली पर्छन् । नेवार, मैथिली, भोजपुरी, तमाङजस्ता भाषा आमसञ्चारमा राम्ररी आइसकेका छन् । न्यलाई पनि वक्ता संख्याका हिसाबले बढाउन सकिन्छ ।

कम वक्ता भएका, लेखन प्रणाली विकास नभएका र घरपरिवार र छरछिमेकमा मात्र प्रयोग हुने भाषा ५० भन्दा बढी छन् । तिनमा आठपहरिया, बराम, बोटे, चेपाङ, छिन्ताङ, दनुवार, दराई, धिमाल, दुमी, घले, गुरुङ, कुमाल, उराव, थकाली, थामी, थलुङ, वाम्बुले, याम्फु, सुनुवार, शेर्पा, याक्खाजस्ता भाषा पर्छन् । आमसञ्चार भाषा प्रयोगको सबैभन्दा सशक्त र प्रभावकारी क्षेत्र हो ।

आमसञ्चारमा विचार विनिमय गर्ने प्रमुख माध्यम भाषा हो । सीमित सख्याका भाषा बोल्ने मुलुकमा आमसञ्चारका भाषा छनोट जटिल हुन्न तर नेपालमा सर्वस्वीकार्य भाषा छनोट गर्ने काम सजिलो छैन । सामान्यत: बहुसंख्यकता भाषा छनोटको पहिलो आधार हो । यसैका आधारमा नेपाली भाषा आमसञ्चारमा लोकप्रिय बनेको छ । अन्तर्राष्ट्रिय सञ्चारलाई भाषा छनोटको दोस्रो आधार मानिन्छ । अंग्रेजीको छनोट र प्रयोग यही आधारमा भएको हो ।

प्रजातन्त्र पुन:स्थापनाको संघर्षमा अल्पसंख्यक भाषामा लेखिएका पर्चा गोप्य रूपमा छापिने र बाँडिने गरिन्थे । गोरखापत्रले २०६४ सालदेखि समावेशिताका आधारमा बहुभाषी पृष्ठ प्रकाशन गर्ने नीति लियो । आज बहुभाषी पृष्ठ ३४ ओटा भाषामा प्रकाशित हुन्छ । यीमध्ये करिब २५ ओटा अल्पसंख्यक भाषा छन् । किरात राई भाषिक समुदाय मातृभाषामा पत्रिका प्रकाशन गर्ने कार्यमा अगाडि देखिन्छ । लिब्जु–भुम्जु, किरायाबुङ, बुङ्वाखा, सायालोङ, सायाबुङ, सोदेल, तुवाछुङ, सुक्तुम, छेलामतुम, दोदिखाम, स्यामुना र इसिलिम प्रतिनिधिमूलक पत्रिका हुन् ।


यीमध्ये बुङ्वाखा र सायालोङ एकभाषी छन् । यी पत्रिकाले मातृभाषा प्रयोगका लागि भाषिक समुदायलाई उत्साहित गर्न भूमिका खेलेका छन् । केही पत्रिका बजेट अभावले नियमित रूपमा प्रकाशित हुन सकेका छैनन् । भाषाको ध्वनिअनुसार लेखनमा एकरूपता कायम गर्न पनि गाह्रो देखिएको छ । नेपालमा के कति अल्पसंख्यक भाषा आमसञ्चारमा प्रयोग भइरहेका छन् भन्ने प्रामाणिक जानकारी कतै भेटिँदैन ।

एथ्नोलग, नेपालको भाषिक सर्वेक्षणका प्रतिवेदन र गोरखापत्र दैनिकलाई आधार मान्दा नेपालका ७० ओटा अल्पसंख्यक भाषामध्ये ४४ ओटा केही न केही रूपमा आमसञ्चारमा प्रयोग भएका पाइन्छन् । ३२ ओटा भाषामा पत्रिका र २८ ओटामा समाचारपत्र प्रकाशन भएका छन् भने ३० ओटा भाषा रेडियो (एफएम), टेलिभिजन र फिल्ममा प्रयोग भएका देखिन्छन् ।

संविधानले सबैलाई आफ्नो भाषा र लिपि प्रयोग, संरक्षण र संवद्र्धन गर्ने अधिकार दिएको छ । राष्ट्रिय आमसञ्चार नीति (२०७३) ले राष्ट्रिय हित र एकतालाई प्रवर्धन गर्दै समावेशी र सहभागिताका सिद्धान्तका आधारमा समतामूलक र उन्नतिशील सूचना समाज स्थापनाका लागि सूचना तथा सञ्चार प्रणाली विकास गर्ने लक्ष्य राखेको छ । यस नीतिअनुसार नेपालका अल्पसंख्यक भाषालाई पनि उचित स्थान दिनुपर्छ तर अल्पसंख्यक भाषालाई कसरी यस क्षेत्रमा प्रवद्र्धन गर्ने भन्ने विषयमा भने नीति मौन छ ।

अलिगढ मुस्लिम विश्वविद्यालका भाषाविज्ञान विभागका सञ्चार भाषाविज्ञानका प्राध्यापक अली फतिही भन्नुहुन्छ, ‘आमसञ्चारमा आधिकारिक रूपमा परिष्कार गरिएको भाषा प्रयोग गरिन्छ । यस्तो भाषाले समाजलाई एकताबद्ध बनाउँदै सांस्कृतिक मूल्य र मान्यतामा आधारित शान्तिपूर्ण समाजको निर्माणमा ठूलो टेवा दिन्छ ।’

संस्कृतिजस्तै भाषा पहिचानको मेरुदण्ड हो । विभिन्न भाषिक समुदाय मातृभाषा संरक्षणमा जुट्ने प्रयास गरिरहेका छन् । हालै अल्पसंख्यक भुजेलको भाषा र संस्कृति पहिचान र संरक्षण गर्नका लागि पहिलो कथानक चलचित्र ‘नि प्हुँगाल’ (हामी भुजेल) निर्माण गरेका छन् । यसमा लगभग ४० प्रतिशत भुजेल भाषा प्रयोग गरिएको छ । यो प्रशंसनीय काम हो ।

भाषा ज्ञानको सञ्चार गर्ने प्रमुख साधन हो । हरेक समुदायले समाज उपयोगी ज्ञान संग्रह गरेका हुन्छन् । ती ज्ञान आफ्नो भाषामा पुस्तान्तरण गरिन्छ । पुस्तान्तरण मातृभाषामा प्रभावकारी हुन्छ । ‘केटाकेटीले भुजेल भाषा बोल्न छाडे । केटाकेटीले जडीबुटी चिन्दैनन् । बूढो भइयो, जंगल जान सक्दिनँ । अब टाउको दुखे पनि डाक्टरी ओखती खानुपर्छ,’ तनहुँको आदिमूल गाउँका एक वृद्ध भुजेलले गुनासो पोखेका थिए । आफ्नो भाषा बोल्दा प्रतिष्ठामा आँच आउँदैन भनेर आत्मविश्वास दिलाउन पनि कम्तीमा स्थानीय रेडियोमा भाषाको प्रयोग गर्नुपर्छ । आमसञ्चारमा भाषा प्रयोगले विद्यालय तहमा स्थानीय भाषा सिकाउन र सिक्न प्रोत्साहन गर्छ । साक्षरता र सांस्कृतिक तौरतरिका विकास गर्न सञ्चारमा भाषाको प्रयोगले मद्दत गर्ने अध्ययनले प्रमाणित गरिसकेका छन् ।

अल्पसंख्यक भाषिक समुदायमा आफ्नो भाषाप्रति सकरात्मक भावना विकास गर्न सञ्चारमा भाषाको प्रयोगले ठूलो भूमिका खेल्छ । भाषिक अधिकार मानव अधिकारको प्रमुख अंग हो । यो सबैले बुझ्नुपर्छ । यसले भाषिक समुदायलाई भाषा विकासका क्रियाकलापमा लाग्न प्रोत्साहन गर्छ । भाषा र आमसञ्चार सामाजिक मनोविज्ञानको ऊर्जाशील र नयाँ क्षेत्र हो । यसलाई प्रवद्र्धन गर्नु जरुरी छ ।

आमसञ्चारमा अल्पसंख्यक भाषा प्रभावकारी रूपमा प्रयोग गर्न भने केही जटिल समस्या छन् । नेपालमा स्पष्ट कार्यान्वयन नीति अभाव छ । अर्को, धेरै यस्ता भाषामा लेखन पद्धति विकास गरिएको छैन । तान र कण्ठ्यस्पर्शी ध्वनिलाई देवनागरी लिपिमा अनुकूलन गर्न गाह्रो हुन्छ । यस्ता समुदायका मानिस बसाइँसराइले धेरै स्थानमा छरिएका छन् । यसैले लागतअनुसार प्रतिफल प्राप्त गर्न गाह्रो छ । यसले सञ्चारगृहहरू त्यस्ता भाषाप्रति त्यति आकर्षित हुन सकेका छैनन् तर राज्य यो दायित्वबाट पन्छिन पाउँदैन ।

संघीय र स्थानीय सरकार, भाषिक समुदाय र विज्ञ मिली यस्ता भाषाको स्थिति मूल्यांकन गर्नुपर्छ । प्रभावकारी रणनीति खोजी गर्नुपर्छ । अल्पसंख्यक भाषाका श्रोता, दर्शक तथा पाठक कम हुन्छन् । खर्चको तुलनामा प्रतिफल निकै कम हुन्छ । सञ्चारगृहलाई विशेष अनुदान व्यवस्था सरकारी तवरबाट हुनुपर्छ । देवनागरी लिपिलाई उचित अनुकूलन गर्न भाषिक समुदायलाई सिकाउनुपर्छ । भाषा आयोगले अल्पसंख्यक समुदायलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन सरकारलाई सिफारिस गर्नुपर्छ ।


जनशक्ति उत्पादनका लागि विश्वविद्यालय तहमा आमसञ्चार भाषाविज्ञान विषय अध्यापन गराउनुपर्छ। नेपालमा अल्पसंख्यक भाषाको प्रयोग संरक्षणका दृष्टिकोणबाट मात्र गरिएको पाइन्छ । ती भाषाको प्रयोग जीवन उपयोगी परम्परागत ज्ञान र भाषिक समुदायको सांस्कृतिक मूल्य र मान्यताजस्ता कुरा सञ्चारका लागि हुनुपर्छ ।


लेखक भाषाविज्ञान केन्द्रीय विभाग, त्रिविका प्राध्यापक हुन्।

प्रकाशित : भाद्र ३१, २०७५ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्

तपाईंले बोल्ने दोस्रो भाषा कुन् ?

दानराज रेग्मी

काठमाडौँ — विश्वमा भाषा तीव्र गतिमा लोप हुने क्रममा छ । भाषाविद्हरू भन्छन्, ‘हरेक दुई सातामा एउटा भाषा मर्छ ।’ नेपालको जनगणनालाई हेर्‍यो भने उल्टो देखिन्छ । हरेक जनगणनामा यहाँ बोलिने भाषाको संख्या बढिरहेको हुन्छ ।

सन् १९५२–५४ को राष्ट्रिय जनगणनाले पहिलोचोटि मातृभाषा गणना गरेको थियो । त्यसबेला ५२ वटा मातृभाषा बोलिन्थे । सन् २००१ को जनगणनामा ९२ पुग्यो । सन् २०११ को जनगणनाले नेपालमा बोलिने भाषाको संख्या १२३ पुर्‍याएको छ ।

पञ्चायतकालमा सन् १९७१ र १९८१ को जनगणनामा अविश्वसनीय रूपमा संख्या क्रमश: १७ र १८ मा सीमित गरिएको थियो । विश्वमा बोलिने भाषा संख्या घटिरहेका बेला नेपालमा चाहिँ कसरी बढ्दैछ त ? स्वाभाविक रूपमा प्रश्न पैदा हुन्छ ।

नेपालमा छुट्टै भाषिक गणना गरिएको छैन । भाषाको संख्या, नामकरण, वक्ता संख्या र स्थानबारे जानकारी दिने आधिकारिक स्रोत यिनै जनगणना हुन् । सन् २००१ अगाडिका जनगणनामा विशेषत: भाषाको संख्याबारे थुप्रै विसङ्गति भए पनि तथ्यगत रूपमा टिकाटिप्पणी हुनसकेन । नेपालको भाषिक सर्वेक्षण परियोजना (सन् २००९–२०१७) ले लगभग सबै प्रमुख भाषाको समाजभाषा वैज्ञानिक सर्वेक्षण गरेको छ । यसले दिएका तथ्यहरूका आधारमा सन् २०११ को जनगणनाको तथ्याङ्कमा प्रमुख दसवटा विसङ्गति वा कमजोरी देखिएका छन् ।

१. पुर्खाको भाषालाई मातृभाषाका रूपमा गणना । नेपाली भाषा सरकारी कामकाज र पठन–पाठनको माध्यम भाषा भएकाले थुप्रै अन्य मातृभाषी समुदायका बालबालिका र युवक–युवतीले पहिलो भाषाका रूपमा नेपाली प्रयोग गरेको पाइन्छ । जनगणनामा भाषाका सम्बन्धमा दुइटा मात्र प्रश्न सोधिएका थिए । पहिलो, तपाईको मातृभाषा के हो ? दोस्रो, तपाईले दोस्रो भाषाका रूपमा कुन बोल्नुहुन्छ ?

सीमित प्रश्नावली भएका कारण केही जनजाति समुदायका सूचकले आफूले नबोल्ने तर पुर्खाले बोल्ने गरेको भाषालाई मातृभाषाको रूपमा लेखाएको पाइन्छ । जस्तो– मोरङमा बसोबास गर्ने भुजेल जातिका कसैले भुजेल भाषा बोल्दैनन् । तर जनगणनाले मोरङमा हजारौंले यस भाषालाई मातृभाषाका रूपमा प्रयोग गरेको देखाएको छ ।

२. भाषा र भाषिकाबीच भिन्नता नठम्याउनु । हरेक भाषामा स्थान र वक्ताको सामाजिक अवस्था अनुसार भिन्नता देखिन्छन् । नेपालीका पनि स्थान अनुसार उच्चारण र व्याकरणमा भिन्नता पाइन्छन् । जनगणनामा भने वक्ता, गणक तथा विज्ञहरू पनि निश्चित भाषा र त्यसका भाषिकाबारे अन्योलमा परे । त्यसैले नेपालीका खास भाषिकाका रूपमा रहेका सुदूर पश्चिममा बोलिने नेपाली भाषालाई दैलेखी, आछामी र डोटेली, बैतडेली जस्ता नाममा स्वतन्त्र भाषाका रूपमा गणना गरिएको छ ।

भाषिक विशेषता एउटै हुँदाहुँदै पनि आठपहरिया र बेलहारे छुट्टै भाषाको रूपमा आएका छन् । सुनसरी र मोरङमा बोलिने अङ्गिकाका नामले स्वतन्त्र भाषाका रूपमा गणना भएको छ, जबकि सर्वेक्षणका क्रममा धेरै सूचकले आफूले मैथिली भाषा बोलेको जानकारी दिए ।

३. वास्तविक वक्ता संख्या निर्धारण गर्न नसक्नु । भाषाको जीवन्तता तह निर्धारण गर्ने प्रमुख आधार वक्ता संख्या हो । गलत वक्ता संख्याका आधारमा जीवन्तताको तह निर्धारण गरी भाषा विकास वा संरक्षणका कार्यक्रम सञ्चालन वा त्यसका लागि सिफारिसले भाषाको अवस्थामा सकारात्मक सुधार ल्याउँदैन । जनगणनामा मातृभाषाका वक्ता संख्यामै थुप्रै त्रुटि छन् ।

डोल्पा जिल्लामा साविकको सहरतारा गाउँ विकास समितिका सहरतारा, तुपतरा र ताराकोट नामका तीन गाउँमा बोल्ने काइके (मगर काइके) भाषाको वक्ता संख्या लगभग एक हजार छ । तर जनगणनाले ५० जनामात्र वक्ता देखाएको छ । माथिल्लो मनाङका खाङ्सार, मनाङ, ब्राका, पिसाङ जस्ता गाउँमा तीन हजारभन्दा बढीले बोल्ने मनाङे भाषाको वक्ता संख्या गणनामा ३९२ मात्र देखाइएको छ । गलत वक्ता संख्याका आधारमा भाषा संरक्षणका लागि सही रणनीति अपनाउन सकिन्न । सम्बन्धित भाषिक समुदायमा पनि भाषा संरक्षण र भाषा प्रयोगप्रति नैराश्यता आउन सक्छ ।

४. भाषा बोलिने मूल स्थान उल्लेख नहुनु । दुर्गम भेगका मानिस रोजगारी र न्यूनतम आवश्यकता परिपूर्तिका लागि मूल स्थानबाट विशेषत: सहरी क्षेत्रतिर बसाइँ–सराइ गरिरहेको पाइन्छ । केही काइकेभाषी डोल्पाबाट काठमाडौं र भक्तपुरमा आएर स्थायी रूपमै बसोबास गरिरहेका छन् । मनाङे भाषाका वक्ता काठमाडौंमा मनग्ये पाइन्छन् । जनगणनामा काइके र मनाङेका वक्ता काठमाडौं उपत्यकामा मात्र देखाइएको छ । मूल स्थानका रूपमा मनाङे भाषा बोल्ने मनाङ र काइके भाषा बोल्ने डोल्पामा भने एकजना पनि वक्ता नदेखिनु आश्चर्य र उदेकलाग्दो होइन र ? दैलेखी भनी गणना गरिएका भाषिक वक्ता पनि दैलेख नभएर कैलाली र कञ्चनपुरका केही गाउँमा पाइन्छन् ।

५. राईलाई छुट्टै सूचीकृत । किरात राई समूहका बान्तवा, चामलिङ, थुलुङ, कुलुङ, हायु, याम्फु, आठपहरिया, याक्खा, कोयी, साम्पाङ, दुमी, पुमा, दुङ्माली, खालिङ जस्ता २४ वटा भाषालाई सन् २०११ को जनगणनामा मातृभाषाको रूपमा सूचीकृत गरिएको छ । १ लाख ५९ हजार १ सय १५ वक्ता संख्या देखाइएको राई नामक भाषा छुट्टै सूचीकृत हुनपुगेको छ । यसो हुनुमा दुई कारण हुन सक्छन् । पहिलो, गणकले व्यक्तिको जातिगत जानकारी प्राप्त गरेपछि भाषाबारे प्रश्नै नसोधी अनुमानका भरमा मातृभाषाका रूपमा राई लेखिदिनु ।

दोस्रो, भाषिक अभियन्ताको भनाइमा लागेर एक जाति एक भाषाका रूपमा मातृभाषाको स्थानमा राई लेखाउनु वा वक्तामा आफूले बोल्ने बोलीको आधिकारिक नाम थाहा नहुनु वा थाहा नगराइनु । राई एक जातिका रूपमा परिचित भए पनि उनीहरूले बोल्ने भाषा फरक–फरक छन् । राई मात्र भनेर स्वतन्त्र भाषाका रूपमा गणना गर्दा अरू स्वतन्त्र भाषाको प्रयोग र गौरवमा धक्का लाग्न सक्छ ।

६. एउटै भाषा एकभन्दा बढी नाममा सूचीकृत । विभिन्न जातिले भिन्न स्थानमा बोल्ने एउटै भाषा एकभन्दा बढी नाममा सूचीकृत हुनपुगेका छन् । सन् २०११ को जनगणनामा छुट्टाछुट्टै नाममा सूचीकृत भएका कोच र गनगाई फरक भाषा नभएर एउटै हुन् । त्यस्तै अवस्था राजवंशी र ताजपुरिया भाषाको छ ।

७. अन्तर्राष्ट्रिय भाषालाई मातृभाषामा गणना । नेपाली जनमानसमा भारतीय भाषाका रूपमा परिचित भएका हरियान्वी, पञ्जाबी, उडिया, आसामी, साधनी, गढवाली, मिजो, कुकी र नागामी जस्ता भाषालाई जनगणनाले मातृभाषाको मान्यता दिएको छ । भूटानमा बोलिने जोङ्खा, अति कम वक्ता संख्या भएका चिनियाँ, अरबी, स्पेनेली, रसियाली र फ्रेञ्च जस्ता भाषालाई नेपालका मातृभाषा हुने मौका दिइएको छ । अन्तर्राष्ट्रिय भाषाका रूपमा नेपालमा पढाइँदै आइएको अंग्रेजीलाई पनि मातृभाषाकै दर्जा दिइएको छ ।

आफूले बोल्ने भाषालाई मातृभाषाको पहिचान दिलाउन खोज्नु अस्वाभाविक होइन । तर देशको पहिचानलाई ध्यान दिँदै यस्ता भाषालाई विदेशी भाषाका रूपमा लिनु राम्रो हुन्छ । ८. जातिगत रूपमा वक्ता गणना । सन् २०११ को जनगणनामा केही जातिगत समुदायले आफूले बोल्ने भाषालाई जातिगत रूपमा सूचीकृत गरेका छन् । गोरखाको बारपाक क्षेत्रमा बसोबास गर्ने घले र गुरुङले बोल्ने भाषा एउटै हो । घलेले जनगणनामा त्यही भाषालाई घले र गुरुङले गुरुङ भाषाका रूपमा लेखाएको पाइन्छ । आफूलाई गुरुङका रूपमा पहिचान गराउने उत्तरी मुस्ताङमा बसोबास गर्ने जातिले आफूले बोल्ने भाषा सेके भए पनि गुरुङका रूपमै भाषा सूचीकृत गराएका छन् ।

९. वक्ता नभएका भाषा गणना । सर्वेक्षण र जातिगत सङ्गठनको संयुक्त प्रयासमा दुरा समाजका मानिसलाई भेला गराउँदा दुरा भाषा बोल्न सक्ने एकजना पनि पाइएन । जनगणनामा दुराको वक्ता संख्या दुई हजारभन्दा बढी देखाइएको छ । नेपाली मातृभाषी मुक्तिनाथ अधिकारीले भने आफूले मात्र यो भाषा जान्ने दाबी गर्दै आएका छन् ।

१०. नेपाली भाषाका वक्ता संख्यामा अन्योल । सरकारी कामकाज भाषाका रूपमा नेपाली प्रयोग भइरहेको छ । पञ्चायत कालदेखि पठन–पाठन र आमसञ्चारको माध्यमको रूपमा नेपाली भाषा प्रयोग गरिएको छ । धेरै मातृभाषी नेपाली भाषातिर अपसरित हुँदै गएका छन् । बालबालिकाले आफ्नो मातृभाषा बोल्दैनन् वा बोल्नै सिकाइएको छैन । नेपाली भाषाको पहिलो भाषाका रूपमै दिन–प्रतिदिन वक्ता संख्यामा वृद्धि भइरहेको छ । सन् २००१ को जनगणनामा नेपाली भाषाका वक्ता संख्या ४८ प्रतिशत देखाइएको थियो । सन् २०११ को जनगणनामा भने ४४.१ प्रतिशत छ । यसले भाषाको गणना पद्धतिमै पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखाएको छ ।

जनमानसमा आफ्नो भाषाप्रति आएको जागरुकता र सचेततालाई भने गनगणनाले धेरै हदसम्म सम्बोधन गरेको छ । धेरै मातृभाषालाई जनगणनाले समावेश गरेको छ । सन् २०२१ मा नयाँ जनगणना हुँदैछ । यस जनगणनामा यस्ता विसङ्गति दोहोरिन दिनु हुन्न । सकेसम्म छुट्टै भाषिक गणना गर्नुपर्छ । अनि जातिभाषिक गणना गर्नु आवश्यक छ ।

परम्परागत रूपमा सामान्य जनगणनामै भाषा गणना गर्ने हो भने भाषा सम्बन्धी प्रश्नावलीमा कम्तीमा तीनवटा प्रश्न समावेश गर्नुपर्छ । पहिलो प्रश्न– तपाईको पुर्खाको वा पहिचानको भाषा के हो ? दोस्रो प्रश्न– तपाईले बोल्ने पहिलो भाषा कुन हो ? र तेस्रो प्रश्न– तपाईंले बोल्ने दोस्रो भाषा कुन हो ?

लेखक त्रिवि भाषाविज्ञान केन्द्रीय विभागका प्राध्यापक हुन्।
danrajregmi8@gmail.com

प्रकाशित : भाद्र १३, २०७५ ०७:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्